सिडिओ साहेब ः अमर्यादित एसइइको लक्षण मेटाउने कि कारण ?

[sharethis-inline-buttons]

अर्जुन थपलिया
सिरहाका प्रमुख जिल्ला अधिकारी ज्यु बासुदेव दहाल समक्ष केही यक्ष प्रश्न तेस्र्याउन आजको अमर्यादित एसइइ परीक्षाले बाध्य बनाएको छ । एसइइ परीक्षको दोश्रो दिन आज सिरहामा जे जे घटनाक्रम देखियो त्यसले परीक्षा प्रणाली र समग्र शैक्षिक जगतको हुर्मत लिएको छ । परीक्षा सुरु हुनासाथ १० मिनेट बितेको छैन प्रश्न पत्र सामाजिक सञ्जालमा प्रकट भयो । एक विद्यालय वा परीक्षा केन्द्रबाट मात्र होइन अनेकौ परीक्षा केन्द्रबाट प्रश्न पत्र बाहिरिन थाल्यो । मानौ विद्यार्थीहरु सरस्वती पूजाका दिन विद्यालय गएका छन् र साँस्कृतिक कार्यक्रमको तस्बिर फेसबुकमा पोष्ट गर्दैछन् ।

वेथिति र अमर्यादाको पनि सीमा हुन्छ । कतै नक्कली परिक्षार्थी फेला परेका छन् त कुनै परीक्षा केन्द्रमा परिक्षार्थीहरुको साथबाट दर्जनौ स्मार्ट मोवाइल फोन बरामद भएको छ । प्रश्न पत्र मात्र चारओटा परीक्षा केन्द्रबाट बाहिरिएका छन् । परीक्षा केन्द्र वरिपरी फाटोकापी मेसिनसहित चिट र फ्लाप बनाउने टोली सकृय छन् । सुरक्षाकर्मीलाई केन्द्राध्यक्ष र गार्डहरुले नै रणभुल्लमा पारेका छन् ।

परीक्षा केन्द्र बाहिर पनि अनैतिकताको पराकाष्ठा नाघेको छ । परीक्षा केन्द्रका वरिपरीका बजार र त्यहाँ नभए नजिकको शहरमा भएका महंगा रेष्टुरेन्टहरुमा यतिबेला शिक्षकहरुको भिड देखिन्छ । जुन शिक्षकले आफ्नो जीवनकालमा तलबको पैसाबाट होटलमा एक छाक खाना आएका छैनन् होला तिनलाई अहिले चिकेन रोष्ट र गुलाब जामुन चाहिएको छ । अहिले केही शिक्षकहरु र परीक्षासँग भूमिका तथा सरोकार जोडिएकाहरुको दिनचर्या विलासी भएको छ । उनीहरु ऋाफ्नो घरमा इनारको पानी पिउने गरेपनि अहिले मिनरल वाटरको बोतल चाहिन्छ । शिक्षक तथा परीक्षासँग सरोकार जोडिएकाहरुको यो अनैतिकता र हन्तकाली व्यवहारको परावर्तन परीक्षा केन्द्रमा पनि देखिन्छ । प्रश्न पत्र बाहिरिनु , नक्कली परिक्षार्थी भेटिनु , परीक्षा केन्द्रमा मोवाइल भेटिनु , चिट र फ्लाप टोली परिचालन हुनु सबै त्यसैको नतिजा हो ।

अझ गहिराईमा जाऔं । परीक्षा सुरु हुनु १५ दिन अगावैबाट संस्थागत विद्यालयहरुले गच्छे अनुसार प्रत्येक विद्यार्थीहरुबाट ३ देखि ५ हजार अतिरिक्त रकम संकलन गरेका छन् । सामुदायिक विद्यालयहरुले पनि प्रति विद्यार्थी १ हजार रकम संकलन गरेको कुरा प्रकाशमा आएको छ । सिरहाका ४३ वटा परीक्षा केन्द्रमा परीक्षा दिन सम्मिलित विद्यार्थीहरुको संख्यालाई उठाइएको रकमसँग गुणण गर्ने हो भने रकमले करोडको आँकडा छुन्छ । यो अर्थ राजनीति र परीक्षा एक आपसमा जोडिएको छ । अनि कसरी परीक्षा मर्यादित हुन्छ ?

अझै मोति भेटिने गहिराई डुबौं । शिक्षा विकास तथा समन्वय इकाई सिरहाका तत्कालीन प्रमुख शशी यादवले पायक पर्ने परीक्षा केन्द्र , मन परेको केन्द्राध्यक्ष र सहयोग गर्ने गार्डहरु नियुक्त गरिदिने सेटिङ्गका लागि उत्कोचमा सुनका सिक्री , औंठी र नगद बुझिलिनु भएको पहिल्यै प्रकाशमा आएको छ । स्वयं प्रमुख जिल्ला अधिकारीले शशी यादवलाई जिम्मेवारीबाट हटाउन भूमिका खेल्नु भएको जिल्लामा जगजाहेर छ । उनले गरेको अविवेकी र स्वार्थपूर्ण कतिपय निर्णयहरु त सच्याइयो पनि । तर त्यसपछि पनि विद्यार्थीहरुबाट उठाइएको पुलिन्दाको इन्धन बलेर धुँवा पुत्पुताई रह्यो । नाकको पोरा फुट्ने गरी उठेको अनैतिकता र अमर्यादाको दुर्गन्धले समग्र शिक्षा जगतलाई क्षतविक्षत पारेको छ । परीक्षा प्रणालीलाई अमर्यादित बनाउन विद्यार्थी , अभिभावक , संस्थागत विद्यालयका सञ्चालकहरु , शिक्षक र शिक्षा समितिका पदाधिकारीहरु सबै नै दोषी छन् । दोष कसको भागमा कति पर्छ भन्ने कुरा बेग्लै हो ।

परीक्षाको समयमा हुने अवैध कारोवार सिरहामा लगभग एक करोडको छ । यो विपुल रासी क–कसको खल्तीमा कति पुग्छ त्यो ठम्याउन कठिन छ । साक्षी वा दसी प्रमाण राखेर कसैले घुस लिदैनन् । तर सबैलाई थाहा भएको कसैले नदेखेको अकाट्य र कटु सत्य के हो भने परीक्षा हुनु अघि उठने रकम परीक्षासँग सरोकार राख्ने अधिकार प्राप्त अधिकारीहरु समक्ष नै पुग्छ । समाजमा शैक्षिक जगतकै हर्ताकर्ताहरुबाट सुनिन्छ एक पटक केन्द्राध्यक्ष बन्न पाउँदा बजारमा एउटा घडेरी जोरजाम गर्ने अतिरिक्त कमाई हुन्छ । त्यसकारण केन्द्राध्यक्ष बन्न मरिहत्ते गर्छन् ।

अब प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरुका प्रमुखहरुले त्यो एक करोडको थैलीबाट भागशान्तिको हकदैया गर्नुहुन्छ कि हुँदैन ? विश्लेषण र निरुपण गर्नु पर्ने प्रश्न पनि छ । तर नदेखि कसरी प्रमाणिक रुपमा भनौं वा लेखौं तर नभनी र नलेखी रहन पनि सकिन्न । जिल्लामा सर्वश्रेष्ठ सरकारी ओहदा सम्हालेर बस्नुभएका प्रमुख जिल्ला अधिकारी स्वयं शिक्षा समितिमा हुनुहुन्छ । जिल्लाभरमा समन्वय र व्यवस्था कायम राख्ने जिम्मेवारी र कानूनी अधिकार पनि उहाँसँग छ । त्यसकारण शिक्षा जगतको हुर्मत लिने र अमर्यादित परीक्षाले सिर्जना गरेको चरम विश्रृङ्खलताको जिवाफदेही पनि प्रजिअकै थाप्लोमा जान्छ ।

लक्षण प्रमुख कुरा होइन । प्रमुख कुरा कारण हो । ज्वरो आउँदा सिटामोल खाएर शरीरको तापक्रम घटाउन सकिन्छ तर यो लक्षणको उपचार मात्र हो । के कारण वा कुन रोग लागेर ज्वरआक्रान्त भयो त्यसको निदानतर्फ लाग्नु पर्छ । कारण नमेटाइ लक्षण मात्र मेटाउन लाग्यौं भने रोग निको हुँदैन । अहिले सुरक्षाकर्मी परिचालन गर्ने, चिट चोर्ने एक दुई विद्यार्थीलाई निष्काशन गर्ने , गार्ड हटाउने वा पक्राउ गर्ने कुरा लक्षणको उपचार हो । कारणको निदान होइन । एसइइमा अमर्यादा र वेथितिको कारणमा प्रहार गर्नु आवश्यक छ । परीक्षा अघि रकम उठाउने , परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोक्न उत्कोच लिनेदेखि नै उपचार प्रारम्भ गरिनु पर्छ । अवोध बालबालिकाहरुलाई हतोत्साहित हुनेगरी सुरक्षाकर्मीले परीक्षा केन्द्रमा बुट बजारेर हुँदैन । पहिले जिल्ला शिक्षा समिति र शिक्षकहरुले नैतिकता र आदर्शको पालना गरुन् ।

 

 


प्रकाशित : २०८० चैत्र १६ शुक्रबार