जिल्लाका बासिन्दालाई राम्रोसँग हेक्का छ । सिरहामा भन्सार , अन्तशुल्क लगायत अन्य राजस्व चुहावटको परिमाण अत्यास लाग्दो छ । सिरहामा करिव २ सयको हाराहारीमा ब्लेकिया ( स्थानीय भाषामा भन्सार चोरी निकासी तथा पैठारी गर्नेहरु ) छन् । उनीहरुको सञ्जाल छ । संगठन छ । उनीहरुले सीमावर्ती भारतीय बजारका व्यापारी तथा नेपालका व्यापारीहरुसँग नङ्ग मासुको सम्बन्ध बनाएका छन् । समस्त भारत र नेपालको बीच कायम रहेको रोटी बेटीको सम्बन्ध भन्दा पनि ब्लेकियामार्फत कायम व्यापारिक सम्बन्ध बलियो र प्रगाढ छ ।
जयनगर , लदनीयाँ र लोकहा ठाडीमा खरिद गरिएको मालसामान ब्लेकियामार्फत नेपाल भित्रिन्छ । आयात हुने कुल मालसामानको ८० प्रतिशत ब्लेकियामार्फत नेपाल आउँछ । ब्लेकियामार्फत आउने सामानहरु साइकल,मोटरसाइकल , जीप , बस र ट्रक नै पनि प्रयाोग भएर आउँछ । त्यसैगरी नेपालबाट भारततर्फ चोरी निकासी हुने मालसामानको परिमाण पनि कम छैन । खासगरी तेश्रो मुलुकबाट नेपाल आयात गरेर भारततर्फ चोरी ( तस्करी ) निकासी हुने सुपारी, मरिच, लहसुन र नेपालकै उत्पादन मदिराको मात्रा पनि कम छैन । त्यसबाहेक चीनियाँ नाका हुँदै भित्रिने सुन ( gold ) पनि सिरहाका विभिन्न नाकाबाट भारततर्फ तस्करी भैरहेको छ । राजस्व छली तथा चुहावटको छिद्रहरु धेरै छन् । परत परत केलाउने हो भने पुस्तक नै लेख्नु पर्छ । तर यहाँ ठोकुवाका साथ संक्षेपमा के भन्न सकिन्छ भने भन्सार छलेर सीमा वारपार गरिने निकासी तथा पैठारी , अन्तशुल्क स्टिकरको दुरुपयोग तथा तस्करीका अन्य गतिविधिहरु प्रहरी , प्रशासन लगायत सबै सुरक्षा निकायहरु, भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको मिलिभगतमा भैरहेको छ । सिरहामा राजस्व चुहावटको परिमाण विपुल छ, विराट छ । यो एउटा संगठित अपराधको स्वरुपमा संस्थागत भएको छ । यो जालो सानोतिनो प्रयासले भत्किनेबाला छैन ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक , सशस्त्र प्रहरी बलका उपरीक्षक , राष्ट्रिय अनुसनधानका एसपी, भन्सारका प्रमुख , कर कार्यालयका प्रमुखहरु नयाँ व्यक्ति सरुवा भएर आउनु पर्छ सिरहामा – स्वागत गर्नेहरुको लर्को लाग्छ । सिरहाको सीमाना बलान वा कमला नदीको पुलदेखि नै पुष्पगुच्छा टक्रयाउनेहरु पंक्तिबद्ध र करबद्ध भएर बसेका हुन्छन् । स्वागत गर्नेहरुको अग्रपंक्तिमा ब्लेकिया, तस्कर र ग्राभेल तथा क्रसर व्यवसयीहरु हुन्छन् । नयाँ अधिकारी आएपछि पहिलो र दोश्रो साता ब्लेकिया तथा तस्करहरुको सेटिङ्ग मिल्न मिलाउन समय लाग्छ । त्यसपछि धन्दा सुरु हुन्छ । जिल्लाको प्रहरी र प्रशासनमाथि जहिले पनि तस्कर, ब्लेकिया र क्रसर व्यवसायी हावी देखिन्छन् । तस्करी बाहेकका सवालहरुमा पनि तस्कर, ब्लेकिया तथा क्रसर व्यवसायीहरुको सिरफारिस चल्छ । कार्यालयमा हाजिर हुनासाथ आयोजना हुने परिचय तथा भेटघाट कार्यक्रममा भिड लाग्छ । झन् यी सरकारी अधिकारीहरु सरुवा भएर जानेबेलामा बिदाई समारोहमा हेनुपर्छ झन् ठूलो जमघट हुन्छ । स्वागत तथा बिदाई समारोहका त्यस्ता जमघटका तस्बिरहरु हामीसँग प्रसस्त छन् जस्मा देखिन्छ ८० प्रतिशत ब्लेकिया , तस्कर , क्रसर व्यवसायी र नाजायज व्यापार गर्नेहरुको उपस्थिति देखिन्छ । सुन र हीराका औंठी तथा सिक्री उपहार चढाइन्छ । उपहारमा चढाइएका फर्निचर , कपडा , फर्निसिङ्ग लगायतका मालसामानहरु ट्रकमा हालेर सरुवा भएका अधिकारीहरुको घरमा पु¥याइन्छ । सिरहाको एक नगरपालिकाका प्रमुखले यसै साता मसँग भएको भेटमा भनेका थिए , स्थानीय प्रहरी, प्रशासन तथा सुरक्षा अंगहरुलाई मासिक एक करोड बुझाउँछन् ब्लेकिया तथा तस्करहरुले । उहाँको अन्तरवार्ता दावानलमा चाँडै प्रकाशित हुँदैछ । । तस्करहरुले वडे वडे गोदाम सीमा क्षेत्रमा राखेका छन् । तस्करीको माल गोदाम भरेर राख्छन् । समय र तुक मिलाएर आरपार गर्छन् गराउँछन् । प्रत्येक गोदामबारे सुरक्षा निकाय जानिफकार छ तर आँखा चिम्लेर बसेका छन् ।
ब्लेकिया, तस्कर , क्रसर व्यवसायी तथा राजस्व चुहावटमा संलग्न समूहहरुको सञ्जाल बलियो छ । उनीहरुले राजनीतिक दलका नेताहरुलाई पनि चन्दा दिन्छन् र आफ्नो पक्षमा मिलाउँछन् । राजनीतिक दलका नेताहरुले पनि स्थानीय प्रशासन , प्रहरी र समग्र सुरक्षा निकायलाई भन्सार चोरी निकासी तथा पैठारीको लागी राजी गराउँछन् । जसलाई स्थानीय भाषामा लाइन दिने भनिन्छ । यदाकदा कुनै एक जना सुरक्षा अधिकारीले इमान्दारिता देखाएर लाइन दिन आनाकानी गरे भने उनको छिट्टै सरुवा हुन्छ । सेटिङ्ग मिल्यो भने मालामाल हुन्छन् । तर राज्यको ढिकुटी भने रित्तै हुन्छ ।
पछिल्लो एक वर्षदेखि सिरहाका सुरक्षा निकायका अधिकारीहरुलाई दशा लागेको देखिन्छ । उनीहरुले ग्रह दशा स्वस्ति शान्ति गराउनु पर्ने देखिन्छ । भन्सार तथा राजस्व उठती रकम ज्यादै न्युन भएको र सञ्चारमाध्यमहरुमा चोरी निकासी पैठारीको समाचार बाक्लै संम्प्रेषित भएको कारण राजस्व अनुसन्धानले पटक पटक छापा मारेर भन्सार छलेर ल्याएको माल सामानको ट्रक नै समात्यो । जस्को कारण सिडिओ, एसपी र सशस्त्रका एसपीको करिअरमा दाग लाग्ने गरी सिरहाबाट तानिए । पछिल्लो पटक नयाँ आएका सुरक्षा अधिकारीहरुको घाँटीमा माछाको काँडा बनेर अडकिए पत्रकार विनय आजाद । उनले शारदा डिस्टिलरीबाट हुने मदिराको तस्करी निर्यात र अन्तशुल्क स्टिकरको दुरुपयोगलाई नाङ्गो पारिदिए । पत्रकार आजादको साहासिक तथा खोजमुलक टेलिभिजन रिपोर्टिङ्गले सुरक्षा निकाय तथा राजस्व अधिकारीहरुको लाज छोप्ने लगौटी पनि खुस्काई दियो । पत्रकार आजाद भाइ अब सिरहामा सुन तस्करीको पनि विस्फोटक खुलासा गर्ने गरी साहासिक रिपोर्टिङ्गको अर्को कोशे ढुंगा स्थापित गर्नुहोस् । हाम्रो साथ सहयोग रहने छ । तर व्यक्तिगत सुरक्षाको लागि सावधानी अपनाउन चुक्नु हुँदैन । खतराबाट जोगिनु पर्छ तर चुनौतिको सामना गर्नुपर्छ । म पनि गोलबजारमा यस्तै नियति भोग्दैछु ।
सिरहाका सुरक्षा निकायहरु सशस्त्र प्रहरी बल तथा मातहतका बेस क्याम्प तथा बोर्डर आउट पोष्टहरु , जिल्ला प्रशासन कार्यालय , राष्ट्रिय अनुसन्धान विभाग , जिल्ला प्रहरी कार्यालय , कर कार्यालय र भन्सार कार्यालय यति धेरै बदनाम भैसके कि अब बाह्र हाते मजेत्रोले पनि लाज छोपिदैन । दुई चार पोका कपडा वा अन्य वस्तु समातेर भन्सार बुझाउने र प्रेस विज्ञप्तीसहित सार्वजनिक गर्ने कुरा आँखामा छारो हाल्ने काम हो । यति भूमिकाले स्थानीय प्रहरी तथा प्रशासनको तस्करहरुसँगको लसफस तथा निर्वस्त्र चरित्र ढाकिदैन । स्थानीय सुरक्षा निकायले यदाकदा तस्करीको सामान पक्राउ गरिहाल्यो भने पनि त्यो एउटा कलाविहीन नाटक मञ्चन गरिए जस्तै हो । लोकलाजबाट बच्न , प्रहरीले आफ्नो काम गर्दैछ भन्ने दर्शाउन र प्रहरीलाई पनि कमिशन नदिई छलेर ल्याउने ब्लेकिया सामान त्यो पनि सानो परिमाणमा मात्र पक्राउ पर्छन् । चोरी निकासी पैठारी रोक्न जुन नगन्य र अपर्याप्त छ । सिरहामा तस्करीलाई संस्थागत गर्ने सुरक्षा तथा राजस्व अधिकारीहरुलाई सरुवा गरेर मात्र पनि पुग्दैन । सिरहाको तस्करीको संगठित जालो तोड्न सर्वप्रथमतः उच्च स्तरीय छानविन आयोग गठन गरिनुपर्छ । अहिलेको मदिरा तस्करी काण्डको पनि निष्पक्ष छानविन हुनुपर्छ । आयोगले सत्य तथ्य छानविन गरी सरकारी अधिकारीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्छ । अनि मात्र सुरक्षा अधिकारी, राजस्व तथा भन्सार अधिकारी र तस्करहरु बीचको अन्योन्याश्रय सम्बन्ध तोडिन्छ ।
पत्रकार आजाद भाइको बारेमा म धेरै प्रसंशा गर्दिन । उनी अगेनामा फुलेको फूल देखिन्छन् । उनलाई तातो हावाले ओइल्याउन सक्दैन । माथिको झुपडीको तस्बिर पत्रकार आजाद भाइ बस्ने घर हो । यो घरले भन्छ यदि उनले नियत खराव गरेको भए योभन्दा गतिलो घर बनाउन सक्थे । भाइ मानिस घरमा बस्छन् , घर चाँही मानिसको दीलमा बस्नु हुँदैन ।