दावानल विरुद्ध माननीय लीलानाथ श्रेष्ठको आक्रोस,प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन

[sharethis-inline-buttons]

आज बिहानै चोहर्वा दरवारको फरमान जारी भएको थियो । एमाले नगर कमिटी , प्रदेश कमिटी र जिल्ला कमिटी तथा नगरपालिकाका एमालेकृत जनप्रतिनिधिहरु भेला हुने । माननीय लीलानाथ श्रेष्ठबाट आवश्यक निर्देशन बक्स भए पछि उहाँ सरकारलाई विश्वासको मत दिन तत्कालै काठमाडौं प्रस्थान गर्नु पर्ने भएकोले समयमै हाजिर हुन सबैलाई सूचना गरिएको थियो । उर्दी अनुसार एमाले जनहरु सशरीर हाजिर भए । श्रेष्ठतम जातिहरुका लागि निर्माण गरिएको सामुदायिक भवन एमाले जनहरुबाट खचाखच भरियो ।

बैठकको सुरुवातमै माननीय लीलानाथ श्रेष्ठले बोल्नुभयो । उहाँले झण्डै ३० मिनेट समय दावानल अनलाइनले लगातार गोलबजार नगरपालिका भित्रकोे भ्रष्टाचार, वेथिति, परिवारवाद , जातिवाद, नातावाद कृपावाद कुशासन बारे प्रकाशित समाचारमाथि कटाक्ष गर्दै बोल्नुभयो । सुत्रहरुले जानकारी दिए अनुसार माननीय श्रेष्ठले भन्नुभयो मैले यो श्यामलाई कतिपटक भनिसके एक जना पत्रकार तलव दिएर राख । राज्यको पैसा जान्छ । तेरो के जान्छ ? पत्रकार राखेर दावानलको हरेक समाचारलाई खण्डण गर्न लगा । यो श्याम कुरै बुझ्दैन । यसको चल्ते मलाई समेत असर पर्न थाल्यो ।

मेयर श्याम कुमार श्रेष्ठले पनि भन्नुभयो नगरपालिकामा छिरिक्क केही गर्नु हुँदैन । दावानललाई थाहा भैहाल्छ । हाम्रै कार्यकर्ताहरुले सबै कुरा सुनाइ दिन्छन् । वडाध्यक्षहरुले गएर भनिदिन्छन् । हैरान भइयो ।

त्यसपछि माननीय ज्यु कार्यकर्ताहरु माथि पनि खनिनुभयो । उहाँले कार्यकर्ताहरुलाई भन्नुभयो तपाईहरुसँग मोवाइल छैन ? फेसबुक छैन ? किन तपाईहरु प्रतिवाद गर्नुहुन्न ? के हेरेर बस्नु भएको छ ? माननीय ज्युले दावानलले एकोहोरो एमालेले जितेको पालिकाहरुलाई लक्षित गरेर समाचार सम्प्रेषण गरिरहेको पनि बताउनुभयो । त्यसकारण दावानलको प्रतिवाद गर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।

त्यसपछि माननीय मनोज कुमार सिंहले पनि बोल्नु भयो । उहाँले कुन वडामा कहाँ के काम गर्नुपर्छ त्यसबारे आफूलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । प्रदेशमा आफ्नो पार्टीको सरकार बन्दैछ , मेरो संसदीय कोषको रकम पनि विनियोजन हुन्छ । त्यसकारण पार्टी कमिटीबाट भने अनुसार गर्न आफू तयार रहेको बताउनु भयो ।

बैठकमा अन्य एक दुई जना नेताहरुले पनि मन्तव्य राख्नु भयो । तर कार्यकर्ताहरुलाई बोल्नै नदिई एकोहोरो निर्देशन मात्र सुनाइएकोले हल भित्रै असन्तुष्टि जाग्यो । कार्यकर्ताहरुको भनाई पनि सुन्नुपर्छ भन्ने बोली गुञ्जियो । सुत्रले दिएको जानकारी अनुसार त्यसपछि प्रदेश कमिटिीका पुष्पलाल पाख्रिनले बोल्ने मौका पाउनु भयो । उहाँले भन्नुभयो तपाईहरु नगर परिषद्मा समेत हामीलाई बोलाउनु हुन्न । योजना र बजेट के छ कति छ हामीलाई केही जानकारी हुँदैन । दावानलमा प्रकाशित भएपछि मात्र कतिपय कुरा हामीले थाहा पाउँछौं । हामीलाई जानकारी नै नभएको कुरा कार्यकर्ताले दावानललाई कसरी सुनाउँछन् ? जुन कुरा हामीलाई थाहा नै छैन त्यसबारेमा हामीले कसरी प्रतिवाद गर्नु ?

पाख्रिनले भने अहिले वडाहरुमा पठाइएको बजेट ६० लाखको सिलिङ्ग वडाध्यक्षहरुलाई दिइएको हो कि वडाका जनतालाई दिइएको हो ? जुन वडामा एमालेकै वडाध्यक्ष छन् त्यहाँ समेत कुन कुन योजनामा कति बजेट छ भनेर पार्टी कमिटीलाई जानकारी दिइएको छैन । अन्य पार्टीका वडाध्यक्षहरुले जानकारी दिने कुरै भएन । कमसेकम मेयर साहवले प्रत्येक वडा कमिटीलाई योजना र बजेटको प्रति किन नपठाएको ? पाख्रिनले प्रश्न गर्दै भन्नुभयो एलआइपिडब्लुमा आएको वडापिच्छे ५० –५० लाख बजेट पार्टी कमिटीसँग परामर्श नगरी के आधारमा वितरण गरिएको हो ? के के योजनामा लगानी गर्ने भनेर पार्टीमा छदफल हुनुपर्छ कि पदैन ? के हामी अन्धाकारमा बसेर तपाईहरुको रक्षाकवच बनिदिनु पर्ने हो ?

पुष्पलाल पाख्रिन गर्जिएपछि हलमा उत्तेजनाको वातावरण बन्यो । वडा सदस्य धन प्रसाद यादव उठेर बोल्न थाल्नुभयो । उहाँले भन्नुभयो हाम्रो वडाध्यक्षलाई योजना तथा बजेट बारे सोध्दा उनी भन्छन् दरवारलाई जानकारी गराएर सहमति लिइसकेको छु । तिमीहरुले बुझ्न जरुरी छैन । यो के चाल हो । दरवारले बुझेपछि पुग्यो ?

अर्की वडा सदस्य उषा धमलाले पनि वडाध्यक्षको आलोचना गर्नुभयो । उहाँले वडाध्यक्ष एक्लै सर्वेसर्वा बन्नुभएको छ । घरमा सही गरिदेउ भनेर नगरपालिकाले रजिष्टर पठाउँछ । अबदेखि म सही गर्दिन ।

पुष्पलाल पाख्रिनले बोल्नासाथ हलमा मेयर श्रेष्ठ र माननीय लीलानाथ कै विरुद्ध आक्रोस पोखिन थालेपछि बैठक समाप्त पारियो । माननीय ज्यु पनि काठमाडौंतर्फ प्रस्थान गर्नुभयो ।


प्रकाशित : २०८० फाल्गुन २८ सोमबार