कक्षा –४ को प्रश्न पत्रमा १८ गल्ती , के यसलाई क्षम्य मान्न सकिन्छ ?

[sharethis-inline-buttons]

रविन्द्रनाथ टैगोरले भनेका थिए “ एउटा शिक्षकले तव मात्र पढाउन सक्छन् जव उनी आफै पढिरहेका हुन्छन् – जसरी एउटा जलित दियोले मात्र अर्को दियोलाई बाल्न सक्छ ” । शिक्षक हुनु ठूलो जिम्मेवारीको कुरा हो ।

बिचार गर्नुहोस् , एउटा १० वर्षिय बालक वा बालिका पढ्नका लागि विद्यालय जान्छन् । सिर्जनाका ती कलिला मूनाहरुलाई गल्ती पढ्न र लेख्न सिकाइयो भने उसको भविष्य के हुन्छ ?

धनगढीमाई नगरपालिकामा सञ्चालित कक्षा ४ नेपाली विषयको परीक्षाको प्रश्न पत्र भेटियो । सरसर्ती हेर्दा प्रश्न पत्रमा १८ ठाउँमा गल्ती भेटियो । तस्बिरमा गल्ती भए–भएको स्थानहरुमा रातो घेरा लगाइएको छ ।

जुन पालिकाको शिक्षा शाखामा कक्षा ४ स्तरको बालबालिकालाई सोधिने प्रश्न पत्र शुद्ध लेख्ने जनशक्ति छैन त्यस पालिकाले गुणस्तरीय शिक्षा दिने दिलाउने आश्वासन र नारालाई कति भरपर्दो मान्न सकिन्छ ? सामुदायिक विद्यालयहरुमा प्राथमिक तहमै देखिएको यो शैक्षिक दुर्दशा समाज, अभिभावक तथा बालबालिकाहरुलाई मर्माहत बनाउन काफी छ । प्रश्न पत्र नै ठीक बनाउन नसक्नेले उत्तर सही कसरी पढाउँछन् होला ? बिचारणीय छ ।

यस्तो प्रश्न पत्रले बाल मनोविज्ञानमा के असर पार्छ ? यो प्रश्न पत्रमा भएका १८ वटा त्रुटिलाई बालबालिकाले सही ठान्दछन् र भविष्यमा त्यसै अनुसार लेख्छन् जुन उनीहरुका लागि घातक सिद्ध हुन जान्छ । प्रश्न पत्रमा “फोटो बाँकी ” लेखिएको छ । यो देखेर वा पढेर ती साना बालबालिका कति जिल्लिए होलान् ? बाल मानसपटलमा कस्तो असर प¥यो होला ? के यो क्षम्य गल्ती हो ?

यस सम्बन्धमा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार दासलाई प्रश्न गर्दा उनले भने , मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सम्बन्धित शाखासँग सोधिने छ ।


प्रकाशित : २०८० चैत्र ८ बिहीबार