
अभियन्ता तथा पत्रकार रामरिझन यादवले लगडी गदियानी–गोलबजार सडक निर्माणमा ठेकेदारको लापर्वाहीले निर्माणकार्य ढिलोभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
लगडी गदियानी–गोलबजार सडक निर्माणमा तीव्रता ल्याउन माँग गर्दै दुई दिवसीय पैदल यात्राको गोलबजारमा समापन गर्दै यादवले अव ठेकेदारको लापर्वाही सहन नसकिने बताए । उनले दबाबा सृजना गर्नका खातिर लगडी गदियानीदेखि गोलबजारसम्मको पैदल मार्च गरेका छन् । हुलाकी सडक संघर्ष समितिका संयोजक समेत रहेका यादवले गोलबजारमा कोण सभा समेत गरेका थिए ।
दुई वर्षमा कार्य सम्पन्न गर्ने गरी २०७७ भदौमा ठेक्का स्वीकार गरेपनि अहिलेसम्म कलभर्ट निर्माणको कामसमेत सम्पन्न गर्न नसकेको, चार वर्षदेखि यस क्षेत्रको जनताले धूलो र हिलोमा हिड्न बाध्य हुनु परेको यादवले बताए । उनले भने, ‘ठेकेदारले दुई वर्षमा काम सम्पन्न गर्न सकेन, थप ६ महिनाको अवधिमा पनि उनको कामको गति सुस्त रहेको छ । ठेकेदार कामप्रति इमान्दार हुन सकेको छैन । यहि अवस्था अव हामी सहन सक्दैनौं ।’
ठेकेदारले कामको गति नबढाए उनलाई काठमाडौंबाट पक्रेर ल्याएर सिरहा घुमाउने चेतावनी दिए । उनले भने, ‘ठेकेदारको यहि गति रहे हामी उनलाई काठमाडौंबाट ल्याएर गाउँ घुमाउँछौं । अन्यथा उनले कामलाई तीब्रता दिउन । ’
अभियन्ता यादवले यस क्षेत्रबाट जितेका प्रतिनिधीहरुले पनि भोट बैंकको रुपमा मात्र लिएको भन्दै आक्रोस व्यक्त गरे । ‘विश्वानाथ साह र लिलानाथ श्रेष्ठले हामीसँग भोटमात्रै लिने हो ? यहाँको जनताको दुख कष्ट हेर्नु पर्दैन ?’ भन्दै यादवले भने, ‘मत माग्न मात्र हैन यस क्षेत्रको अवस्था नियाल्न तत्काल यस क्षेत्रमा आउनुस् र यो विषयलाई अहिले चलिरहेको संसदमा उठाउन माननीय लिलानाथ श्रेष्ठसँग अनुरोध गर्दछु ।’
यादवले सामान्य वर्षामा पनि यस सडक अन्तर्गत पर्ने गोलबजार, सिरहाका नगरपालिका र अर्नमा गाउँपालिकाका ९ वटा वडाका बासिन्दाले हिलो हिउँदमा धूलोको सामना गर्नु परिरहेको बताए ।
उनले यो भारत सरकारको सहयोगमा निर्माण भईरहेकोले यसमा बजेट अभावको समस्या देखाउनु ठेकेदारको उम्कने कुरा मात्र भएको बताए । उनले अव ठेकेदार कुनैपनि वहानामा उम्कन नपाउने भन्दै निर्माण कार्यलाई तीब्रता नदिए सिंहदरबारसम्म पुग्ने चेतावनी दिए ।
समापन कार्यक्रममा गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहले यो आन्दोलनले मात्र ठेकेदारले नसुन्ने बताए । उनले अव ठेकेदारले कामलाई तीब्रता नदिए सिंहदरमारमै पुग्नु पर्नेमा जोड दिए । उनले भने, ‘ ठेकेदार यो आन्दोलनले गल्ने बाला छैन, सिंह दरमार नै पुग्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था आए म पनि तपाईहरुको साथमा छु ।’
समापन कार्यक्रममा गोलबजार नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सकलदेव यादव, अभियानकर्मी डा. जयनारायण यादव र हरिनारायण यादव लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले तत्काल निर्माण कार्यलाई जोड नदिए आन्दोलन थप शसक्त बनाउने बताए ।