
बिक्रम सम्वत २००० सालमा जन्मिनु भएका कमरेड धर्मनाथ यादव ( मास्टर साहेब ) को आज फागुन २९ गते दिउसो ३ बजे गोलबजार नगरपालिका ४ स्थित निज निवासमा देहावसान भएको छ । उहाँ केही महिना अघिदेखि उठबस गर्न नसक्ने गरी थलिनु भएको थियो । प्राण त्याग्नु ४ दिन अघि मात्र उहाँ पक्षघातको शिकार हुनुभएको थियो । यादवको पार्थिव शरीरलाई साँझ ६ बजे उहाँको जन्मथलो सुखीपुर नगरपालिका स्थित खरहिटोल पु¥याइएको छ । फागुन ३० गते ११ बजे उहाँको अन्त्येष्टि गरिने पारिवारिक सुत्रले जानकारी दिएका छन् ।
कमरेड धर्मनाथ भूमिगतकाल देखि नेकपा एमाले पार्टीमा ( तत्कालीन माले ) मा आवद्ध हुनुहुन्थ्यो । उहाँ २०१६ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । श्री जनता माध्यमिक विद्यालय कसहामा शिक्षक रहनु भएका कमरेड धर्मनाथ मास्टर साहेवका नामले चिरपरिचित हुनुहुन्थ्यो । कुनैबेला पार्टीको साँँस्कृतिक फाँटको जिम्मेवारी पनि सम्हाल्नु भएका यादव हस्यौली ठट्यौली गर्न पनि खप्पिस हुनुहुन्थ्यो । सर्वप्रिय छवि भएका यादवको व्यक्तित्वको विशेषताहरु प्रष्ट्याउनु पर्दा उहाँ अध्ययनशील हुनुहुन्थ्यो । हजारौं पुस्तकहरु संकलन गर्नुभएका यादव पढी रहने स्वभावका थिए । माक्र्सवादी दर्शनका अध्येता यादव जीवनको उत्तराद्र्धमा आएर आध्यत्मिक दर्शनहरुको पनि अध्ययन गर्न थाल्नु भएको थियो । भौतिकवाद र आध्यात्म दुबै कुनै समय , स्थान र सन्दर्भमा एकाकार हुन्छ भन्ने ठहरमा उहाँ पुग्नु भएको थियो । भौतिकवाद र आध्यात्म बीच तारतम्य रहेको बताउने कमरेड यादव अद्वैतवादका व्यख्याता पनि थिए ।
२०४८ सालमा पार्टीको निर्देशन अनुसार शिक्षक पदबाट राजिनामा दिएर उहाँ सांसद पदमा उम्मेदवार बन्नु भएको थियो । तर निर्वाचनमा सम्मानजनक मत ल्याए पनि उहाँको पराजय भएको थियो । अनवरत र अटुट निष्ठाका साथ पार्टीमा मृत्युपर्यन्त उहाँ सकृय रहनुभयो । नकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य समेत हुनुभएका यादव सर २०७६ सालमा लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।
राजनीतिक र सामाजिक जीवनमा निष्कलंक रहनु भएका मास्टर साहेब अत्यन्त सरल स्वभावका र सादगीका साधक तथा अनुयायी हुनुहुन्थ्यो । जनसेवाका लागि उहाँले होमियोप्याथिक चिकित्सा पद्धति सिकेर जन जनको सेवा पनि गर्नुभएको थियो । मास्टर साहेब धर्मनाथ यादवलाई दावानल परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पित गर्दछौं ।