मेरा अनन्य सहयोगी मित्र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीका समीपमा यो लेखोट

[sharethis-inline-buttons]

अर्जुन थपलिया

१६ गते चैत ९ बजेतिर एमालेका कार्यकर्ता र मेरा घनिष्ट मित्रले मलाई आएर एउटा खबर सुनाए । आज एकाबिहानै प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको डेरामा चोहर्वा दरवारसँग सम्बन्धित र केही थप युवाहरुको जमघट थियो । साँझपख बाँसको झ्याङ्गमा चराहरु चिरबिर चिरबिर गरे जस्तै आवाज आइरहेको थियो । मैले भने, होला नी कुनै छलफलको विषय । फुटवल प्रतियोगिता भैरहेको छ । उहाँ केसी जी ध्यान साधनाका लागि लुम्बिनी जाने कुरा थियो । आवश्यक निर्देशन सरसल्लाह वा पेश्की रकम कलमको चाँजोपाँजो मिलाउनु पर्ने होला ।

मेरा खबरीलाल मित्रलाई ज्ञात रहेछ ध्यान साधनाको समय पर सारिएको । उनले भने लुम्बिनी यात्राको समय सारिएको छ । फुटवल खर्चको पेश्की चेक पनि एक दिन अघि नै काटियो । मैले प्रश्न थपे , त्यसो भए किन एकाबिहानै केसी जीको डेरामा दरवारियाहरुको भिड भयो त ? मित्रले भन्नुभयो – केसी सर त गोलबजार नगरपालिका छोडेर जान्छु , अब यहाँ आउँदिन , साह्रै तनाव भयो , यो तनाव खपेर काम गर्न सकिदैन भन्दै हुनुहुन्थ्यो । उहाँ जान लाग्नु भएको थाहा पाएर नै दरवारका युवाहरु उनलाई रोक्न र मनाउन आएका थिए । तपाईँले समाचार लेखेर उहाँलाई तनाव दिनुभयो रे !

यति वार्तालाप भयो । तर यो खवर ठीक हो वा बेठीक मलाई थाहा छैन । मेरा मित्रले मसँग गरेको चर्चा यस्तै थियो । मैले मेरा मित्रलाई दुई कुरा भने । पहिलो कुरा त श्रीधर केसी सितिमिति तनावले गल्ने चिचिलो हुनुहुन्न । उहाँ साहासिक र कुशल हुनुहुन्छ । पलायन हुने मानसिकताका सरकारी अधिकारी हुनुहुन्न । दोश्रो कुरा कसैलाई आनन्द दिन वा तनाव दिनका लागि पत्रकारिता गर्ने मेरो लक्ष्य र उद्देश्य नै होइन । मलाई न फूलको चाहना छ न काँडासँग घृणा छ । पत्रकारिता गर्दै जाँदा जे परिस्थिति सिर्जना हुन्छ त्यसैको शब्दचित्र कोर्छु । त्यसबाट उत्पन्न हुने दबाब , सुझाव र प्रभावले कसैलाई पोल्छ र कसैको लागि स्नेहलेप बन्छ वा कसैलाई राप, ताप र प्रकाश जे दिन्छ त्यो सबै नतिजादेखि म तटस्थ छु ।  सबैलाई रिझाउने गरी पत्रकारिता गर्न सकिदैन ।

मित्रका मुखारविन्दबाट उपरोक्त सन्दर्भ सुनेपछि म पनि घोतलिएँ । सर्वप्रथम म भन्छु , उहाँ श्रीधर केसी मेरा मित्र, मेरा अनन्य सहयोगी हुनुहुन्छ । जहाँसम्म मैले चिनेको श्रीधर केसी , उहाँ एक सक्षम , कुशल र तात्कालिक उग्र रुझान चाहने नौजवान मस्तिष्क भएका एक प्रशासक हुनुहुन्छ । उहाँलाई कुसाग्र बुद्धिको प्रखर, तीक्ष्ण र त्वरीत निर्णय गर्ने व्यक्तिभन्दा पनि अतिशोयुक्ति नहोला । पहिलो कार्यकाल व्यतीत गरेर गोलबजारबाट जाँदा उहाँको सुखद बिदाई हुन पाएन । विषम परिस्थितिमा उहाँ गोलबजारबाट बाहिरिनु भयो । तर उहाँ प्रमुख जिल्ला अधिकारी बनेर कुनै जिल्ला जाने अभिप्षासहित गोलबजारबाट बाहिरिनु भएको हो । सरकारमा आएको बेमौसमी फेरबदलले उहाँको सिडिओ बन्ने सपना तत्काललाई मुलतवीमा प¥यो । तर उपसचिवबाट एक तह मात्र बढुवा हुन उहाँले धेरैबेर कुर्नु पर्ने छैन । सहसचिव भएपछि स्वतः प्रमुख जिल्ला अधिकारी बन्नुहुनेछ । तर त्यसको लागि अहिले कै जस्तो कलंक र दाग नदेखिएको र कुनै नसिहतमा नपरेको अवस्था रहिरहन आवश्यक छ । जाहे जोसुकै हुन् उपसचिवलाई सहसचिव हुँदै सचिव र मुख्य सचिवसम्म पुग्ने अभिलाषा हुन्छ नै । तर त्यसको लागि चरित्रच्युत हुनबाट जोगिनु पर्छ । नैतिक पतन देखिने फौजदारी अपराध वा गैर सामाजिक आचरण वा कुनै पनि अपराधजन्य आरोपमा नसिहत खाने वा वयान दिने वा उनको नाममा तारिख पर्चा खिचिने दुर्भाग्यपूर्ण अवस्था आउनु हुँदैन ।

गोलबजार नगरपालिकाको नेतृत्व र नेतृत्वको पनि नेतृत्वलाई राज्य सम्हालेर पुग्दैन । उनीहरुलाई साम्राज्य खडा गर्नु छ । साम्राज्य भनेको शक्ति आर्जनको अन्तिम शिखर चुम्नु छ । त्यसको लागि अपार धन र राजनीतिक शक्ति हाँसिल गर्नु छ । परिवारवादलाई संस्थागत गर्नुछ । नगरपालिकाको ढिकुटी दोहन गर्न सपरिवार , स्वजातीय बन्धु वान्धव र दासवत कार्यकर्ताहरुलाई अधिकतम प्रयोग गर्नु नै दरवारको एकमात्र पञ्चवर्षिय लक्ष्य बनेको छ । दरवारलाई हेक्का छ कहाँ कति चारो हाल्दा चुनाव जितिन्छ । दरवारलाई थाहा छ कार्यकर्ताहरुलाई कसरी भक्तबाट दासमा परिणत गर्न सकिन्छ । दरवारलाई थाहा छ चुनावका लागि चारो कहाँबाट कति उठाउनु पर्छ । दरवार –म नै एमाले हुँ , म नै यहाँको शक्तिको श्रोत हुँ र म नै सत्ता हुँ भन्ने कुरा स्थापित गर्न कटिबद्ध छन् ।

मेरा मित्र श्रीधर केसी सरलाई मैले यो नगरपालिका छोड्न वा यही रहन अनुरोध गर्न सक्दिन । त्यसो भन्नु मेरो नैतिकताले दिंदैन । किनकि त्यो मेरो कर्तव्यपथमा पर्ने विषय होइन । मेरा सहयोगी मित्र श्रीधर केसीको हकमा भन्नुपर्दा उहाँ अत्यन्त सेतो चमकिलो वस्त्र पहिरिएर कोइलाको खानीमा पस्न आउनु भएको छ । गोलबजार नगरपालिका अहिले कोइला खानी हो । यहाँबाट गुज्रिने हरेक व्यक्तिको आङ्ग शुभ्र र सफा रहन सक्दैन । चरित्रमा कालो धब्बा मात्र होइन हाँडीकै पिँध जस्तो निक्खर कालो भएर निस्कनु पर्ने बाध्यकारी अवस्था आउँछ आउँछ । यस पालिकामा काम गर्ने सरकारी कर्मचारी र राष्ट्रसेवकहरुको चरित्र नेतृत्वका कारण एक प्रकारले ओख्ली भित्र छ । कुनबेला मुस्ली बज्रिने हो सधै त्रासमा बसेर काम गर्नु पर्ने अवस्था छ । मुहान नै फोहोर भएपछि सङ्गलो जल प्रवाह हुने कुनै सम्भावना छैन । नमागी सल्लाह त दिनु हुँदैन तर अघिल्तिर अक्करे भीर छ भनेर नभनिदिनु पनि अमानवीय हुन जान्छ ।

मेरा मित्र श्रीधर केसीको यो प्रयत्न हुन सक्छ कि यो धमिलो दहलाई सङ्गलो कलकल बग्ने जलधरा बनाउ । म शुभकामना दिन्छु , उहाँलाई सफलता मिलोस् । तर धनवर्षाको उत्कठ अभिलाषा बोकेर नगरपालिकाको नेतृत्वमा आएको दरवारको खहरे झैं उर्लदो वेगवान कमाउनिष्ट तृष्णा उत्ताल वेगमा बगेको छ । यसले एकल प्रयत्नी केसी सरलाई स्वात्तै बगाउने छ । त्यसको प्रारम्भिक लक्षणहरु देखापरिसकेको छ । सबैलाई थाहा छ स्वर्ण मृग कहीं हुँदैन । तर पनि हामी भित्रको राम स्वर्ण मृगको पछि लाग्छ । स्वर्ण मृगको पछि लाग्ने हो भने सीताको चोरी भएरै छोड्छ । अर्थात अन्तरआत्माको पतन । चरित्र रसातलमा पुग्छ पुग्छ । म त फगत एक साक्षी हुँ । जे देख्छु त्यो दावानलको भित्तामा कोर्दै जान्छु । कसैलाई आनन्द उत्पन्न गराउन सक्छ कसैलाई पीडा । आगे मर्जी आ आफ्नो ।


प्रकाशित : २०८० चैत्र १८ आईतवार