डिजाइन इष्टिमेट केही छैन , कति बजेट हो भन्ने पनि यकिन छैन , न टेण्डर गरिएको छ न उपभोक्ता समिति गठन गरिएको छ । सम्झौता र कार्यादेश पनि छैन तर सडक मर्मतको ८० प्रतिशत काम सम्पन्न भैसकेको छ । पहिले काम गर्ने पछि कागज मिलाएर भुक्तानी लिने गरी योजना सम्पन्न गरिदैंछ ।
गोलबजार नगरपालिका वडा नं. १० धोवियाधारदेखि पूर्व अशोक गाछी चौक हुँदै बाँधसम्म करिव डेढ किलोमिटर सडक मर्मत कार्य भैरहेको छ । सडक मर्मत कार्य गुञ्जा कन्सट्रक्सन कम्पनी गोलबजारले गरिरहेको छ । तर उक्त सडक मर्मत कार्य कुन विधि र प्रकृयाबाट भैरहेको छ भन्ने कुरा कसैलाई थाहा छैन । सुशासनको मर्म अनुसार आयोजना स्थलमा योजनाको सम्पूर्ण विवरण उल्लेख गरेर होर्डिङ्ग बोर्ड राख्नु पर्ने हो तर राखिएको छैन ।
डेढ किलोमिटर सडक मर्मत कार्य गर्न कि त ठेक्का लगाउनु पर्ने हो वा उपभोक्ता समिति निर्माण गरी योजना सञ्चालन गरिनु पर्ने हो । तर यो सडक मर्मत गर्न बोलपत्र आह्वान गरिएको छैन न त उपभोक्ता समिति नै गठन गरिएको छ । न त दरभाउ पत्र माग गरि कोटेशनबाट काम गराइएको छ । सडक मर्मत गर्नु पूर्व प्राविधिकले डिजाइन र इष्टिमेट तयार गरी प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराउनु पर्ने हो तर आयोजनाको ८० प्रतिशत कार्य सम्पन्न भइसक्दा पनि डिजाइन इष्टिमेट गरिएको छैन । सडक मर्मतका लागि कति बजेट छुट्याइएको हो सो समेत कसैलाई थाहा छैन ।
नगर परिषद्बाट ७० लाख रकम एकमुष्ट नगर भरीका विभिन्न सडक मर्मतको लागि विनियोजन गरिएको छ । यो रकम नगर प्रमुख श्याम कुमार श्रेष्ठको अधीनमा रहेको छ । त्यही बजेटबाट धर्मपुरको सडक मर्मत कार्य भइरहेको छ । तर विधि र प्रकृया विपरीत पहिले काम सम्पन्न गर्ने पछि उपभोक्ता समिति गठन गरी भुक्तानी लिने गरी योजना सञ्चालन गरिएको छ ।
विधि र प्रकृयाले निर्देशित गरे अनुसार सडक मर्मतका लागि छुट्याइएको ७० लाख बजेट टुक्रयाउन मिल्दैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन अनुसार ( २०८०।१०।२० गतेको चलानी नंं ४२२७६ को पत्रानुसार ) तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राललयको मिति २०८०।११।६ को चलानी नंं ३५२ को पत्र अनुासर सडक मर्मतका लागि छुट्याइएको एकमुष्ट रकम खण्डिकरण गरी एकै आर्थिक वर्षमा एउटै व्यक्ति वा फर्मलाई बिना प्रतिस्पर्धा पटक पटक काम दिदा सार्वजनिक खरिद ऐन र नियमको बर्खिलाप हुने र बदनियत हुने देखिएकोले त्यसो नगर्न सचेत गराइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार मर्मत गरिनु पर्ने सम्पूर्ण सडकहरुको एकमुष्ट डिजाइन इष्टिमेट गरेर बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ । तर गोलबजार नगरपालिकाले उक्त निर्देशनको अवाज्ञा गर्दै बिना डिजाइन इष्टिमेट र बिना सम्झौता तथा कार्यादेश नदिई निर्माण कार्य गरे गराएको छ ।
वडा नं. १० का पूर्व वडाध्यक्ष देवनारयाण महतो भन्छन् प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र ठेकेदार विजय साहबीच घनिष्ट तथा अन्योन्याश्रय सम्बन्ध छ । पहिले काम गर्ने र पछि कागज मिलाएर भुक्तानी लिने उनीहरु बीच पहिलेदेखि चलिआएको अभ्यास हो । गोलबजार नगरपालिकामा अहिले फेरि त्यही प्रवृतिको पुनरावृति भएको छ । यो डंका पिटेर गरिएको भ्रष्टाचार हो । हामीले भ्रष्टाचार गर्दा वा कानुन मिच्दा पनि कसैले केही गर्न सक्दैन भन्ने अभिमान हो । यस्तो गैरकानुनी अभ्यासमाथि अख्तियारले तत्काल लगाम लगाउन जरुरी छ ।
माओवादीकी स्थानीय नेतृ अमिता योञ्जन भन्छिन् सडक मर्मतका लागि ग्राभेल ओछ्याउनु पर्ने ठाउँमा घुर्मी नदीको फुको बालुवा ओछ्याइएको छ । स्थानीय जनताको आँखामा छारो हाल्न पानी छरेर रोलर मेसिनले रोलिङ्ग गरिएको छ । पानी सुकेर दुई चार पटक ट्रयाक्टर र गाईवस्तु ओहोर दोहोर गर्नेवित्तिकै रोल गरेको सडकको बालुवा फुस्स भत्किन्छ ।
धर्मपुरको सडक मर्मतबारे गोलबजार नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुसँग प्रतिक्रिया माग्दा फरक फरक व्यक्तिले फरक फरक जानकारी दिएका छन् । एक जनाले दिएको जानकारी अर्कोले दिएको जानकारीसँग मेल खाँदैन । गुञ्जा कन्सट्रकसनका सञ्चालक विजय साहसँग धर्मपुर सडक के आधारमा मर्मत गर्दै हुनुहुन्छ भनेर सोध्दा उनले भने मैले कोटेशन ( दरभाउ पत्र पेस गरेर ) काम गरेको छु । कोटेशनमा काम लिएको छु । काम गर्न कति बजेट स्वीकृत भएको छ र कार्यादेश पाउनु भएको छ कि छैन भनेर सोधनी गर्दा सञ्चालक साहले जवाफ दिएनन् । तर गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीसँग वडा नं. १० धर्मपुरको सडक मर्मत योजना के आधारमा सञ्चालन गरिएको हो भनि प्रश्न गर्दा उनले भने उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिले काम गर्दैछ भन्ने जवाफ दिएका छन् ।
त्यसपछि वडा नं. १० का वडाध्यक्ष उपेन्द्र मुखियासँग हामीले सोध्यौं धर्मपुरको सडक मर्मतका लागि उपभोक्ता समिति गठन भएको हो त ? उनले जवाफ दिए, हाम्रो वडाबाट कुनै उपभोक्ता समिति गठन गरिएको छैन । उक्त सडक मर्मत गर्न कति बजेट हो , कसले के आधारमा काम गराई रहेको छ वडा कार्यालयलाई थाहा छैन ।
त्यसपछि नगर प्रमुख श्याम कुमार श्रेष्ठलाई प्रश्न सोध्यौं धर्मपुरको सडक मर्मत कुन बजेटबाट भइरहेको हो ? उनले जवाफ दिए नगर प्रमुखकै मातहतमा एकमुष्ठ ५० लाख बजेट राखिएको छ । त्यसैबाट सडक मर्मत गरिएको हो । कुन प्रकृयाबाट उक्त परियोजना सञ्चालन भएको हो भन्ने प्रश्नमा नगर प्रमुख श्रेष्ठले भने उपभोक्ता समिति गठन भएर काम अगाडि बढाइएको हो । तर वडा नं. १० का वडाध्यक्ष उपेन्द्र मुखियाले उपभोक्ता समिति गठन भएको छैन भनेका छन् त भनेर प्रश्न तेस्र्याएपछि उनले तत्कालै बोली फेर्दै भने त्यसो भए यस विषयमा हाकिम साहबलाई सोध्नुस् । उनैले बताउनेछन् ।
नगरपालिकाका इन्जिनियर जय किशोर साहलाई ६ वटा प्रश्न एक साथ सोधियो । धर्मपुरको सडकमा कति बजेट छुट्याइएको हो , डिजाइन इष्टिमेट भएको छ कि छैन , कार्यादेश दिइएको छ कि छैन , योजनाको विवरण उल्लेख गरेर होडिङ्ग बोर्ड किन राखिएन , सडक मर्मतका लागि ग्राभेल हाल्नु पर्ने ठाउँमा घुर्मी खोलाको फुको बालुवा किन हालिएको हो ? इन्जिनियर साहले जवाmमा भने, उपभोक्ता समिति गठन भएको होला , म भोलि बुझेर भन्छु । कार्यादेश नलिई काम नगर्नु भनेको छु । कार्यादेश नलिई काम गरिएको रहेछ भने पछि नाप जाँच र मूल्यांकन गर्ने छैन भनि दिएको छु । बाँकी कुरा बुझेर भन्छु । म पनि नयाँ नयाँ आएको छु । धेरै कुरा थाहा छैन ।