श्रीधर केसीमाथि परेको पुरानो मुद्दा पनि फछ्र्यौट हुन बाँकी छ

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकाका प्रमुख श्रीधर केसीको बाहुबली प्रवृति र नागरिकहरुलाई हुलहुज्जत गरी गाली गलौज गर्ने मिचाहा र पिराहा प्रवृति पुरानै हो । २०७७ सालमा गोलबजार नगरपालिका मै कार्यरत रहँदा केसीले वडा नं. १२ का सचेत नागरिक तथा सूचना अधिकार अभियन्तालाई पनि गाली गलौज गर्दै घोक्रयाई मुन्टयाई गरेको र नगर प्रहरी लगाएर कार्यालय परिसरबाट बाहिर निकाल्न लगाएको तथ्य फेला परेको छ ।

घटना विवरण अनुसार २०७७ साल माघ महिनामा उमाकान्त मण्डलले सूचना ऐन अनुसार गोलबजार नगरपालिकामा सूचना पाउँ भन्दै निवेदन दिएका थिए । कानूनले तोके बमोजिमको हदम्यादसम्म सूचना नदिएपछि मण्डलले राष्ट्रिय सूचना आयोगमा कानून बमोजिम पुनरावेदन गरे । सूचना आयोगले गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई स्पष्टिकरण सोध्यो । केसी आफूमाथि उजुरी दिएकामा क्रुध थिए । काम विशेषले नगरपालिकामा आएका मण्डलमाथि उनी जाई लागे । केसीले स्वयं आफै मण्डललाई गाली गलौज मात्र गरेनन् अपितु घोक्रयाई मुन्ट्याई गरी हुलहुज्जत समेत गरे । मण्डललाई नगर प्रहरी बोलाएर घचेटेर धक्का हान्दै कार्यालय परिसर बाहिर निकालियो ।

आफू माथि दुव्र्यवहार भएको पीडा लिएर मण्डल जिल्ला प्रशासन कार्यालय सिरहा पुगे । उनले आफूमाथि भएको अन्याय खुलाएर निवेदन दिए । जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र लेख्यो । जिल्ला प्रहरी कार्यालयले पनि इलाका प्रहरी कार्यालय गोलबजारलाई पत्र लेखेर निज श्रीधर केसीलाई झिकाउने आदेश दियो । जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाको तोक आदेश सहितको पत्र र निवेदन मिसिल इलाका प्रहरी कार्यालय गोलबजारमा पठाइयो । तर चोहर्वा दरवारको दबाबमा परेर प्रहरीले कुनै चासो लिएन ।

मण्डल भन्छन् न्याय पाउने आशामा म धेरै पटक इलाका प्रहरी कार्यालय गोलबजारमा धाएँ तर कुनै सुनुवाई भएन । तत्कालीन मेयर साहव र जनप्रतिनिधिहरुलाई पनि भने तर कसैले मेरो गुहार सुनेनन् । पछि समाजमा कमजोर वर्गको हालत यस्तै हुन्छ भनेर चित्त बुझाएँ । श्रीधर केसीमाथि कुनै छानविन र कारवाही भएन । किनकि चोहर्वा दरवारको बलमा केसी यहाँ मैमत्त भएका छन् । मण्डल भन्छन् सिरहाको प्रहरी प्रशासन चोहर्वा दरवारको दास हो भन्ने बुझेर चित्त बुझाएँ ।

 


प्रकाशित : २०८० चैत्र २९ बिहीबार