गोलबजार नगरपालिकामा ६ इन्चको बोरिङ्गमा गोलमाल ः नगरस्तरीय योजनामा शाहजादाको कमाल

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकामा बोरिङ्ग जडानमा ठूलै घोटाला भएको रहस्य खुलेको छ । दावानलले महिनौसम्म गरेको अनुसन्धानबाट यो तथ्य सप्रमाण फेला परेको छ । आर्थिक वर्ष २०७९÷०८० मा गोलबजार नगरपालिकामा नगरस्तरीय बजेट तथा योजनाबाट ६ इन्च साइजको ३४ थान बोरिङ्ग जडान भएको नगरपालिकाको रेकर्डमा देखिन्छ । सूचना अधिकारी सुवोध कुमार लामाले पत्रकार आशिष विश्वकर्मालाई नगर स्तरीय योजनाबाट ६ इन्च साइजको ३४ थान बोरिङ्ग जडान भएको प्रमाणित गरेर लिखित पत्र दिएका छन् ।
लामाले दिएको रेकर्ड प्रमाणित प्रतिलिपी अनुसार दावानलको अनुसन्धान टोलीले १ देखि १३ वटै वडामा घुमेर ६ इन्चको बोरिङ्ग गन्ति गरेर तस्बिर खिचेको छ । १३ जना वडाध्यक्षहरुसँग फोनवार्ता गरेर ( फोनवार्ता रेकर्डिङ्ग राखेर ) कुन वडामा कति वटा ६ इन्च साइजको बोरिङ्ग जडान भएको हो सो को तथ्याङ्क संकलन गरेको छ ।

 

दावानललाई वडाध्यक्षहरुले दिएको जानकारी अनुसार नगरस्तरीय योजनामा वडा नं. १ मा १ थान, वडा नं. २ मा ४ थान, वडा नं. ६ मा १ थान , वडा नं. ७ मा ४ थान,वडा नं. ८ मा २ थान , वडा नं. ९ मा १ थान , वडा नं. र १० मा ३ थान ६ इन्च साइजको वोरिङ्ग जडान भएको छ । यो संख्या जोडदा जम्मा १६ थान बोरिङ्ग मात्र जडान भएको देखिन्छ । वडा नं. ३,४,५,११,१२ र १३ का वडाध्यक्षहरुको भनाइ अनुसार ती वडाहरुमा नगरस्तरीय योजना अन्तर्गत ६ इन्च साइजको बोरिङ्ग जडान भएकै छैन । पत्रकार विश्वकर्मामार्फत दावानललाई प्राप्त प्रमाणित रेकर्डमा नगरस्तरीय योजनाबाट जडान भएका बोरिङ्ग संख्या ३४ उल्लिखित छ । तर बोरिङ्ग संख्या गिन्ती गर्दा १६ थान मात्र पुग्छ । प्रमाण्ति रेकर्डमा भनिएको छ ,“ हरेक बोरिङ्गमा मोटर जडान भएको छ । ” तर नगर स्तरीय योजनाबाट जडान भएका बोरिङ्गहरुमा कुनैमा पनि मोटर जडान भएको छैन ।
एउटा ६ इन्च साइजको बोरिङ्ग जडान गर्न १० लाखको लागत इष्टिमेट गरिएको छ । यो इष्टिमेटको हिसावले १८ थान जडान नगरिएको बोरिङ्गको लागत रकम रु एक करोड ८० लाख हुन आउँछ । जडान भएका १६ थान बोरिङ्गमा मोटर छैन । ३४ थान मोटरको रकम पनि अपचलन गरिएको देखिन्छ । ५ हर्ष पावरको समरसेवल मोटरको जिल्ला दररेट अनुसार एउटा मोटरको १ लाख ९५ हजारको बिल हालेर भुक्तानी लिइएको छ । जडान नगरिएको बोरिङ्ग र जडान नगरिएको मोटरको रकम गरेर जोडदा करोडभन्दा माथि हिनामिना भएको आशंका देखिन्छ ।
वडाध्यक्षहरुले दिएको जानकारी अनुसार वडास्तरीय बजेटबाट जडान गरिएको ६ इन्च साइजको बोरिङ्ग वडा नं. ७ मा ७ थान , वडानं. ८ मा २ थान र वडानं. ९ मा १२ थान गरी जम्मा २१ थान बोरिङ्ग जडान गरिएको छ । सुत्रहरुले जानकारी दिए अनुसार वडास्तरीय बोरिङ्गहरुलाई पनि नगरस्तरीयमा जोडेर दोहोरो भुक्तानी लिइएको छ । यस कार्यमा नटवरलालको रुपमा उदय भइरहेका नगर शाहजादाको प्रमुख भूमिका रहेको र प्राविधिक कर्मचारी तथा प्रमुख प्रशासकीय अधिकृतलाई झुक्याएर गफलतमा परेर भुक्तानी लिइएको सुत्रहरुको दावी छ ।
यस सम्बन्धमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीसँग बुझ्दा उनले भने नगरपालिकाबाट आर्थिक वर्ष २०७९÷०८० मा वडा र नगरस्तरीय योजना मिलाएर ६ इन्च साइजको जम्मा ३४ थान बोरिङ्ग मात्र जडान भएको छ र त्यतिको मात्र भुक्तानी भएको छ । सूचना प्रदान गर्दा भूलबस नगरस्तरीय योजना लेखिन गएको हो । मैले आफै घुमेर सबै बोरिङ्गहरु गिन्ती गरेको छु ।
वडा र नगर स्तरीय योजनाबाट जडान भएका बोरिङ्गको संख्या गन्ति गर्दा त ३८ पुग्छ त नि ! जति हो त्यति नै हुनुप¥यो , बढ्नु भनेको त घट्नु पनि हो नि ! भनि प्रश्न गर्दा उनले भने वडा नं. २ मा जडान भएका बोरिङ्गहरुको भुक्तानी नभएकोले तथ्यांकमा जोडिएको छैन । ३ वटाको बोरिङ्गको भुक्तानी हुन बाँकी छ । कुम्भिखाडीमा जडान गरिएको बोरिङ्ग उप प्रमुख ज्युले कहाँबाट कुन बजेटले गर्नुभयो उहाँलाई नै सोध्नुस् । मोटर जडान भए नभएको बारे उहाँले केही बताउनु भएन ।


प्रकाशित : २०८० फाल्गुन ११ शुक्रबार