माननीय लीलानाथ श्रेष्ठ ज्यु , दोहारो मापदण्ड उचित हो त ?

[sharethis-inline-buttons]

 

गोलबजार नगरपालिकाको नगर परिषद्को उद्घाटन सत्रमा बोल्दै माननीय लीलानाथ श्रेष्ठले कटाक्ष गर्दै भन्नुभएको थियो , “स्वास्थ्यका कर्मचारीलाई भूमि आयोगमा लगेर राखिएको छ । एकै जनालाई तीन तीन वटा जिम्मेवारी दिइएको छ । ” अनि कसरी विकास हुन्छ ? कसरी प्रभावकारी सेवा प्रवाह हुन्छ ? माननीय श्रेष्ठले यो भाषण गरिरहनु हुँदा उहाँका प्रिय अनुज श्याम कुमार श्रेष्ठ गोलबजारका मेयर भइसक्नु भएको थियो । माननीय ज्युले पूर्व मेयर देवनाथ साहको कार्यकालमा स्वास्थ्यका कर्मचारीलाई भूमि आयोगमा जिम्मेवारी दिइएको र एकै जनालाई तीनवटा जिम्मेवारी दिइएकोमा ठूलै स्वरमा कटाक्षप्ुर्ण अभिव्यक्ति दिनुभएको थियो । माननीय ज्युले दिनुभएको भाषणको रेकर्डिङ्ग सुरक्षित छ ।

माननीय ज्यु , अहिले तपाईका प्रिय भाइ श्याम कुमार श्रेष्ठ गोलबजार नगरपालिकाको मेयर हुनुहुन्छ । अहिले गोलबजार नगरपालिकामा के भइरहेको छ ? हेक्का छ कि छैन ? जानकारी लिनु भएको छ कि छैन ? एक जना कर्मचारी निरञ्जन शाक्य हुनुहुन्छ जो हेल्थ असिस्टेन्ट हुनुहुन्छ अर्थात स्वास्थ्य प्राविधिक । उनलाई स्वास्थ्य प्रवन्धक , लिजा संयोजक , भूमि आयोगको प्रमुख, जिन्सी शाखा प्रमुख र योजना शाखा प्रमुख गरी पाँच वटा जिम्मेवारी दिइएको छ । माननीय ज्युसँग यो जानकारी लुकाइएको रहेछ भने मैले यसै आलेख मार्फत जानकारी गराए । सोधीखोजी गरेर मेरो आलेखमा उल्लिखित जानकारीको परीक्षण र पुष्टि गर्दा हुन्छ ।

माननीय ज्यु , माहात्मा गान्धीको जीवनी “सत्यको प्रयोगमा” उल्लिखित एक प्रसंगलाई उद्धृत गर्दै केही कुरा राख्न चाहान्छु । एक पटक एक पिता आफ्नो सानो ५ वर्षे छोरालाई लिएर माहात्मा गान्धीको आश्रममा आए । उनले गान्धीलाई हात जोडेर विनति गर्दै भने , बापु यो मेरो छोरोलाई बालापनमै मधुमेह रोग लाग्यो तर यो गुलियो खान छोड्दैन । कृपया यसलाई गुलियो नखाउ भनेर सम्झाई दिनुस् । त्यसबेला गान्धीले भनेपछि बच्चा बच्चाले मान्छ भन्ने जनविश्वास थियो । गान्धीले भने पर्सी आउनु अनि सम्झाई दिन्छु । पर्सीपल्ट ती पीडित बुबा बच्चा लिएर पुगे । गान्धीले बालकलाई आफ्नो काखमा राखेर सम्झाए । बाबु चिनी र गुलियो खान हुँदैन । बालकले पनि हुन्छ भनेर सहमतिमा टाउको हल्लाए ।

पीडित पिताले गान्धीलाई सोधे , बापु यति कुरा अस्ति कै दिन मेरो छोरालाई सम्झाई दिन सक्नु हुन्थ्यो । पर्सी आउनु भनेर किन भन्नुभयो ? मेलै दुई दिन हैरानी खेपे । गान्धीले भन्नुभयो दुई दिन अघि म आफूले गुलियो खाँदै थिए , चिनी खाँदै थिए । आफू गुलियो चिनी खाएर बच्चालाई नखाउ भन्नु पाप हुन्थ्यो । दोहोरो मापदण्ड हुन्थ्यो । आफू त्यही काम गर्ने तर अरुलाई नगर भन्नु पाखण्ड हुन्छ । पहिले मैले दुई दिन चिनी र गुलियो खान छोडें त्यसपछि आज बाबुलाई सम्झाए ।
माननीय ज्युलाई स्वयं आफै गान्धी बन्नुस भन्दा उपयुक्त नहोला । किनकि गान्धीको जीवन अनुसरण गर्नु फलामको च्युरा चपाउनु सरह छ । तर यति भन्छु “दोहोरो मापदण्ड पाखण्ड हो । ” देवनाथ साहको कार्यकालमा गरिएको जुन अभ्यासलाई असंगत र विसंगतिपूर्ण भन्नुभयो के श्याम श्रेष्ठको कार्यकालमा त्यही अभ्यास जायज र सुशासनयुक्त हो ?

माननीय ज्युलाई आफ्नो भाइको प्रशंसा गर्ने अधिकार छ । आफ्नो भाइले गरेको कामको समर्थन गर्ने छुट पनि छ । तर दोहोरो मापदण्ड अपनाउँदा त दुनियाँले पाखण्ड देख्छ । कि त आफ्नो भाइलाई सम्झाएर आफूले पहिले असंगत र नाजायज भनेको भाषणलाई अनुसरण गर्दै स्वास्थ्यका कर्मचारीलाई स्वास्थ्यमै काम लगाउन भन्नुस् कि त पहिलेको भाषणमा मैले देवनाथ साहको कार्यशैलीको विरोध गरेर गल्ती गरेछु । त्यो भाषण फिर्ता लिन्छु भन्नुस् । देवनाथ साहले गरेको गल्ती थियो मेरो भाइले गरेको ठीक छ भन्नुहुन्छ भने पनि हामीले केही भन्दैनौ । तर स्पष्ट रुपमा भन्नु प¥यो । माननीय ज्युको निष्ठा के हो ?

गत २९ गते फागुन चोहर्वा स्थित सामुदायिक भवनमा आयोजित कार्यकर्ता भेलामा माननीय ज्युले भन्नुभएछ “पहिले पनि उही ठेकेदारले सारा ठेक्का लिने अहिले श्यामको कार्यकालमा पनि उही ठेकेदार हावी भएको देख्छु । यो के भएको हो ? किन एउटै व्यक्तिले सबै गरिरहेको छ ?

मेयर श्याम श्रेष्ठको कार्यकाल र प्रमुख प्रशासकीय अधिकृतको अमुक ठेकेदारसँगको घनिष्टता प्रति यो अति गहन प्रश्न उठाउनु भएकोमा म माननीय ज्युलाई धन्यवाद भन्न चाहान्छु । यसबाट के प्रष्ट हुन्छ भने गोलबजार नगरपालिकामा के भइरहेको छ त्यसबारे माननीय ज्यु जानकार हुनुहुन्छ । तर दुःख यस कुराको छ कि माननीय ज्युको निर्देशन , दिशानिर्देश र आग्रहलाई सिन्का जति पनि महत्व दिइदैन । टेरपुच्छर लगाइदैन । अब म भने जस्तो गर्छु तिमी सुने जस्तो गर तर कार्यान्वयन गर्न पर्दैन भन्ने दाजुभाइ बीच सल्लाह भएको छ भने हामीले थाप्लो पिटेर के गर्नु ? नत्र सुशासनको हुर्मत लिने गरी गोलबजार नगरपालिकामा भइरहेको ठेकेदार पोस्ने र गुणस्तरहीन काम गर्ने कुरा माननीय ज्युलाई पनि अवगत भएकै रहेछ । त्यति धेरै कार्यकर्ताको अगाडि बोलेको कुरा मैले बोलेकै छैन नभन्नु होला माननीय ज्यु । नत्र कार्यकर्ताहरुले लज्जित बनाउलान् । एउटै ठेकेदारले सार ठेक्का लिने , उपभोक्ता समितिले पनि उही ठेकेदारलाई काम दिने र कोटेशनको काम पनि उसैले पाउने अभ्यासलाई किमार्थ सुशासनको अभ्यास भन्न मिल्दैन । एक व्यक्ति जो स्वास्थयका कर्मचारी छन् उनलाई विषयगत विज्ञता नै नमिल्ने पाँचवटा जिम्मेवारी दिनु पनि सुशासन होइन । आखिर ६ वटा मन्त्री पद एक साथ चलाउनु भएका , दुई कार्यकाल सांसद हुनुभएका र कानुन विषयका विज्ञ हुनु भएका माननीय ज्युलाई नैतिकताको कसी के हो भन्ने कुरा त हेक्का होला । देवनाथ साहतिर लगाएको धारे हात फिर्ता लिनुस् कि त भाइको काम गराईलाई सच्याउन लगाउनुस् । नत्र पाखण्ड छोप्न गाह्रै पर्ला ।


प्रकाशित : २०८० चैत्र २ शुक्रबार