प्रमुख प्रशासकीय अधिकृत , इन्जिनियर र वडाध्यक्षको अघोषित साझेदारी ठेक्कामा परियोजना सञ्चालन ः नामको लागि उपभोक्ता समिति गठन

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकामा भ्रष्टाचार कति र कुन मात्रामा संस्थागत छ भन्ने कुरा वडा नं. ५ मा सञ्चालित एउटा सडक स्तरोन्नति परियोजनाबाट छर्लङ्ग हुन्छ । प्रमुख प्रशासकीय अधिकृत , इन्जिनियर र वडाध्यक्षले नै गोप्य रुपमा नामका लागि उपभोक्ता समिति गठन गरेर अघोषित साझेदारी ( मूनाफा बाँड्ने गरी ) कार्य सञ्चालन गरेपछि सुशासनको चीरहरण भएको योभन्दा दुर्लभ घटना विरलै कतै देखिएला ।

सुत्रहरुले गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी , इन्जिनियर जय किशोर साह र वडा नं. ५ वडाध्यक्ष बालकृष्ण गौतमले साझेदारीमा र अघोषित रुपमा परियोजना सञ्चालन गरेको जानकारी दिएपछि हामी सडक स्तरोन्नति परियोजनाको स्थलगत अवलोकन गर्न गयौं । सुरु मै हामीले जागो मुखियालाई भेट्टायौ । उनले भनिन् मात्रै बालुवा र माटो छ । ग्राभेल छैन गिट्टी छैन । धूलोले आँगन घर सबै भरिन्छ । विजोग भयो हाम्रो । उनैले हामीलाई जानकारी दिइन् – गुलावचन साहलाई अध्यक्ष बनाएको सुन्छु ।

त्यसपछि हामी सिधै गुलावचन साहलाई भेट्न गयौं । उनको कुरा सुनेर हामी आश्चर्यमा प¥यौं , विस्मात पनि लाग्यो । गुलाव साह भन्छन् , “सोझै वडाध्यक्ष बालकृष्ण गौतमले भन्नुभयो तपाई अध्यक्ष बसिदिनुस् , तपाईले केही गर्नु पर्दैन । सबै नगरपालिकाले नै गर्छ । मलाई अध्यक्ष भन्नु त भनेका छन् तर मैले सही छाप कतै गरेको छैन । कुनै बैठक र भेला पनि गरिएको छैन । मैले कुनै कागजमा हस्ताक्षर पनि गराएका छैनन् । यो काम कसले गरिरहेको छ त्यो पनि मलाई थाहा छैन । कसले कहाँबाट के दर रेटमा कति ग्राभेल हाले मलाई केही थाहा छैन ।

त्यसपछि हामीले स्थानीय दुई जना महिलालाई भेट्यौं । त्यसमध्ये एक जना रीतादेवी साहले भनिन् छुछे ( निस्तो ) बालुवा मात्र छ । यो ग्राभेल राम्रो छैन । घर आँगनमा बसिसक्नु छैन । हावा हुरीको मौसम छ । धूलोले लत्ता कपडा सबै बर्बाद बनाएको छ । उनीहरु आक्रोस र दुखेसो मिसिएको स्वरमा बोलिरहेका थिए ।

त्यसपछि हामी सकुन्तला यादवको घर अगाडि गयौं । उनलाई सोध्यौं के यो गुणस्तरयुक्त ग्राभेल हालिएको छ ? उनले भनिन् छैन , यो बालुवा र माटो मात्र छ । मैले यो नहाल भनेर रोकेको थिएँ , तर ग्राभेख खानी बन्द छ, यो पनि पाइँदैन । जेनतेन ल्याएको भनेपछि हामीले हाल्न दियौं । उनी गाउँको अगुवा महिला हुन् तर उनलाई उपभोक्ता समिति गठन भएको नै थाहा छैन ।

त्यसपछि हामीले परियोजना स्थलको ओल्लो र पल्लो छेउको भ्रमण ग¥यौं । कही कतै पनि होर्डिङ्ग बोर्ड लगाएको देखिएन । स्थलगत अनुगमन पश्चात हामी वडाध्यक्ष बालकृष्ण गौतम समक्ष पुग्यौं । हामीले सोध्यौं किन होर्डिङ्ग बोर्ड नलगाउनु भएको हो ? उनले जवाफमा भने त्यो बोर्ड अन्तिममा झुण्ड्याउनै पर्छ नत्र त भुक्तानी नै हुँदैन । तर बोर्ड त पारदर्शीताका लागि सुरु मै झुण्ड्याउनु पर्ने बाध्यात्मक कानूनी व्यवस्था छ नी भन्दा उनले अब झुण्ड्याउँला भन्नुभयो ।

वडाध्यक्ष गौतमलाई हामीले प्रश्न थप्यौं तपाईले गठन गर्नुभएको उपभोक्ता समितिको अध्यक्ष गुलावचन साहलाई नै थाहा छैन यो परियोजना कसले कसरी सञ्चालन गरिरहेको छ ? उनले भने उपभोक्ता समितिले पुँजी लगाउन सक्दैन अनि हामीले वैकल्पिक व्यवस्था गरेर काम गरे गराएका छौं । कसैलाई हामीले गरिदिन भनेर जिम्मा लगाएका छौं । समितिले पुँजी लगाउन सक्दैन भने ठेक्का लगाउन सकिन्थ्यो नी , ५० प्रतिशत कममा ठेकेदारले काम गरिदिन्थ्यो भन्ने प्रश्नमा उनले भने ठेक्का त मरिगए पनि लगाउदिन । पछि थाहा हुन्छ , पारदर्शी गरिदिन्छौ ।

फेरि प्रश्न थप्यौं – किन गोप्य रुपमा उपभोक्ता समिति गठन गरिएको हो ? पारदर्शीता किन भएन ? गौतमले जवाफ दिए समिति बन्न मार गर्छन् । पुँजी लगाउन सक्दैनन् । पछि हामी पारदर्शी गरिदिन्छौ । नाप जाँच हुन्छ । काम सकिएपछि आउनुस् हेर्न , त्यसपछि हामी भनिदिउँला सबै कुरा ।

हामीले अन्तिममा यक्ष प्रश्न ग¥यौं – यो परियोजना श्रीधर केसी र बालकृष्ण गौतमको अघोषित साझेदारीमा सञ्चालित छ भन्ने सुनिन्छ नी ! यो प्रश्नले उनलाई गम्भीर बनाएन , उनले जोददार खण्डण पनि गरेनन् । उनले एक पटक त “होइन” भने तर उनले थपे , मलाई माया गर्नुभएको हो तपाईहरुले बुझ्नु पर्छ । मैले अनुरोध गरेर यो परियोजना ल्याएको हुँ ।

त्यसपछि हामीले इन्जिनियर राजकिशोर साहसँग प्रश्न ग¥यौं – यो परियोजनामा होर्डिङ्ग बोर्ड किन नलगाइएको हो ? उनले जवाफ दिए हामीले समितिलाई बोर्ड लगाउन भनेका थियौं । प्रश्न पुन थप्यौ , तपाई वा अन्य प्राविधिकहरुको निरीक्षणमा काम भइरहेको छ भने अहिलेसम्म बोर्ड नलगाइ किन काम भइरहेको छ ? अन्य अन्य परियोजनामा पनि कतै होर्डिङ्ग बोर्ड छैन त ? हामीले बोर्ड लगाउन भनेका हुन्छौं ।

इन्जिनियर साहलाई तेश्रो प्रश्न ः के तपाई , प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षको अघोषित साझेदारी ठेक्कामा यो परियोजना सञ्चालन भएको हो ? उहाँले भन्नुभयो यो प्रश्न सुनेर हाँसो मात्र उठ्छ । हामीले भन्यौ होर्डिङ्ग बोर्ड छैन , उपभोक्ता समितिको अध्यक्ष भन्दैछन् मैले कहि कतै सही छाप गरेको छैन , समितिलाई थाहा छैन काम कसले कसरी गरिरहेको छ ? यसबाट के बुझिन्छ ? कि त गुलावचन साह झुट कि तपाईहरु झुट । कसरी भन्नुहुन्छ सम्झौता र कार्यादेश दिएर काम भएको हो ? उनले ढिप्पी गर्दै भने सम्झौता र कार्यादेश गरेर नै काम गरेको हो ।

हामीले एउटा प्रश्न सोध्यौं के ग्राभेल गुणस्तरीय हो होइन जाँच गर्नुभयो ? उनले भने होइन जाँच गरेको छैन । अब सडकमा ओछ्याइसकेको ग्राभेल गुणस्तरहीन ठहरिए कै गर्नुहुन्छ त ? भन्ने प्रश्नमा उनी मौन रहें ।

 

हामीले ग्राभेल बिक्रेता विजय साहलाई सोध्यौं के दर रेटमा कति ग्राभेल बिक्री गर्नुभएको हो ? उनले भने ९ सयको घनमिटरका दरले दुई सय ट्रिपर ग्राभेल दिएका छौं ।

यस विषयमा जान्न हामीले प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई फोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । अन्तिममा हामीले नगर प्रमुखलाई सोध्यौं किन तपाईको नगरमा फर्जी उपभोक्ता समिति गठन गरी गुणस्तरहीन काम भइरहेको छ ? उनले भने वडाध्यक्षले उपभोक्ता समिति गठन गरेर पठाउने हो । वडा कार्यालयले पठाएको छ । तर पनि म बुझ्छु के भएको रहेछ । दुई घण्टापछि फोन गर्छु अनि भनौला ।

स्मरण रहोस् ३० लाख बजेट को यो काम नगरस्तरीय योजना हो । ग्राभेलको काममा ५० प्रतिशत स्वतः मूनाफा ( बचत ) हुने भएकोले नगरस्तरीय योजनाहरु फर्जी उपभोक्ता समिति बनाएर नगर आफैले धमाधम कार्य सञ्चालन र सम्पन्न गरिरहेको छ । पठक स्वयंले छुट्याउनुहोस् उपभोक्ता समितिका अध्यक्ष गुलाचन साह झुट कि इनिजनियर जय किशोर साह झुट । गुलवचन साहको भिडियो संलग्न रखिदिएका छौं ।


प्रकाशित : २०८० चैत्र २१ बुधबार