गोलबजार नगरपालिकाको निपाने चौकदेखि उत्तर गुरुधाम जाने बाटोमा गरिएको अस्पाल्ट गुणस्तर कालोपत्रे निर्माणमा स्थानीयले केहीबेर अवरोध गरेका छन् । रातको समयमा कालोपत्रे गरिएको , कालोपत्रे गर्नु अघि धूलो नहटाइएको , बिटुमिनको मात्रा कम हालिएको र पिच पातलो बनाएको भन्दै स्थानीयले केहीबेर निर्माण कार्य अवरोध गरेका थिए ।
वडा नं. २ का महेन्द्र महतो भन्छन् आँखामा छारो हाल्ने काम भइरहेको छ । यो पिच एक वर्ष पनि खप्दैन । एक इन्चभन्दा पनि पातलो कालोपत्रे गरिएको छ । यो सरासर गलत भइरहेको छ । महतोले वडाध्यक्ष सुकदेव सिंहलाई बोलाउँदा नआएको गुनासो पनि गरे । त्यसैगरी वडा नं. २ कै राजकुमार सिंहले पनि कालोपत्रे सन्तोषजनक गुणस्तरको नगरिएको र काम रोकेर विरोध जनाएको बताएका छन् । स्थानीय र ठेकेदार तथा वडाध्यक्ष सुकदेव सिंहबीच केहीबेर भनाभन पनि भएको प्रत्यक्षदर्शीले बताए । स्थानीयले निर्माण कार्य रोके पनि गुञ्जा कन्सट्रक्सनका सञ्चालक विजय साहले सम्झौता अनुसार गुणस्तरीय काम गरेको दावी गर्दै निर्माण कार्य अघि बढाएका छन् । कालोपत्रे निर्माण कार्य भइरहेको स्थानमा अनुगमन गर्न आएका नगर प्रमुख श्याम श्रेष्ठले पनि राम्रो काम भएको भन्दै ठेकेदारको कुरामा सही थापेका छन् । ठेकेदारले कालोपत्रे रातभरीमै सक्ने गरी काम थालेका छन् ।
कालोपत्रे निर्माणमा बिबाद स्थानीय भन्छन् गुणस्तर भएन मेयर र ठेकेदार भन्छन् ठीक छ
प्रकाशित : २०८० चैत्र १ बिहीबार