चैतको सामान्य वर्षामै आधाउधी भत्कियो मैनावतीको बाँध

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका वडानं. ८ मा निर्माण गरिएको बाँध बनेको एक महिनामै आधाजसो भत्केको छ । हिजो १२ गते राति भएको वर्षाको कारण मैनावती नदीमा आएको सामान्य बाढीले नै बाँध कटान भएको छ ।

नदीमा आएको बाढीमा बगेर आएको दाउरा , झिंगटा र कसमलहरु होचो पुलमा जम्मा भएपछि पानी थुनिएको र दायाँ बायाँ रहेको बाँध कटान गरेको एक प्रत्यक्षदर्शीले दावानललाई बताए ।

२०७५ सालमा बनेको अधुरो र गलत डिजाइनको पुलमा हालसालै गोलबजार नगरपालिकाले दायाँ बायाँ बाँध बाँधेर आवागमन गर्ने सडक तयार पारेको थियो । नियम विपरीत र गलत डिजाइन अनुसार पुल बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको र आयोगले छानविन गरिरहेको थियो । बाँध बाँधेर पुललाई प्रयोगमा ल्याउन गोलबजार नगरपालिकाले बाँध बाँध्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुन थप उजुरी परेको थियो ।

गत चैत ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतहरुले पुल तथा बाँधको स्थलगत निरीक्षण गरी मुचुल्का उठाएको वडा नं. ८ का वडाध्यक्ष देवनारायण सिंहले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरीक्षण गरेको चार दिन पछि नै बाँध कटान भएको छ ।

वडाध्यक्ष सिंहले भने एउटा गल्ती छोप्न सय गल्ती गरे जस्तै भयो । बाँध कटान भएपछि मैले मेयर साहेबलाई फोन गरेर जानकारी दिएँ र अवलोकन गर्न भने । तर उहाँ तत्कालै आउनु भएन । वडाध्यक्ष यादवले थपे –त्यो बाँध टिक्दै टिक्दैन । मैनावती नदीको भल त्यति सानो पुलबाट कसरी छिर्छ ? झन् सत्यानास पार्छ । पूर्वपट्टीको फिल्ड र विश्राम घर पनि बगाउँछ । नहुने काम गरेपछि यस्तै बर्बादी र तनाव हुन्छ । असारको बाढीले पुल र बाँध स्वात्तै बगाउने खतारा छ । पैसाको नास भयो । हामीले त पुल बनाउँदै देखि रोकेका थियौं ।

यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई सोधनी गर्दा उनले भने अब बाढी आयो , बाँध क्षति भयो होला । फेरि मर्मत गर्छौ । बाढी र पहिरोलाई कसले राक्न सक्छ र ?


प्रकाशित : २०८० चैत्र १३ मंगलवार