मेयर गोल्ड कप फुटवलको औचित्य के ? फगत मनोरञ्जन कि रैथाने खेल र खेलाडीको विकास ?

[sharethis-inline-buttons]

अहिले सञ्चालनमा रहेको गोलबजार नगरपालिका मेयर गोल्ड कप प्रतियोगिता सातौं संस्करण हो । प्रत्येक वर्ष १०–१२ दिन गुरुधामको खेलग्राममा फुटवल खेल उत्सव हुन्छ । ७–८ वटा टिम एक आपसमा भिडछन् । उद्घाटन खेलमा नगरपालिकामा जितुवा पार्टीका नेताहरु उद्घाटन गर्छन् । भाषण गर्छन् । फाइनल खेल पछि शिल्ड र पुरस्कार रासी प्रदान गरिन्छ । खेलप्रेमी दर्शकहरुको भिड लाग्छ । नगरपालिकाको २५–३० लाख बजेट स्वाहा हुन्छ । ७ वर्ष भयो यो दोहोरिरहन्छ ।

यसको उद्देश्य र उपलब्धी के त ? यो प्रश्न टडकारो छ । के मेयरको तस्बिर होर्डिङ्ग बोर्डमा डिसप्ले गर्न यो खेल आयोजना गरिएको हो ? कि नगरपालिकाको ३० लाख जसरी पनि खर्च गर्न र त्यसबाट कमिशन हसुर्न यो प्रतियोगिता आयोजना गरिएको हो ? कि स्थानीय बासिन्दालाई मनोरञ्जन प्रदान गर्न फुटवल प्रतियोगिता आयोजना गरिएको हो ? के हो खसोखास उद्देश्य र लक्ष्य ?

वर्षेनी मेयर गोल्ड कप फुटवल प्रतियोगिता गराउनुको उद्देश्य हुनु पर्ने हो “रैथाने खेलाडीहरुको उत्पादन, क्षमता विकास र फुटवल खेलप्रति अभिरुची तथा अकार्षण पैदा गर्ने ।” रैथानै फुटवलको संस्थागत विकास गर्ने । गोलबजारले उत्पादन तथा प्रशिक्षित गरेको खेलाडी विश्वविख्यात होउन् । तर विगत ७ वर्षमा यो काम भएको छ त ? के उपरोक्त उद्देश्यहरु परिपूर्ति तथा लक्ष्य हाँसिल गर्ने दिशामा मेयर गोल्ड कपको सार्थक उपयोग भएको छ त ?

एक पटक माओत्सेतुङ्गकी हजारआमा कतै बाहिर भ्रमणमा गइछन् । १२ वर्षे बालक माओलाई उनले अह्राएर गइन् –बाबु बगैंचाको स्याहार गर्नु है । फूलहरु सुक्न नपाओस् । माओले हजुरआमा नआउञ्जेल रुमाल भिजाएर फूलका बोट तथा पात पात पुछ्ने गरेछन् । खुव मेहेनत गरेर बगैंचा स्याहारे । हजुरआमा फर्की आउँदा फूलका बोटहरु सुकेका थिए । बालक माओले भने मैले धेरै स्यहार गरे तर पनि बोटहरु सुक्यो । हजुरआमाले बगैंचामा पसेर हेरिन् । माओले फूलको जरामा पानी हालेनछन् । रुमाल भिजाएर पात पात पुछेछन् । फूलको बोट नसुक्न खातिर जरामा पानी हाल्नु पर्छ । रेशमी रुमाल भिजाएर पात पुछेर हुँदैन ।

गुरुधाम र वनारस फुटवल टिमको बीच आजको म्याच हेर्दा फूलको जरामा पानी नहाली रुमाल भिजाएर पात पुछेको जस्तो देखियो । वर्षभरी हाम्रा खेलाडी कहाँ छन् , के गर्दैछन् , उनीहरुले पोषणयुक्त खानेकुरा पाए कि पाएनन् , उनीहरुले प्रशिक्षण पाए कि पाएनन् , उचित व्यायाम गरे कि गरेनन् ? यसबारे नगरपालिकालाई कुनै वास्ता छैन । जव मेयर गोल्ड कप गराउने बेला आउँछ अनि टीमको खोजी हुन्छ । प्रतियोगिता जित्न विदेशी र स्वदेशकै ए डिभिजन खेल्ने खेलाडी भाडामा ल्याइन्छ । आज वनारस र गुरुधाम टिम बीच भएको खेलमा गुरुधामले ८ गोल गरेर खेल जित्यो । तर यो जितले छाति चौडा गर्ने र गर्वले मखलेल हुने अवस्था सिर्जना गरेन । किनकि ११ मध्ये २ जना विदेशी र ७ जना ए डिभिजन टिमका खेलाडी भाडामा ल्याएर खेलाइएको थियो । यसरी खेल जित्नुको के अर्थ र के मज्जा ? जम्मा २ जना गुरुधामका खेलाडी फिल्डमा थिए । गुरुधामको आजको खेलले भन्छ – यो फूलको जरामा पानी हालेको होइन । रुमालले पात पुछेको हो । यसरी बगंैचा सप्रिदैन । प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले मेन अफ द म्याचको उपाधी प्रदान गरी रहँदा दर्शकदीर्घालाई नमज्जा लाग्यो । किनकि पुरस्कार थाप्ने विदेशी थिए । त्यस स्थानमा गुरुधामको कुनै ठिटो हुँदा हुन् त गर्वले छाति फुलिन्थ्यो । मखलेल भइन्थ्यो । यसरी फूलको बोट मौलाउँदैन अपितु सुक्छ । यसरी रैथाने खेलाडी जन्मिदैन । उनीहरुको फुटवलमा सिप विकास हुँदैन ।

मेयर साहेब , प्रमुख प्रशासकीय अधिकृत ज्यु , फूलको जरामा पानी हालौं । नगरमा खेल एकेडेमी बनाऔं । खेलमा अझै बजेट थपौं । प्रशिक्षकहरु मगाऔं । फुटवल मात्र होइन क्रिकेट , कराते र अन्याअन्य खेलहरुमा प्रशिक्षण दिऔं । खेलाडीहरुलाई जीविकोपार्जनको व्यवस्था गरौं । वर्षैभरी खेलाडीलाई तिखारौं । अनि प्रतियोगिता गराऔं । हाम्रा नगरबासीका छोराछोरी अब्बल खेलाडीका रुपमा विकसित होउन् । अनि पो खेल र खेलाडीको विकास भन्न सुहाउँछ । उद्देश्य पूरा हुन्छ , लक्ष्य प्राप्त हुन्छ । बजेट खर्च भएको पनि सार्थकता हुन्छ । बाहिरबाट खेलाडी भाडामा ल्याएर प्रतियोगिता त जितिएला तर यसले फगत मनोरञ्जन दिनुभन्दा अन्य उपलब्धी हुँदैन । बजेट खर्च गर्ने अवसर मात्र जुराउँछ । मेयर साहेबको तस्बिर अंकित व्यानरहरु झुण्डाएर स्टल राख्न र सस्तो लोकप्रियतामा रम्न मिल्छ ? यो आत्मरतिमा कति रमाउने मेयर साहेब ?

जहाँसम्म मलाई सम्झना छ देवनाथ साह मेयर हुँदा आफ्ना विपक्षी संजीत लामा ( हालका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता ) ले नेतृत्व गरेको संस्थालाई फुटवल प्रतियोगिता आयोजना तथा सम्पूर्ण व्यवस्थापन गर्ने अवसर प्रदान गरेका थिए । तर अहिलेको नगरपालिका र त्यहाँका नेतृत्व कति संकुचित र अनुदार देखिए कि स्वयं नगरपालिकाले आफै प्रतियोगिता आयोजना ग¥यो । सर्वाधिकार आफैसँग सुरक्षित ग¥यो । के यो विकेन्द्रीकरण हो त ? सिंहदरवारको अधिकार विकेन्द्रीत भई नगरपालिकामा आउँदा नगरपालिकाले श्रोत र अधिकार विकेन्द्रीत गर्नुपर्छ कि पर्दैन ? यो प्रतियोगिता गोलबजार कै कुनै गैर सरकारी संस्था वा खेलाडीहरुको समूह वा कुनै फुटवल टिमलाई नै आयोजना गर्न दिंदा के फरक पथ्र्यो ? नगरपालिका आफैले व्यवस्थापन गर्दा बजेटको डाडु पुन्यु आफै चलाउन त पाइएला तर यसले खेलसंग सम्बद्ध स्थानीय संस्थाहरुको क्षमता विकास गराउँदैन ।

कपडामा आगो लुकाउन सकिदैन । एउटा वनारसको मामुली सिकारु टिम थपेर प्रतियोगिताको अन्तर्राष्ट्रियकरण गरिएको छ । अन्तर्राष्ट्रियकरण गर्ने नियत नै हो भने अझै एक दुई देशका टिम थप्न सक्नु पथ्र्यो । ८ गोल खाने टिम ल्याएर खेलको बजेट बढाउने कुत्सित चाल पनि पर्दाफास भएको छ । खेल मैदानमा उद्घाटन सत्रदेखि हरेक दिनको खेल र अन्त्यमा समापन समारोहमा देखिने स्वजातीय वन्धु वान्धवहरुको उपस्थिति , भूमिका र हालिमुहाली देखेर नातावाद , कृपावाद र जातिवाद खेलमा पनि उदाङ्गो देखिन्छ नै । खर्च अपारदर्शीताले अर्थोकको पनि गन्ध आउँछ । स्वास्थ्यका लागि गराइने खेलमा अस्वस्थ व्यवहार किन ?


प्रकाशित : २०८० चैत्र १८ आईतवार