जिल्ला अध्यक्षका आकांक्षीहरुको दौडधुप सुरु , फुलेस्वर र दीपेन्द्रले आफूलाई मैदानमा उतारे । चाहेर्वा दरवार रवर स्टाम्प अध्यक्षको खोजीमा ।
गत १३ चैत चोहर्वामा भएको नेकपा एमाले सिरहा जिल्ला कमिटीको बैठकले आगामी जिल्ला अधिवेशन जेठको पहिलो सातामा गर्ने निर्णय गरेको छ । अधिवेशनमा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका राष्ट्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउने तयारी पनि सुरु गरिएको पार्टी जिल्ला कमिटीका एक सदस्यले जानकारी दिएका छन् । ती सदस्यले भने , “केपी बा को समय जुन दिन मिल्छ त्यही दिन जिल्ला अधिवेशनको उद्घाटन गर्ने तारतम्य मिलाइदैछ , । त्यसकारण जेठको पहिलो साता भनिएको हो । ” सिरहा सदरमुकाममा गरिने भनिएको जिल्ला अधिवेशनमा ५० हजार जनमास उतार्ने लक्ष्य लिइएको छ ।
जिल्ला अधिवेशनको समय तय भएपछि एमाले भित्र आन्तरिक राजनीतिक सरगर्मी बढेको छ । जिल्ला अध्यक्ष पदका आकांक्षीहरुले आफ्नो स्थिति सुदृढ पार्न लविङ्ग सुरु गरेका छन् । आकांक्षीहरुको दौडधुप तीव्र बनेको छ । जिल्ला अध्यक्षका आकांक्षीहरुमा फुलेस्वर नायक र दीपेन्द्र यादव रहेका छन् ।
यता चोहर्वा दरवारले कुनै तेश्रो व्यक्तिको खोजी गरिरहेको सुत्रहरुले जानकारी दिएका छन् । चोहर्वा दरवारले आफूले भनेको मान्ने , नुन र गुणको सोझो गर्ने , रवर स्टाम्प व्यक्तित्वको खोजी गरिरहेको सुत्रहरुले बताए । त्यसका लागि दरवारले गत वर्ष मात्र जसपा परित्याग गरेर एमाले प्रवेश गरेका लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष वयोवृद्ध व्यक्तित्व रामबल्लभ साहलाई जिल्ला अध्यक्षमा उभ्याउने र सर्वसम्मत गराउने चाँजोपाँजो मिलाउन थालेका छन् । राम बल्लभ साह नभए एमाले छोडेर जसपामा गएका र पुन एमालेमा फर्केका रामविलास साह चोहर्वा दरवारको वैकल्पिक उम्मेदवार हुन सक्ने सुत्रहरुको दावी छ ।
यता जिल्ला अध्यक्षका आकांक्षी रहेका फुलेस्वर नायकले आफ्नो अभियानलाई गति दिएका छन् । उनले पार्टीबाट वडा तहदेखि जितेका जनप्रतिनिधिहरु , जिल्ला किमिटीका पदाधिकारी , पार्टीका बरिष्ट नेताहरुसँग सरसल्लाह गर्दै आफूलाई अध्यक्ष बनाउन पहलकदमी थालेका छन् । सुत्रहरुले बताए अनुसार फुलेस्वर नायकले जिल्ला अध्यक्षको दावी गरेपछि चोहर्वा दरवार रुष्ट भएको छ । मेयर श्याम श्रेष्ठले म भन्दा कनिष्ट मान्छे जिल्ला अध्यक्ष हुन कसरी मिल्छ ? म उनको तलको पोर्टफोलियो बस्दिन भनेर असहमति जनाएको एक कार्यकर्ताले बताए । त्यसैगरी पार्टीका कार्यकर्ता रहेका एक बरिष्ट कर्मचारीले फुलेस्वर नायकको नाम अघि सार्दा चोहर्वा दरवारका सुप्रिमोले नाम प्रस्ताव गर्न हतार नगर्नुस् । उनको ठूलो व्यापार छ । समय दिन भ्याउँदैनन् भनेर इन्कार गरेका थिए । त्यसैगरी नेकपा एमालेका प्रदेश अध्यक्ष चन्देस्वर मण्डलले चोहर्वामा आयोजित बैठकमा बोल्दै भनेका थिए “ यहाँ गुट उपगुट बनाउन र चलाउन खोजिदै छ , हामीलाई सबै थाहा भइरहेको छ , कसैको गुट काम लाग्दैन , यहाँ हामी जे चाहान्छौ त्यही हुन्छ ” । चोहर्वा दरवारले असहयोग गरेपनि तथा नतिजा जे आए पनि आफू जिल्ला अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका नायकले अभियान तीव्र बनाएका छन् ।
अर्का आकांक्षी दीपेन्द्र यादवले पनि भेटघाट र लविङ्ग प्रकृया दुत गतिमा चलाएका छन् । उनले जिल्ला स्तरीय नेताहरुसँग एक चरण भेटघाट गरेका छन् । चोहर्वा दरवारको सहयोग नपाउने भेउ पाउँदा पनि उनी मैदानमा उभिने र नतिजा स्वीकार गर्ने अडानमा छन् ।
पार्टी भित्रको एउटा गुट रघुवीर महासेठसम्म पुगेको सुत्रहरुको दावी छ । अर्को गुट चोहर्वा दरवारको समर्थन पाउन प्रयासरत छ । तर चोहर्वा दरवार बेग्लै कसरथमा लागेको छ । यदाकदा जिल्ला अध्यक्षमा गोलबजार नगरपालिकाका नगर अध्यक्ष राजकिशोर सिंहलाई पनि चोहर्वा दरवारले अघि सार्न सक्ने झिनो सम्भावना रहेको चर्चा पनि चलेको छ । तर स्वयं राजकिशोर सिंह भन्छन् म आकांक्षी होइन । पार्टीले काँधमा जे जिम्मेवारी राखिदिन्छ त्यसलाई म वहन गर्छु ।