नगरपालिकामा मिनरल वाटर खरिदमा हुन्छ लाखौं खर्च तर विद्यालयमा पानी पिउन नपाई बालबालिका प्याकप्याक्ती

[sharethis-inline-buttons]

भनिन्छ पुजीवादी सत्तामा बस्ने शक्तिशालीहरुले विलासिताका लागि लाखौं खर्च गर्न पनि प्राथमिकता दिन्छन् तर कमजोर वर्गका लागि नैसर्गिक खर्च पनि फजुल देख्छन् । त्यस्तै भएको छ गोलबजार नगरपालिकामा । सर्वहारावादी कम्युनिष्ट मेयर श्याम कुमार श्रेष्ठले नेतृत्व गरेको गोलबजार नगरपालिकामा ३२ हजार रुपैयाँ विद्युतको महसुल भुक्तानी गर्न नसक्दा विद्यालयको विद्युतको लाइन काटिएको छ । यो विवश,निरीह र नगरपालिकाले उपेक्षा गरेको विद्यालयको नाम हो श्री माध्यमिक विद्यालय गुरुधाम ।

विद्युत काटिएका कारण विद्यालयको बोरिङ्गबाट पानी तान्न सकिएको छैन । खानेपानी नपाउँदा चैतमासको खरो मौसममा ३६० जना बालबालिका पानी खान नपाई प्याकप्याक्ती परेका छन् । विद्यार्थी तथा शिक्षकहरुले शौचालय प्रयोग गर्न कठिनाइ भएको छ । ऐच्छिक कम्प्युटर विज्ञानको प्रयोगात्मक कक्षा पनि बन्द भएको छ । शिक्षक रामभजन महतो भन्छन् विद्यालयमा १० वटा कम्प्युटर छ । कम्प्युटरका विषयगत शिक्षक पनि छन् । ६ देखि ९ कक्षासम्मका बालबालिकालाई अनिवार्य रुपमा कम्प्युटर सिकाइन्थ्यो । १२ दिन भयो , विद्युत काटिएपछि कम्प्युटर विषयको प्रयोगात्मक कक्षा बन्द छ । शिक्षक महतो भन्छन् एकातिर चैते चर्को घाम छ , अर्कोतिर जस्तापाताको छाना छ । छात्रछात्राहरु तिर्खाले काकाकुल हुन्छन् । ससाना बालबालिकाहरु पानी बिना छटपटाएको देख्न नसकेर हामीले विद्युत चोरेर पनि पानी खुवाएका छौं । विद्यालय चलाउन र नानीहरुलाई बचाउन अपराधमा उत्रिनु परेको छ । तर अब धेरै दिन यसरी चल्दैन । विद्यालय नै बन्द हुन्छ ।

विद्यालयको दुरावस्थाबारे जानकारी गराउन फागुन २३ गते विद्यालय व्यवस्थापन समिति र नगरपालिकाका शिक्षा शाखा प्रमुख सहितको बैठक गरिएको थियो । वडाध्यक्ष सुकदेव सिंहलाई पनि आमन्त्रण गरिएको थियो तर उनी बैठकमा उपस्थित भएनन् । विद्यालयको समस्याबारे सबैलाई अवगत गराइयो तर समाधान निस्केन ।

यस सम्बन्धमा दावानलले शिक्षा शाखा प्रमुख सुवोध कुमार लामासँग जिज्ञाशा राख्दा उनले भने शिक्षकहरुले देखाए जस्तो समस्या छैन त्यहाँ । एक सय मिटर पर विद्यालय व्यवस्थापन समितिकै अध्यक्षको इनार छ । त्यसबाट पानी खाए भैहाल्छ नी । लामाले भने अर्को उपाय पनि बताइ दिएको छु । विद्यालय व्यवस्थापन समितिको निर्णय सहित नगरपालिकामा निवेदन भनेको छु । निवेदन आएमा त्यसतर्फ बिचार गरिने छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य पूजन सिंह भन्छन् त्यो इनार सिंचाईको लागि प्रयोग भइरहेको छ । इनारको पानी फोहोर छ । पिउन योग्य छैन । फोहोर पानी बालबालिकालाई पिउन बाध्य गर्न मिल्दैन । बिरामी परे भने कसले जिम्मा लिन्छ ? पानीको अभावमा साना नानीहरुलाई दिइने खाजा कार्यक्रम पनि प्रभावित भएको छ । पानी बिना खाजा कसरी बनाउने र खुवाउने ?

विद्यालयका प्रधानाध्यापक राम उदगार यादव भन्छन् विद्यालयको आयश्रोत लगभग शून्य छ । ३ महिना अघि पनि एक पटक लाइन काटियो । हामीले मेयर साहब समक्ष निवेदन दियौं । उहाँले विद्युत कार्यालयमा फोन गरेर नगरपालिकाले भुक्तानी दिन्छ भनेर लाइन जोडाइ दिनु भयो । मेयर साहवले आश्वासन दिनुभयो , अब उप्रान्त विद्युत महसुल नगरपालिकाले तिर्छ । तर रातो मसीले तोक आदेश गरिएको हाम्रो निवेदन कता अलपत्र प¥यो थाहा छैन । आश्वासन बोलिमा मात्र सिमित रह्यो । विद्युत महसुल भुक्तानी नहुँदा पुन लाइन काटियो ।

वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंहलाई गुरुधाम स्कूलको खानेपानी समस्या र विद्युत महसुलबारे सोध्दा उनले भने हेडमास्टरले जानुन , उनको समस्या हो उनैलाई थाहा होला । म जिम्मा लिन्न । झण्डै तीन महिना अघि लाइन काटिदा विद्यालयका छात्रछात्राहरु वडा नं. २ को कार्यालयमा डेलिगेशन पनि आएका थिए । तर वडाध्यक्ष सिंहले छात्राछात्राहरुको आग्रहलाई पन्छाइ दिएका थिए ।

विद्यालयको समस्याबारे वडा नं. २ का बासिन्दा तथा अगुवा युवा राम नारायण सिंह भन्छन् यो त्यही नगरपालिका र उनै प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी हुन् जसले आफ्ना सानीआमाका छोरा कोभिडले थलिएको बेला ९ लाख रुपैयाँ आर्थिक साहायता दिने भनेर कार्यपालिकाको बैठकबाट निर्णय गराएका थिए । त्यतिबेला लेखा अधिकृतले चेक काट्न नमाने पछि उक्त निर्णय कार्यान्वयन भएन । आफ्नालाई ९ लाख दिन पनि पछि नपर्ने केसीले विद्यालयमा ३२ हजारको बील तिर्न आनाकानी गर्छन । मैनावती नदीमा बिना डिजाइन इष्टिमेट लाखौलाख खर्च गर्न सक्छन् तर विद्यालयलाई सहयोग दिन बाह्र बखेडा झिक्छन् । यो नगरपालिकामा लुट खसोट गर्नेहरुको भिड लागेको छ ।

नेपाली कांग्रेसका युवा नेता शरद राजा शाही भन्छन् नगरपालिकामा वार्षिक लाखौं लाखको मिनरल वाटर ठाडोघाँटी लाउँछन् । नगरपालिकामा ठूलावडाहरुले वियरले कुल्ला गर्छन् र बिल कार्यक्रमहरुमा मिलाएर पेस्छन् । तर बालबालिकालाई पानी खान ३२ हजार विद्युत महसुल तिर्न आनाकानी गर्छन् । पुजीवादीहरुलाई धारे हात लगाउने कम्युनिष्ट मेयरको सुशासन त हेर्नुस् । शाही भन्छन् मेयरको मुलमन्त्र छ कसैलाई नाई नभन्नु । तर झुठो आश्वासन दिएर पाखण्ड देखाउन हुन्न भन्ने कुरा मेयरले आचरणमा उतार्न जरुरी छ ।

२०३७ सालमा स्थापना भएको यस विद्यालयमा १ देखि ९ कक्षासम्ममा ३६० जना बालबालिका अध्ययनरत छन् ।


प्रकाशित : २०८० फाल्गुन २४ बिहीबार