अर्जुन थपलिया
न बोलु सच तो कैसा आइना मै
जो बोलु सच तो चकनाचुर हो जाउ
कवि र शायरको विशेषता के हो भने सारभूत कुरा दुई पंक्तिमा भनिदिनु । भारतीय विख्यात शायर राजेश रेड्डीको माथि उल्लिखित दुई पंक्ति सत्यको गुह्य मीमांसा हो । कवि रेड्डी भन्छन् ऐनाको विशेषता नै हो सत्य प्रतिविम्वित गर्ने अर्थात जस्ताको त्यस्तै देखाउने । तर सत्यलाई जस्ताको त्यस्तै पस्किए वापत उसले पत्थर खानुपर्छ र चकनाचुर हुनुपर्छ ।
ऐनाको अगाडि विषयवस्तु उभिएसम्म मात्र प्रतिविम्व देखिन्छ तर ऐनाको विकसित रुप क्यामराले प्रतिविम्वलाई ठोस र कालजयी बनाइदिन्छ । क्यामराको अघिल्तिर आएको विषयवस्तुलाई घटाउन र बढाउन नमिल्ने गरी चित्र र चलचित्र उत्पादन गरिदिन्छ । जुन प्रतिविम्वलाई तर्क दिएर पनि झुटा सावित गर्न सकिदैन ।
यस आलेखमा दुईवटा भिडियोहरु समावेश गरेको छु । यो भिडियोले सत्यलाई जस्ताको त्यस्तै पस्किएको छ । कसैले तर्क कुतर्क गरेर असत्य सावित गर्न खोजे त्यसलाई क्यामराले नै धृष्टताको उपमा दिनेछ । मेरो क्यामरा जीवित म हुँ । अर्थात मेरो पत्रकारिताको जीवित अस्तित्व क्यामरासँग जोडिएको छ । अब म सत्य नबोलु भने कसरी ऐना भनाउनु अर्थात पत्रकार भनाउँनु ? तर सत्य बोलु भने पत्थर खाने र चकनाचुर हुने सम्भावना बढदै छ । बरु म चकनाचुर हुने नियति भोग्न तयार छु तर सत्य पस्किन छोडदिन ।
अब भिडियोको विश्लेषणतर्फ लागौं । गोलबजार नगरपालिका वडा नं. ६ एबी मल नजिकबाट उत्तरतर्फ जाने सडकको भिडियो हो । यो सडक आर्थिक वर्ष २०७९÷०८० मा असार महिनामा आरसिसी ढलाई गरिएको हो । बनेको १० महिनामा यो सडक उक्किएर, फुटेर र भत्किएर जराजीर्ण भइसकेको छ । सडकको एक पत्र उक्किएको छ । यो सडकमा भारीभरकम गाडीहरु चलेको छैन । मानिस पैदल हिड्ने र सामान्य मोटरसाइकलहरु आवत जावत गर्ने गर्छन् । सामान्यतया आरसिसी ढलाई सडक १० वर्ष भन्दा बढी खप्छ । तर यो सडक एक वर्ष नबित्दै ग्राभेल सडकमा परिणत भएको छ ।
अर्को एक सडकको पनि दुर्दशा यो भिडियोमा हेरौं । गोलबजार नगरपालिका वडा नं. ७ को स्वास्थ्य चौकी अगाडिबाट उत्तर चोहर्वा श्रेष्ठ टोलसम्म आरसिसी ढलाई गरिएको सडक । यो सडक पनि आर्थिक वर्ष २०७९÷०८० को असार महिनामा नै बनेको हो । यो सडक मेयर श्याम कुमार श्रेष्ठकै गाउँको सडक हो । १० महिनमा यो सडक पनि उक्किएर , फुटेर र भत्किएर जीर्णशीर्ण भएको छ । यो सडकमा खाली खुट्टा कुर्कुच्चा घुमाउँदा ढलाई फुस फुस फुट्छ ।
भिडियो हेरेर पनि चित्त नबुझे यो सडक धेरै टाढा छैन । गोलबजार नगरबासीलाई मेरो हार्दिक आग्रह छ । राजनीतिक दलका प्रतिनिधि खासगरी एमालेका नेता तथा कार्यकर्ता , नागरिक समाज , पत्रकार , व्यापारी , प्रवुद्ध वर्ग र आम जनता एक पटक यी दुई सडकमा पुगेर अवलोकन गर्नुहोस् । मेयर श्याम कुमार श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देस्वर मण्डल ज्युलाई विशेष आग्रह गर्न चाहान्छु , कृपया यो सडक हेरेर पत्रकार सम्मेलन गरेर गुणस्तरीय निर्माण भएको हो कि होइन प्रष्ट पारिदिनु होला । इमान धर्म सम्झेर मूल्याङ्कन गर्नुहोस् । के यो सडक गुणस्तरीय विकास निर्माणको कोटीमा पर्छ ? चित्र र चलचित्र आफै बोल्छ ।
गोलबजार नगरपालिकाले चैत ९ गते एक पत्रकार सम्मेलन गरेर पत्र पत्रिकाले भ्रामक समाचार लेखेर नगरपालिकाको बदनाम गर्न खोजेको आरोप लगाएको छ । खासगरी दावानल अनलाइनलाई लक्षित गरी नाकारात्मक समाचार मात्र फैलाएको आरोप लगाइएको छ । पत्रकार मानिस हो , मानिस पूर्वाग्रही पनि हुन सक्छ । तर क्यामरा ऐना हो । निर्जीव मेसिन हो । यसमा पूर्वाग्रही हुने चेतना छैन । भिडियो खिचेर जस्ताको त्यस्तै पस्किएको छ । सडकको दुर्दशा प्रष्टै देखिन्छ । यदि गलगाँड निस्केर विरुप देखिएको घाँटीलाई सकारात्मक हुने नाममा “आहा कति राम्रो गलगाँड ” भन्यो भने सुहाउला त ? ठीक त्यसैगरी यी दुई सडकलाई आहा कति राम्रो गुणस्तरीय विकास निर्माण भनेर लेख्न मिल्छ त ? यी दुई सडकले गोलबजार नगरपालिकाको इज्जत छोप्ने टालो पनि खुस्काइ दिएको छ ।
नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देस्वर मण्डल ज्युसँग मेरो आग्रह छ । के यस्तो गुणस्तरहीन निर्माण कार्यले पार्टीको प्रतिष्ठामा वृद्धि हुन्छ ? के एमालेले देखेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त हुन्छ ? जनतामा एमाले प्रति विश्वास र भरोसा जाग्छ ? के यी दुई सडकहरु पर्टीको नीति अनुरुप बनेका छन् त ? कुन तर्कको जामाले छोप्ने यो सडकको दुर्दशा ? अघि हिँड्दै पाइला मेट्दै को गाउँखाने कथा जस्तै छ यो सडक । बनायो बनायो र एक वर्षमै भत्कियो , फेरि बनायो ।
एमालेका नेता तथा कार्यकर्ताहरुलाई द्वन्द्वात्मक भौतिकवाद बारे सिकाई रहनु नपर्ला । बिना कारण केही भएको हुँदैन , हरेक घटनाको पछाडि कारकतत्व मौजुद हुन्छ । आगो नबली धुँवा निस्कदैन । यी दुई सडक एक वर्ष नपुग्दै जराजीर्ण हुनुमा पनि कारण छ । सिमेन्ट कम हालियो वा बालुवा , गिट्टी राम्रो भएन वा पानीको मात्रा कम भयो वा कमअसल निर्माण सामग्री प्रयोग भयो । जाँचबुझ गर्ने हो भने सत्यतथ्य सामुन्ने आउँछ । जाँचबुझ गर्न गराउन र सत्यतथ्य जन समक्ष ल्याउन पनि आवश्यक छ । सुशासनको सिद्धान्त र मर्मले त्यही भन्छ । जवाफदेहीता लोकतन्त्रलाई मर्यादित बनाउने आभूषण हो । यो सडक बिग्रिनुमा कसको गल्ती छ उसलाई जवाफदेही बनाउनै पर्छ ।
यी दुई सडकको भिडियो खिचेर मैले गोलबजार नगरपालिकाका एक इन्जिनियरसँग भेटें । मैले सोधे यस्तो किन ? उनले भने हामीलाई जागिर खान दिनुस् । उनले भने सीताले सुनको मृग चाहने हो भने रामसँग विछोड हुन्छ हुन्छ । नेतृत्वले अतिरिक्त कमाईको गुञ्जाइस खोजेको नतिजा हुन् यी सडकहरु ।
मेयर साहेब एउटा उर्दू शायरीको दुई पंक्ति –
“वो आफताव लानेका देकर हमे फरेव
हमसे हमारी रातके जुगनू भि ले गया ”
उज्यालो सूर्य ल्याउँछु भन्ने बचन दिएर रातमा चम्किने जुनकिरी पनि बेपत्ता बनाए जस्तै भएका छन् गोलबजारबासी । पहिलेकाले के नै लछा¥यो अहिलेकाले झन् जनतालाई भूइँमा पछा¥यो । यति त मैले लेख्नैपर्छ । यो लेखे वापत मेरो शिर कलमी हुनसक्छ , किनकि यहाँ मसी भएको कलम भाँच्ने प्रयास हुँदैछ । तर म निरन्तर लेखिरहन्छु । अहिले उडान बाँकी छ ।