धनगढीमाई नगरपालिकाद्वारा सञ्चालित आँखा शिविरमा हजारौंले पाए उपचार

[sharethis-inline-buttons]

मोतिया विन्दुका अपे्रशन (शल्यक्रिया) पछि आफ्नो दुर–दृष्टिमा सुधार आएकोमा वडा नम्वर ५ जयपुरका ७३ वर्षिय बुद्धिलाल महतोले खुसी व्यक्त गरे । उनले भने, ‘उमेरसँगै मैले टाढादेख्न छोडिसकेको थिएँ। असजिलो गरी जीवन चलिरहेको थियो। शल्यक्रिया पछि अहिले म डाढापनि देख्न सक्ने भएको छु ।’

आर्थिक अभावका कारण आँखाको उपचार गर्न नपाएकी ८० वर्षिय जलेश्वरी देवी कामतीले उपचार पछि ज्योती फर्केकोमा खुशी व्यक्त गरे। उनले भने, ‘राम्रोसँग देख्न छोडिसकेको भएपनि आर्थिक अभावका कारण उपचार गराउन पाईरहेको थिईन, नगरपालिकाले घरमै निःशुल्क उपचार सेवादिएर हाम्रो आँखाको ज्याति फर्र्काएर राम्रो काम गरेको छ ।’
वुद्धिलाल र जलेश्वरी जस्तै जस्तै लगभग ७ हजार नागरिकले आँखा सम्बन्धी फरक फरक समस्याबाट निदान पाएका छन् । आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका धनगढीमाई नगरपालिकाका बासिन्दाहरुले निशुल्क उपचार पाएर लाभाम्वित भएका छन् । धनगढीमाई नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा सञ्चालित आँखा उपचार शिविरमा निशुल्क उपचार सेवा सञ्चालन गरिएको थियो ।
धनगढीमाई नगपालिकाले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा १० दिने आँखा उपचार शिविर सञ्चालन गरेको थियो । विभिन्न कारणले अस्पताल जान नपाईरहेको बेला नगरपालिकाले गाउँमै अप्रेशन सहितको निःशुल्क आँखा उपचार शिविर ल्याएपछि धेरै जनाले उपचार सेवा पाएका छन् ।
एक साताभन्दा लामो समयसम्म चलेको शिविरमा पाँच सय २४ जनाको निःशुल्क आँखा अपरेसन भएको नगरपालिकाका समाजिक विकास शाखाका संयोजक समेत रहेका वडा नम्वर ९ का वडाअक्ष प्रकाश योञ्जनले जानकारी दिए । उनले भने, ‘यो पटक अत्यन्तै राम्रोसँग शिविर सम्पन्न भयो । हामीले तिलगंगा आँखा प्रतिष्ठानलाई बार्षिकरुपमा शिविर संचालन गरिदिन र नगरपालिकामा सर्जिकल सेवा सहितको शाखा खोलिदिन अनुरोध गरेका छौं ।’
नगरको आफ्नै अस्पताल भए पनि शल्यक्रिया गर्न र शल्यक्रियापछि बिरामीलाई आराम गर्ने पर्याप्त ठाउँ नभएकाले धनगढीमाई १० स्थित प्रमुख प्रशासकीय भवनमा उपकरण जडान गरी आँखाका बिरामीको शल्यक्रिया गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख विन्देश्वर प्रसाद यादवले जानकारी दिए ।

यादवले प्रतिष्ठानबाट डा. इन्दिरा पौण्डेलको नेतृत्वमा चार चिकित्सक र २२ जना स्वास्थ्यकर्मी गरी २६ जना र नगरपालिकाले समेत आवश्यक प्राविधिक जनशक्ति परिचालन गरेको बताए ।
शिविरमा नगरका स्वास्थ्यकर्मीहरूले आँखाको बिरामीको मधुमेह र रक्तचाप जाँच्नेबाहेक शल्यक्रियामा प्रतिष्ठानकै चिकित्सक र स्वास्थ्यकर्मीहरूको संलग्नता छ,’ भन्दै पौडेलले भने, ‘शिविरको अन्तिम दिन सम्ममा पाँच सय २४ सयजना बिरामीको शल्यक्रिया गरिएको छ ।’
प्रतिष्ठानबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले गत २५ माघदेखि भवानीपुर, अयोध्यानगर, फुलकहाकट्टी, हनुमाननगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र सर्रे अम्बास, प्राकृतिक अस्पताल र नयनपुर अस्पतालमा बुधबारसम्म आँखाका बिरामीको आँखा जाँच गरी शल्यक्रिया गरिनु पर्ने बिरामी पहिचानका लागि स्क्रिनिङ शिविर चलाएका थिए ।
तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका परियोजना अधिकृत महेश पराजुलीले प्रतिष्ठानको अन्धोपन निवारण गर्ने योजना अनुसार यस वर्ष २४ हजार मोतियाविन्दुको शल्यकृया गर्ने लक्ष्य रहेको बताए । सोही योजना अनुसार धनगढीमाई नगरपालिकाको अनुरोधमा प्रतिष्ठानले यहाँ शिविर सञ्चालन गरेको बताए ।
उनले यो प्रविधि अनुसार अस्पतालमा गएर शल्यक्रिया गराउने हो भने एउटा शल्यक्रियाको अस्पतालले मात्र मात्र करिव १७ हजार रुपैयाँ लिने बताए । अतिनै विश्वसनीय आफ्नै उत्पादित लेन्स र विश्वस्तरको प्रविधि प्रयोग गरेर अप्रेशन भएको पनि उनले बताए ।


प्रकाशित : २०८० फाल्गुन ६ आईतवार