एक दिन सिरहा नगरपालिका घुमेर बालश्रमिक तथा सडक बालबालिका भेट्दा

[sharethis-inline-buttons]

हे अपरिचित सिरहाली अवोध श्रमिक बालकहरु

पत्रकारिताको लामो जीवन यात्रामा आज म एकदमै असमञ्जस र किंकर्तव्यविमुढ बनेको छु । किनकि नलेखिदिनु भन्ने तपाईहरुको अनुरोधलाई नमानेर तपाईहरुको तस्बिर सार्वजनिक गर्दैछु । तपाईहरुले पेट पाल्न बाध्यात्मक रुपमा गर्नु परेको निकृष्ट र कठोर बालश्रमको नालीबेली यहाँ उद्धृत गर्दैछु । त्यसकारण सर्वप्रथम तपाईहरुसँग म करजोरी क्षमा माग्दछु ।

राज्य र समाज दुबै कर्तव्यच्युत हुँदा , समाजमा मत्स्य न्याय हावी हुँदा र गरिबमुखी योजना तथा बजेट नबन्दा तपाईहरु जस्ता बालश्रमिकहरुले ककिलो उमेरमा यति अघोर श्रम गर्नु परेको छ । गरिबी लुकाउने कुरा होइन । किनकि लुकाएर गरिबी हटदैन । सृजनका मूना तपाईहरु गरिब हुनुमा तपाईहरुको दोष छैन । राज्यको नीति र असंतुलित सामाजिक शक्ति संरचनामा कमजोर भएको कारण उत्पादनका साधनहरुमा तपाईहरुका अभिभावकहरुको पहुँच पुगेन । राजनीति , सम्पति ( उत्पादनका साधनहरु ) र प्रतिष्ठामा पहुँच नभएका वर्गका तपाई बालकहरुका अभिभावकहरु राज्यका अन्य श्रोत र साधनबाट पनि वञ्चित रहे । कथित अछुत बनाइएका कारण पनि समाजमा अनेक इलम गर्ने अवसरहरुबाट निषेध गरियो । तपाईहरुका पुर्खादेखि नै आत्मसम्मान गुमाएर जिउन बाध्य बनाइयो । त्यसकारण यो गरिबीको लागि तपाईहरु जिम्मेवार होइन । जिम्मेवार राज्य र उसको गरिबमारा नीति तथा सामाजिक आर्थिक संरचना हो ।

हे शोषित पीडित बालकहरु,

हामी पत्रकार हौं । राज्य र समाजलाई ऐना देखाउने र सकारात्मक परिवर्तनको अपेक्षा राख्ने हाम्रो कर्तव्य हो । यो आलेखमार्फत तपाईहरुको दुर्दशा देखाइदिनु हाम्रो कर्तव्य हो । यसबाट राज्य र उसका अंगहरुलाई दबाब पर्ने छ । सुझाव मिल्ने छ र प्रभाव सृजना हुने छ भन्ने हाम्रो आशा हो । यो एक प्रकारले बाल श्रमिकहरुको सवालमा हामीले गर्ने जनवकालत पनि हो । त्यसकारण तपाईहरुको तस्बिरसहितको कथा व्यथा लेख्दै छौं । आशा छ प्रमुख जिल्ला अधिकारी र नगर प्रमुख सहित राज्यका अन्य जिम्मेवार निकायको ध्यान जाने छ ।

जिल्ला प्रशासन कार्यालय सिरहा परिसर भित्र तीन जना बालकहरु भेटिए । सबैका हातमा ठूल्ठूला बोरा ( भांगा ) थियो । ती बालकहरु पानी खाएर फालिउको प्लाष्टिकको बोतलहरु शिला खोज्दै टिप्दै थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयको कुनाकाप्चा चाहार्दै एक फन्को लगाए । फोहोर फाल्ने र जलाउने रछानसम्म पुगे । बोतल टिपे । म उनीहरुलाई पछ्याउँदै तस्बिर खिच्दै थिए । उनीहरु सकेसम्म मतिर फर्किदैनथे । क्याम्रामा अनुहार नपरोस् भनेर प्रयत्न गरिरहेका थिए । ११–१२ वर्ष छेउछाउ पुगेका ती बालकहरुलाई पत्रकारले फोटो खिचेर लेखिदिन्छन् र छापी दिन्छन् भन्ने थाहा रहेछ । तर मैले कुदाकुद गरेर चारैतिर फर्की फर्की खिच्न थालेपछि उनीहरुले नखिच्नुस् भन्न थाले । मैले प्रश्न गरे “किन नखिच्नु भन्नुस् त बाबुहरु ?” उनीहरुले भने तपाईहरुले पत्रिकामा छापिदियो भने भोलिदेखि हामीलाई बोतल टिप्न दिदैनन् । यहाँ आउन दिदैनन् । अनि हामी के खानु ? हाम्रो रोजगारी मर्छ । मैले ती बालकहरुलाई पटक पटक उनीको नाम र वतन सोधें तर उनीहरुले बताउन मानेनन् ।

जिल्ला प्रशासन कार्यालय परिसरबाट निस्केर मुख्य सडकमा आउँदा अर्का ४ जना बालकहरु भेटिए । कसैले पनि आफ्नो नाम बताउन चाहेनन् । किशोर वयमा प्रवेश गर्न लागेका तीन जना बालकहरु नगरपालिकाले पुरानो नाला भत्काएर निर्माण गर्न लागेको नयाँ नाला भित्र पसेका थिए । स्काभेटरले भत्काएर भग्नावशेष बनाएको कंक्रिट ढलाईलाई घनले फुटाएर टुक्राटाक्री डन्डी झिक्दै थिए । नालाको हिलोमा पसेर घन चलाउनु र भग्नावशेषमा फलामे डण्डीका टुक्राटाक्री संकलन गर्नु जोखिमपूर्ण कार्य थियो । फलामका टुक्रा डण्डी झिकेर कवाडीमा बिक्री गर्ने र पाएको पैसाले छाक टार्ने जोहो गर्दै गरेका ती बालकहरुतर्फ हामीले क्यामरा तेस्र्याए पछि उनीहरु डराए । एक बालकले भने आहा सब लिख देबै त हमरा सबके भगा देतै – तपाईहरुले लेखिदिनु भयो भने हामीलाई यहाँबाट लखेटछन् । उनीहरु क्सैले हामीलाई नाम पनि बताउन चाहेनन् । एक अवोध दुधमुखे बालकलाई हामीले चकलेट दिएर फकाएर उनको नाम सोध्यौं । धेरै कर गरेपछि उनले नाम बताए बिमल सदा । उनको घर सिरहा नगरपालिका भित्र पर्ने खोरिया टोलमा रहेको ती बालकले बताए । सायद बालक विमल सदालाई हामी पत्रकार हौ भन्ने थाहा भएन ।


जिल्ला प्रशासन कार्यालय सिरहा र सिरहा नगरपालिकाको वातानुकूलित कार्यकक्षमा बसेर जिल्लाका प्रमुख प्रशासकको भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी र मेयर साहेब डा नवीन यादवलाई हेक्का छैन उनकै कार्यालय परिसर र सडकमा बालश्रमिकहरु निकृष्ट प्रकारका बालश्रम गर्दैछन् । कापी कलम लिएर विद्यालय जानु पर्ने उमेरका अवोध बालकहरु रछान चाहारेर बोतल टिप्दैछन् । बालश्रम उन्मुलन र जोखिममा परेका बालबालिकाहरुको उद्धार तथा व्यवस्थापनको अभिभावकीय कानुनी जिम्मेवारी पाएका प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार प्रमुख डा. नवीन यादवलाई यसै आलेख मार्फत आग्रह गर्न चाहान्छु , वातानुकूलित कार्यकक्ष भित्रबाट निस्केर आफ्नै कार्यालय परिसरमा घुमेर हेनुहोस् । सडकमा घुमेर हेर्नुहोस् । त्यहाँ भोको बचपनाहरु पेट पाल्नका लागि कति कठोर र निकृष्ट श्रम गर्दैछन् । जुन देशको बचपना भोको छ त्यो देशको जवानी कस्तो हुन्छ ? यी अवोध बालकहरु कठोर श्रममुक्त कसरी हुन्छन् र यिनीहरु विद्यालयसम्म कसरी पुग्छन् ? यो सवालमा चिन्तन् मनन् होस् । योजना बनोस् । बजेट छुट्याइयोस् । कार्यान्वयन होस् । अन्यथा संघीय लोकतान्त्रिक गणतन्त्र , सामाजिक न्याय र समृद्धिको नारा फगत पाखण्ड सावित हुने छ ।


प्रकाशित : २०८० फाल्गुन २८ सोमबार