केही समय अघि गोलबजार नगरपालिका वडा नं. ११ का वडाध्यक्ष सोहेव अनवरले फेसबुकमा स्टाटस नै लेखेर गुनासो पोखेका थिए , “गोलबजार नगरपालिकाबाट आखिर किन हराउँछ फाइल ” । उनले आफू सामाजिक विकास समितिको संयोजक भए पनि शिक्षा शाखाले कहिल्यै बैठक नबोलाएको र सोधिखोजी नगरेको पनि स्टाटसमा उल्लेख गरेका छन् ।
गोलबजार नगरपालिकामा फाइल हराउने मामिलामा धेरै जना नगरबासी पीडित छन् । फाइल दर्ता गराएर आयो । केही दिन पछि जाँदा फाइल नै भेटिदैन । फाइल हराएर दुःख पाएका धेरै नागरिकहरुले गुनासो गरेका छन् । यस्तै एउटा फाइल हराउने घटनाले एउटा विद्यालयको योजना नै चौपट भएको तथ्य प्रकाशमा आएको छ ।
श्री माध्यमिक विद्यालय गुरुधामले आर्थिक वर्ष २०७९÷०८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन निर्माणका लागि प्रस्तावना पत्र सहित निवेदन दर्ता गराएको थियो । तर शिक्षा शाखाले सो विद्यालयको फाइल नै अगाडि बढाइ दिएन । फाइल नै हरायो भनियो । गुनासो लिएर गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ समक्ष पुगेका प्रधानाध्यापक राम उदगार यादवलाई आश्वासन दिइयो – अर्को वर्ष फाइल मलाई दिनुहोला । म आफै फाइल अगाडि बढाउन पहल गर्छु ।
मेयर श्रेष्ठको आश्वासन पाएर फर्केका प्रधानाध्यापक यादवले आर्थिक वर्ष २०८०÷०८१ का लागि पुन प्रस्तावना पत्रसहितको निवेदन दर्ता गराए । उनी भन्छन् , यस पटक मैले फाइल मेयर साहेबको हातैमा दिएँ । उहाँले तोक लगाए पछि दर्ता गराएर फाइल मेयर साहेबले नै राख्नु भयो । तर नगरपालिकाले सिफारिस सहित शिक्षा मन्त्रालयमा पठाउने बेलामा हाम्रो विद्यालयको फाइल नै पठाइएन । के भएको हो भनेर सोध्दा फाइल हरायो भनेर जवाफ दिइयो ।
यस सम्बन्धमा शिक्षा शाखा प्रमुख सुवोध कुमार लामासँग जिज्ञाशा राख्दा उनले भने हाम्रो शाखामा फाइल नै आएको छैन । २०८१÷०८२ को लागि पनि आवेदन गर्ने म्याद गुज्रियो । त्यहाँको हेडमास्टर र व्यवस्थापन समितिले जानुन् ।
शैक्षिक सत्र २०८० देखि कक्षा ९ सम्म पठन पाठन हुने यस विद्यालयमा ३६० जना छात्रछात्राहरु अध्ययनरत छन् । २०८१ देखि १० कक्षा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । प्रधानाध्यापक यादव भन्छन् , कक्षा कोठाको अभावले कक्षा १० सञ्चालन गर्न मुस्किल पर्ने देखिन्छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवनको बजेट पार्न सकेको भए विद्यालयले प्रगति गथ्र्यो । तर दुर्भाग्य भनौ फाइल हराउने रोगले हामी दुई वर्ष पछाडि परियौं ।
यस सम्बन्ध योजना शाखा प्रमुख निरञ्जन शाक्यसँग बुझ्दा उनले भने फाइल हराएको छैन । मेयर साहेबले फाइल मलाई नै दिनुभएको हो । फाइल योजना शाखामा छ । योजना शाखाले शिक्षा शाखामार्फत फाइल अगाडि बढाउनुपर्छ भनेर नबुझेका कारण छुटेको हो । म शिक्षा शाखासँग बुझेर अगाडि बढाउनेतर्फ कदम चाल्छु ।
वडा नं. २ का बासिन्दा तथा युवा नेता राम नारायण सिंह भन्छन प्रावि गुरुधाममा ३० जना मात्र विद्यार्थी छन् । तर पनि विद्यालयमा जवर्जस्ती योजना पारेर ४ कोठे भवन निर्माण गरिदैछ । तर ३६० जना विद्यार्थी भएको विद्यालयलाई उपेक्षा गरिएको छ । गोलबजार नगरपालिकामा सामुदायिक विद्यालयहरुमा शैक्षिक दुर्दसा हुनुको कारण यस्तै व्यवहार हो । योजना पर्ने नपर्ने कुरा कमिसनमा निर्भर गर्छ ।