गोलबजार नगरपालिकामा विचित्रको स्थिति पैदा भएको छ । झट्ट सुन्दा पत्यार नलाग्ला तर विश्वसनीय सुत्रहरुले दिएको जानकारी अनुसार गोलबजार नगरपालिकाका योजना शाखा प्रमुख को हुन् भन्ने नगर उप प्रमुख मान्ति साहलाई थाहा भएको छैन । सुत्रका अनुसार अनुगमन समितिका संयोजकका हैसियतले हस्ताक्षर गराउन फाइल लिएर नगर उप प्रमुखको कार्यकक्षमा पुगेका एक कर्मचारीलाई फर्काइएको छ । फाइलमा योजना शाखा प्रमुखको रुपमा आफूले सुन्दै नसुनेको संदिग्ध व्यक्तिको हस्ताक्षर देखेपछि उप प्रमुख साह झस्केकी थिइन् । उनले फाइलमा हस्ताक्षर गर्न मानिनन् । तत्पश्चात उप प्रमुख साहले नगर प्रमुख श्याम कुमार श्रेष्ठलाई फोन गरेर सोधिन, मेयर साहव गोलबजार नगरपालिकाका योजना शाखा प्रमुख को हुन् ? मेयर श्रेष्ठले पनि उनलाई योजना शाखा प्रमुखको नाम बताउन सकेनन् । नगर प्रमुख श्रेष्ठले उप प्रमुख साहलाई भने जे सोध्नु छ हाकिम साहवलाई सोध्नुस् । म काठमाडौंमा छु । नगर प्रमुखको जवाफ सुनेर उप प्रमुख साह आश्चर्यमा परिन् । उनले प्रमुख प्रशासकीय अधिकृतलाई फोन गरेर योजना शाखा प्रमुखको नाम सोध्न उचित ठानिनन् । कार्यपालिकाको बैठकमै सोध्छु र त्यसपछि मात्र अनुगमन समितिका संयोजकका हैसियतमा फइलमा सही गर्ने भन्दै उनले सेवाग्राहीहरुलाई फकाई दिएको एक कर्मचारीले दावानललाई बताएका छन् । नगरपालिका भित्रका विश्वसनीय सुत्रले जानकारी दिए अनुसार प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले हालै योजना शाखा प्रमुख गोप्य रुपमा फेरेका छन् । तर कसलाई नियुक्त गरिएको छ सो कुरा भने गोप्य राखिएको छ ।
गोलबजार नगरपालिकाकी उप प्रमुखलाई थाहा छैन योजना अधिकृत को हुन् ?
प्रकाशित : २०८० फाल्गुन २३ बुधबार