क्रान्तिकारी उत्थानदेखि भ्रष्टाचारमा पतनसम्म –गंगा पासवान

[sharethis-inline-buttons]

एक समयको समाचार शीर्षक प्लाटुन कमाण्डर गंगा पासवान ः झुपडीदेखि मेयरसम्म

२०७४ साल असोज ५ गते तदानुसार २१ सेप्टेम्वर २०१७ साँझ ८ बजे फूल कुमारी राष्ट्रिय माध्यमिक विद्यालय बन्दीपुर सिरहामा खिचिएको यो तस्बिर राखेर मैले समाचार लेखेको थिएँ । झुपडीमा जन्मिएर हुर्किएका दलित समुदायका गंगा पासवान कर्जन्हा नगरपालिकाका मेयर भए । उनको जीवन गंगा कता कता बग्यो , उनको विशेषताहरु के के छन् , उनले यो उपलब्धी चुम्न कस्ता कस्ता विकट र खतरायुक्त बाटोहरु पार गरे र उनले कस्ता साहासिक कामहरु गरे आदि बखान गरेर समाचारहरु पस्किएँ ।
घत लाग्दो कुरा त के थियो भने उनी नेपाली समाजमा हेपिएका पछाडि पारिएका दलित समुदायका साथै अत्यन्त गरिब पनि थिए । अर्को चित्ताकर्षक कुरा के थियो भने नेपालमा मामुली खर्चमा मेयर जित्ने उनी पहिलो व्यक्ति थिए । जित घोषणा पश्चात फूल र अविरले पोतिएका पासवानको तस्बिर खिच्दा म नजिकै उभिएका थिए कमरेड अजय शंकर नायक ( अविनाश ) । उहाँलाई मैले सोधे कति मतले जित्नु भयो टिपाई दिनुस् । उहाँले एउटा डायरीबाट कागजको चिर्कटो च्यातेर मत परिणाम लेखिदिनु भयो । उहाँले त्यसै समय भन्नुभयो जम्मा ५ देखि ७ लाख खर्चमा पासवान जीले चुनाव जित्नुभयो र त्यो रकम पनि सबै जनताले चन्दा दिएका हुन् ।

सञ्चारमाध्यमहरुले उनको व्यक्तित्व र सफलतालाई बढाई चढाई प्रस्तुत गरेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्रमा पहिलो पटक भएको स्थानीय सरकारको निर्वाचनमा जनयुद्धकालमा लडेका गरिब , दलित समुदायका एकजना भूईँमान्छे बिना खर्च मेयर पदमा निर्वाचित भएका थिए । विषय र सन्दर्भ गर्विलो नै थियो । समाचार लेख्ने म मात्र थिइन । देशभरीका सञ्चारकर्मीहरुले गंगा पासवानको राजनीतिक उदयलाई समाचारको शीर्षक बनाएका थिए ।

पासवानले पद सम्हाल्नु भयो । म पनि लगातार ४ वर्ष काठमाडौं मा बसेर श्रमजीवि पत्रकार भएर काम गरे । त्यसपछि पुन सिरहा फर्किएँ । एक दिन घुम्दै कर्जन्हा नगरपालिका गएँ । बीचमा गाइँगुइँ सुनेको थिएँ , गंगा पासवाले विशाल महल बनाउनु भएको छ , गृह प्रवेश ( घरवास ) कार्यक्रममा प्रचण्ड आउँदै हुनुहुन्छ । म सरासर उनको गाउँमा गएँ । उहाँ नव निर्मित घर देखें । तस्बिर खिचे । त्यसपछि नगरपालिकामा आएर मेयर पासवानलाई भेटें । मैले सोधे घर त दर्रो बनाउनु भएछ ? उहाँ पररर पडकिनु भयो । हाडीमा मकैको फूल उठेको शैलीमा धारा प्रवाह बोल्न थाल्नुभयो । म सुनिरहें ।

पासवानले भन्नुभयो – के दलितले घर बनाउनु हुँदैन ? अन्य मेयरहरु र अन्य पदका नेताहरुले घर बनाएका छैनन् ? मेरा बा, आमा अर्काको खेतमा ज्याला मजदुरी गर्दागर्दै जीवन गयो । म पनि त्यसरी नै जीवन व्यतीत गरे । अब के एउटा घर बनाउने मेरो अधिकार छैन ? एउटा राम्रो घरमा बस्ने हाम्रो रहर हुँदैन ? यो घरको लागि म जहाँ जे जवाफ दिनु पर्छ भने दिन्छु । म फाँसीमै लटकिनु परे पनि तयार छु । मेरो घरबारे छानविन गर्नुभन्दा पहिले हजारौं धनीमानी नेता र गैर दलित नेताहरुको छानविन गर्नुपर्छ ।

मैले एउटा मात्र प्रश्न थपे घर त बनाउन पाइन्छ तर आयश्रोत जायज हुनुपर्छ ? यो घर बनाउन ४ वर्षमा तपाईले के इलम÷उद्यमबाट पैसा आर्जन गर्नुभयो ? जनताले यति प्रश्न त गर्छन् नी ? पासवानले भन्नुभयो आउँदै छ चुनाव । म फेरि उम्मेदवार बन्छु । मेरा दलित दाजुभाई दिदी बहिनीलाई म भन्छु । जवाफ दिन्छु । दलितहरुले फेरि मलाई जिताउँछन् । किनकी यो पालिका दलितहरुको गढ हो र म उनीहरुको लोकप्रिय नेता हुँ ।


केही दिनपछि निर्वाचन भयो । पासवान पुन मेयरका उम्मेदवार हुनुभयो । तर जित्न सक्नु भएन । निश्चय पनि कर्जन्हा नगरपालिका माओवादीको गढ नै हो । तर पासवानको घरले उनको राजनैतिक चरित्रलाई बदनाम गराइसकेको थियो । उहाँको हारको कारण नै उनको महल हो भन्ने आम जनताको मुखैमा झुण्डिएको वाक्य थियो ।

निर्वाचनमा पराजित भएपछि पासवान विस्मृतिको राजनीतिक अन्धकारमा हराए जस्तै हुनुभयो । प्राय राजनीतिक कार्यक्रमहरुमा उहाँको उपस्थिति निकै पातलो देखियो । उहाँको सामाजिक प्रतिष्ठामा पनि ह्रास आए जस्तो देखियो । निम्छरो व्यक्तित्वका साथ उहाँ नितान्त निजी जीवनमा आफूलाई सीमित गर्दै बस्नुभएको थियो । उहाँको चर्चा थोरै बाँकी कहाँनिर थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको उजुरीमा उहाँमाथि छानविन सुरु गरेको थियो । उजुरीको फाइल विस्तुत छानविनमा परेपछि उहाँ आफू पनि त्रासमा हुनुहुन्थ्यो । पटक पटक वयान दिन जानु पर्ने र समाजमा पनि गिल्ला गर्न सुरु भएको थियो ।

अचानक आज देशभरीको सञ्चार माध्यममा पासवान पुन शीर्षक बन्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजै पासवानसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु द्वय जगदिश मण्डल र बुद्धिमान दनुवार , लेखा प्रमुख प्रवीण कुमार महतो र ठेकेदार कम्पनीका सञ्चालकसमेत ५ जनामाथि भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माण प्रसंगमा उच्च अदालत राजविराजको आदेश अवहेलना गर्दै भवन बनाउने स्थान निक्र्यौल नहुँदै टेण्डर प्रकाशन गरेको , गैरकानूनी रुपमा ठेकेदारलाई एक करोड ८ लाख पेश्की उपलब्ध गराएको , भवन निर्माणको सम्झौता समय गुज्रिदा पनि बैंक ग्यारेन्टी जफत नगरिएको आरोपमा ५ जनामाथि मुद्दा दायर गरिएको छ । मुद्दा दायर भएसँगै बहालबाला कर्मचारीहरु ३ जना निलम्वनमा परेका छन् । आजदेखि समय फेरियो । समाचारको शीर्षक पनि बदलियो , “गंगा पासवान महलदेखि अख्तियारको पासोसम्म ।” सिरहामा मात्र नभई आज देशैभरी पासवान एक पटक पुन चर्चित भएका छन् । तर चर्चाको आयाम उल्टो छ । कानूनको सिद्धान्त अनुसार अहिले पासवान लगायत ५ जना नै अभियुक्त हुन् । अदालतले दामल नगरेसम्म अपराधी भन्न मिल्दैन । उहाँ ५ जनाले मुद्दा जितेर सफाई पाउने वा दामल भएर सजाय पाउने कुरा अब अदालती परीक्षण प्रकृया र फैसलामा निर्भर हुन्छ । तर एउटा क्रान्तिकारी नेताको राजनीतिक उत्थान र पतनको गोरेटो कस्तो हुन्छ तथा क्रान्तिकारीहरु सत्तामा पुगेपछि कसरी चरित्रच्युत हुन्छन् ? त्यो हेर्न भने गंगा पासवानको जीवन गंगाको प्रवाह हेरे पुग्छ ।


प्रकाशित : २०८० चैत्र १४ बुधबार