
२०५९ सालमा स्थापना भएको राम प्रताप राम प्रसाद जनता बहुमुखी क्याम्पस गोलबजारको २१ वर्षे आरोह यात्रा अब भने अवरोहतिर डोरिएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरु मध्ये यो क्याम्पस उन्नति गर्नेमा गणना हुन्थ्यो । तर आन्तरिक किचलो, व्यवस्थापनमा कमजोरी र सञ्चालक समितिको अकर्मण्यताका कारण गोलबजार क्याम्पस अधोगतिको मार्गमा अग्रसर भएको छ ।
क्याम्पस प्रमुख किशोर साहको राजिनामा माग्दै १४ जना प्राध्यापकहरुले लिखित ज्ञापन पत्र बुझाएपछि गोलबजार क्याम्पस भित्रका अन्तरद्वन्द्व र वेथितिहरु छताछुल्ल भएको छ । गत फागुन १६ गतेका दिन क्याम्पसमा कार्यरत १९ मध्ये १४ जना प्राध्यापकहरुले क्याम्पस प्रमुख साहको राजिनामा मागेका थिए । असन्तुष्ट प्राध्यापकहरुले राजिनामा माग्नुको पछाडि विभिन्न कारण उल्लेख गरेका छन् । वर्तमान क्याम्पस प्रमुख किशोर साह २०६९ पुषमा क्याम्प प्रमुख पदमा बहाली भएका थिए । लगातार तीन कार्यकाल क्याम्पस प्रमुख चलाएर पनि उनको नियुक्तीको म्याद सकिएको एक वर्ष व्यतित भएको छ । २०७९ पुष मसान्त मै उनको नियुक्तिको म्याद सकिएको हो । असन्तुष्ट प्राध्यापक मध्येका एक हिरेन्द्र विष्ट भन्छन् , कार्यकाल सकिएको एक वर्ष वितिसक्दा पनि उनले न त पुनर्नियुक्ति लिएका छन् न पद छाडेका छन् । उनी अवैध रुपमा क्याम्पस प्रमुखको कुर्सीमा विराजमान छन् ।
क्याम्पस प्रमुख साहको राजिनामा माग्ने प्राध्यापकहरुले साहमाथि संगिन आरोपहरु पनि लगाएका छन् । क्याम्पस प्रमुख साह सिरहाकै विष्णुपुरकट्टी माध्यमिक विद्यालयका शिक्षक हुन् । त्रिभुवन विश्वविद्यालयले विद्यालयका शिक्षकहरुले क्याम्पसमा पनि अध्यापन गर्न नपाउने र दुईतिर अध्यापन गराउने प्राध्यापक भएका क्याम्पसलाई क्यूएए ( क्वालिटी एसुरेन्स एक्रेडिसन ) मा सामेल नगराउने नीति लिएको छ । कम्तीमा ६० प्रतिशत प्राध्यापक र विशेषगरी क्याम्पस प्रमुख पूर्णकालीन सेवामा क्याम्पसमा कार्यरत भएमा मात्र क्युएए को दर्जा दिइन्छ । तर गोलबजार क्याम्पसका प्रमुखनै पूर्णकालीन सेवामा छैनन् । उनी दुईतिर अध्यापन गराइरहेका छन् । जसको कारण यो क्याम्पस क्यूएएमा पर्नै सकेन ।
क्युएए मा नपरेको कारण गोलबजार क्याम्पसलाई ठूलो घाटा लागेको छ । क्युएएमा परेका क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत कै युजिसी ( युनिभर्सिटी अनुदान आयोग ) बाट प्राप्त हुने लाखौंलाख अनुदान कटौति भएको छ । त्रिभुवन विश्वविद्यालयले आफूसँग सम्बन्धन लिएका क्याम्पसहरुलाई २०२७ सम्ममा अनिवार्य रुपमा क्युएउमा सामेल हुन निर्देशित गरेको छ । तोकिएको समयमा क्युएएमा सामेल नभए सम्बन्धनबाट बञ्चित हुन सक्ने स्थिति पनि उत्पन्न हुने भनिएको छ । प्राध्यापक विष्ट भन्छन् क्याम्पस प्रमुखका कारण गोलबजार क्याम्पस क्युएउमा जान सकेन र वार्षिक करोडौं अनुदान पनि गुमाइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयले क्युएएमा सामेल नहुने क्याम्पस र पूर्णकालिन सेवामा प्राध्यापकहरु नरहेका क्याम्पसबाट परीक्षा केन्द्र पनि हटाइ दिएको छ । गत वर्षसम्म गोलबजार क्याम्पसमै परीक्षा केन्द्र थियो । अब उप्रान्त यहाँका विद्यार्थीहरु परीक्षा दिन अन्यत्र जानु पर्ने भएको छ ।
क्याम्पस प्रमुख साहमाथि विद्यार्थीबाट उठेको शुल्क हिनामिना गरेको , थेसिस वापत नाजायज रकम विद्यार्थीहरुबाट लिएको , निजी खातामा रकम ट्रान्सफर गर्न लगाएको जस्ता अनियमितताको आरोप पनि लगाइएको छ ।
यता क्याम्पस प्रमुख साहले आफ्नो राजिनामा माग्नु अनुचित भएको बताएका छन् । उनले भने दुई चार दिन पछि नै सञ्चालक समितिको बैठक हुँदैछ । सञ्चालक समितिले मलाई हट भन्नासाथ म पद छाड्न बाध्य हुन्छु । उनले भने सञ्चालक समितिले नहटाएसम्म पद छोडदिन । यसरी राजिनामा मागेर तेजोबध गर्नु उचित होइन । उनले अनियमितता गरेको आरोपलाई पनि अस्वीकार गरेका छन् ।
यता योलबजार क्याम्पसको सञ्चालक समितिको पनि कार्यवधि समाप्त भएको २० महिना बितिसक्यो । विधान अनुसार २०७९ असारसम्म कार्यवधि तोकिएर चुनिएका क्याम्स सञ्चालन गर्ने मुख्य निकाय सञ्चालक समिति नै अवैध भइसकेको छ । तर सञ्चालक समितिले विधान अनुसार पद छाड्ने वा पुन विधिवत रुपमा अनुमोदन हुने तत्परता नै देखाइरहेका छैनन् । सञ्चालक समितिका सदस्यहरु र क्याम्पस प्रमुख दुवै पक्षको म्याद सकिएका कारण तै चुप मै चुपको स्थिति पैदा भएको छ । अहिले गोलबजार क्याम्पसको विधान संशोधन गर्ने आवाज उठिरहेको छ । तर विधान संशोधन कसले गर्ने ? म्याद गुज्रिएका सञ्चालक समितिले विधान संशोधन गर्न मिल्छ कि मिल्दैन भन्ने बहस सुरु भएको छ । यस्तै स्थिति रह्यो भने क्याम्पसको सम्बन्धन नै अमान्य हुन सक्ने जोखिम बढ्ने छ । सञ्चालक समितिमा सूर्यमान लामा, विश्वनाथ साह, लीलानाथ श्रेष्ठ, मनोज कुमार सिंह , श्याम कुमार श्रेष्ठ , हरिनारायण सिंह, ललित बहादुर थापा , जगत यादव, रञ्जु परियार, विजय साह र नगेन्द्र लामा रहेका छन् ।
यता गोलबजार क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धन तोडेर राजर्षि जनक विश्वविद्यालय अन्तर्गत लैजाने र विएससी एग्रिकल्चर पढाई हुने गरी कृषि क्याम्पसमा रुपान्तरित गर्ने प्रयास भइरहेको कुरा प्रकाशमा आएको छ । सञ्चालक समितिका सदस्य विश्वनाथ साहले बताए अनुसार क्याम्सबाट निर्णय गरेर राजर्षि विश्वविद्यालयमा पठाइ सकिएको छ । छिट्टै विएसीएजी पढाई हुनेछ । यस बारे क्याम्पस प्रमुख साहसँग सोधनी गर्दा उनले पनि राजर्षि जनक विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्न पत्राचार भएको स्वीकार गरेका छन् ।
प्राध्यापक हिरेन्द्र विष्ट भन्छन् त्रिभुवन विश्वविद्यालय धर्ती हो भने राजर्षि जनक विश्वविद्यालय गमला हो । धर्तीसँग नाता तोडेर गमलामा रमाउनु आत्मघाती कदम हो । यो किमार्थ उचित छैन । राजर्षि जनक विश्वविद्यालयको आफ्नो भवन पनि छैन । एउटा विद्यालय जति श्रोत र साधन नभएको विश्वविद्यालयमा सम्बन्धन लिएर के गर्ने ? कहाँ पुगिन्छ ? उनले भने अहिले गोलबजार क्याम्पसमा शिक्षा , मानविकी र व्यवस्थापन संकाय गरी तीन विधामा स्नातकस्तरसम्म पढाई हुन्छ । स्नाकतोत्तरतर्फ एमबिएस , एम.एडमा नेपाली , अंग्रेजी , स्वास्थ्य र जनसंख्या र मानविकीतर्फ समाजशास्त्रमा स्नातकोत्तर अध्ययन अध्यापन हुन्छ । यी सबै संकायमा १८ सय विद्यार्थीहरु हाल अध्ययनरत छन् । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन तोड्न साथ यो सबै गुम्छ । २१ वर्षको मिहिनेत र विपुल लगानीबाट प्राप्त उपलब्धी त्यागेर प्राज्ञिक जनशक्ति उत्पादन गर्ने क्षेत्र छोडेर एउटा बिएसीएजी प्राविधिक कार्यक्रमको लागि राजर्षि विश्वविद्यालयमा जानु भनेको जुवा खेल्नु सरह हुनेछ ।