हामीले त्यति राम्रो लोकतन्त्र स्थापित गर्न सकेका छैनौ जहाँ राज्यका अवयवहरुले प्रेस स्वतन्त्रताको लागि योगदान गर्छन् वा सहिष्णुता देखाउँछन् । झन् नोकरशाहहरु त राज्यको चौथो अङ्ग प्रेस नै नभए पनि हुन्थ्यो झैं गर्छन् । भएको प्रेस जगत पनि नियन्त्रित अर्थमा मात्र रहुन् भन्ने नोकरशाहहरुको अभिप्राय हुन्छ । त्यसका लागि उनीहरुले सञ्चारकर्मीहरुलाई दपेट्ने, तर्साउने र भयआतुर गराउने प्रयत्न गर्नु गैर कानूनी त हो तर अस्वभाविक भने होइन । नोकरशाहहरुको चरित्र नै लोक सेवक होइन लोक शासक रहेको हुन्छ । नोकरशाहहरु ऋाफूभन्दा माथिल्ला तहको चाकरी र गुलामी गर्छन् र आफूभन्दा कनिष्ट र कमजोरलाई सताउँछन् । सामन्तवादले छोडेर गएको यो साँस्कृतिक विरासत ठयाक्कै नोकरशाहहरुमा सरेको छ । त्यसैको नतिजा हो गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको ज्यान मार्ने धम्की र गालीगलौजपूर्ण प्रलाप । त्यसैको नतिजा हो सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले श्रीधर केसीलाई गरेको समर्थन र बचाउ । यी नोकरशाहहरु चारित्रिक रुपमा मामा चेला फुपु चेला हुन् । हामीलाई धेरै जनाले सल्लाह दिए प्रमुख जिल्ला अधिकारी समक्ष शान्ति सुरक्षाका गरी पाउँ भनेर निवेदन दिनुहोस् । हामीले त्यसलाई विनम्रतापूर्वक र सुझबुझपूर्वक अस्विकार गरिदिएका छौं । हामीलाई प्रमुख जिल्ला अधिकारीले सुरक्षा दिदैंनन् , दिन सक्दैनन् र चाहिएको पनि छैन । हामीलाई जनताले सुरक्षा दिनेछन् । मारिनु पर्ने स्थिति आए हामी मर्न पनि तयार छौं । कुनै भय छैन । हामीलाई के ज्ञात छ भने प्रेस जगत मृत्युको भयले कर्तव्यच्युत भयौं भने समाजमा अनाचार बढ्ने छ । श्रीधर केसी र चोहर्वा दरवारको प्रवृतिले दिउँसै रात पार्नेछ । त्यसकारण हरेक क्षण मृत्युलाई अंकमाल गर्न तम्तयार रहेर पत्रकारितामा समर्पित छौं । नोकरशाहहरु सूचना लुकाउन माहिर छन् । हामी लुकाएको सूचना छताछुल्ल बनाइदिन खप्पिस छौं । आखिर सत्ताले जे लुकाउन खोज्छ त्यसैलाई जनता समक्ष पस्किनु पत्रकारिता हो ।
लोकतान्त्रिक पद्धति र त्यसको जीवन्त अभ्यास प्रति असहिष्णु जमातको बीचमा निर्भीक पत्रकारिता निश्चय पनि मृत्युमय जोखिमले भरिएको हुन्छ ।
तर मृत्युको भयले द्रवित भएर मेरो कलम बिक्ने छैन , थामिने छैन । मेरो बोली लर्वरिने छैन । लेखाईको शैली बदलिने छैन । फूलको आसन छोडेर काँडाको विस्तरामा सुत्ने जोखिम रोजेर पत्रकारितामा आएको म । भ्रष्टाचार, कुशासन , मानव अधिकार उलंघन , नातावाद , कृपावाद र कमिसनतन्त्र विरुद्ध मेरो प्रहार जारी रहने छ । प्रेस स्वतन्त्रताको रक्षाका लागि म मृत्युसँग पौंठेजोरी खेल्न तयार छु । एक वलिदानीपूर्ण र होसपूर्वक मरिने मृत्युले मेरो जीवनलाई सार्थक बनाउने छ ।