गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले सहकारी र वित्तीय संस्थाहरुबाट ऋण लिएर अहिले तिर्दैनौ भन्नेहरु राष्ट्रद्रोही हुन् भन्दै उनीहरुमाथि कारवाही हुनुपर्ने माग गर्नुभएको छ । कुम्भिखाडी कृषि सहकारी संस्था लिमिटेड गोलबजार –२ को ११ हौं साधारण सभालाई संवोधन गर्दै मेयर श्रेष्ठले उक्त बिचार व्यक्त गर्नुभएको हो ।
मेयर श्रेष्ठ र उनका परिवारहरुको ठूलो शेयर लगानीमा सञ्चालित सिर्जना लघुवित्त संस्थाले शोषण गरेको भन्दै ऋणीहरुले ऋण तिर्न आनाकानी गर्दै आएका छन् । उनीहरुले सिर्जना लघुवित्तका सञ्चालकहरुमाथि अनुसनधान र कारवाहीको पनि माग गरेका छन् । लघुवित्त पीडितहरुको आन्दोलनमा सिर्जना लघुवित्त संस्थाले शोषण गरेको कुरा उठाइएको थियो ।
मेयर श्रेष्ठले भन्नुभयो ऋण तिर्दैनौ भन्नेहरुका कारण सहकारी लगायत अन्य वित्तीय संस्थाहरु धराशायी हुन लागेका छन् । तर यो कुम्भिखाडी कृषि सहकारीले भने राम्रो प्रगति गरेको छ । यसका ऋणी किसानहरुले समयमा ऋण तिरेका छन् । यो सहकारीले यहाँका किसानहरुलाई प्रभावकारी सेवा प्रदान गरेको छ ।
मेयर श्रेष्ठले सुनकोशी मरिन ड्राइभर्सनको पानी धनुषा जिल्लासम्म मात्र आइपुग्ने तर सिरहा र सप्तरीले सिंचाई सुविधा नपाउने देखियो । त्यसकारण कृषि मन्त्री ज्वाला कुमारी साहले सिरहाको मर्का बुझिदिनु पर्छ भन्दै मेयर श्रेष्ठले सिरहामा सिंचाई व्यवस्थाको लागि आग्रह गर्नुभयो ।