समकालीन भारतीय समाजका सुविख्यात र वागी पत्रकार रविश कुमार भन्छन् “ डरा हुआ पत्रकार मरा हुआ नागरिक पैदा करता है ” । अर्थात पत्रकार स्वयं डराएको छ भने उसले समाजलाई जागृत गराउन कदापी सक्दैन । उल्टो मृत नागरिकहरुको झुण्ड तयार पार्छ ।
यतिबेला छिमेकी मुलुक भारतमा आक्रमक हिन्दूत्वको चादर आढेको भाजपाको राजनीतिक लाइनका प्रणेता नरेन्द्र दामोदर दास मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री छन् । निकट समयमा हुन लागेको निर्वाचनको संघारमा आएर अयोध्याको राम मन्दिर उद्घाटन ( प्राण प्रतिष्ठा ) गरेर मोदीले तेश्रो कार्यकालको लागि अपार हिन्दू भोट सोहोर्ने टिकडम मञ्चन गरिसकेका छन् ।
समकालीन भारतमा मिडियाको दुई खेमा छन् । एउटा खेमा जसलाई रविश कुमारले गोदी मिडिया अर्थात मोदी सरकारले पालन पोषण गरेको मिडिया भन्छन् । भनिएका गोदी मिडियाहरु मूलधारका र ठूला मिडिया हाउस हुन् । रविश भन्छन् गोदी मिडियाको विस्तार व्यापक छ । पूजी , उपकरण , गनिएका र कहलिएका प्रस्तोताहरु , तथा सामाजिक सञ्जालमा करोडौ फलोवर भएका यी मिडियाहरु एक पक्षीय रुपमा मोदीको जयगान गर्न लागेका छन् । यी मिडियाहरुले मोदी भनेको भारत र भारत भनेको मोदी जस्तो भाष्य निर्माण गर्दैछन् । गोदी मिडियाले पत्रकारिताको धर्मलाई चटक्कै बिर्सेर मोदी महिमा मण्डणमा लागेका छन् । यस वापत राज्यको अर्वौ अर्वको विज्ञापन सहज रुपमा पाइरहेका छन् ।
सरकारसँग प्रश्न सोध्ने , सरकारको आलोचना गर्ने र जनताका सवालहरु उठाउने मिडियाको अर्को एउटा धार जसको नेतृत्व रविश कुमार र उनी जस्ता एक दर्जन वागी पत्रकारहरुले गरिरहेका छन् । उनीहरुसँग पत्रिका छैन , टेलिभिजन छैन ,रेडियो वा अनलाइन छैन । किनकि उनीहरुसँग पूजी छैन । सामाजिक सञ्जालको प्लेटफर्म युट्युव चलाएर वागी पत्रकारहरु पत्रकारिता गर्दैछन् । तर उनीहरुको रिपोर्टिङ्ग यति सशक्त र जनपक्षीय छ कि मोदी सरकारको उछितो काढेका छन् । हजारौ गोदी मिडियाहरुले दिनरात मोदीको विरुदावली गाए पनि रविश कुमार जस्ता एक दर्जन पत्रकारले युट्युव रिपोर्टिङ्गबाटै जनताका सवाल उजागर गरिरहेका छन् । मोदी सरकारको गलत नीतिमाथि दरिलो प्रहार गरिरहेका छन् । पत्रकारिताको धर्म पालना गरिरहेका छन् ।
रविश कुमारलाई पत्रकारिताको माध्यमबाट लोकतन्त्रको रक्षा गर्न भारतीय समाजमा विशेष भूमिका खेले वापत अन्तर्राष्ट्रिय म्याग्सेसे पुरस्कार पनि प्रदान गरियो । जव रविश कुमारलाई टेलिभिजनबाट निकालियो उनले एउटा युट्युव च्यानल खोले । उनको युट्युव च्यानलको सब्सक्राइवर एक करोडको हाराहारीमा पुग्न लागेको छ । अहिले उनले युट्युवबाट हुने कमाइबाटै दर्जनौ पत्रकारलाई रोजगारी पनि दिएका छन् । रविश पत्रकार हुन् तर मोदी र उनको गोदी मिडिया विरुद्ध सार्वजनिक मञ्चहरुबाट भाषण पनि गर्छन् । उनलाई पनि पटक पटक ज्यान मार्ने चुनौती नआएको होइन तर उनी निर्भीक भएर सतमार्गमा कटिवद्ध छन् ।
समकालीन भारतमा अर्का एक छन् सरस्वतीका वरद पुत्र सम्पत सरल । उनी व्यङग्यकार हुन् । उनी गद्यमा लेख्छन् । तर उनको व्यङग्यले हास्य मात्र पैदा गर्दैन विकृति र विसंगति माथि बज्रपात नै गर्छ । सम्पत सरल पनि मोदी सरकार विरुद्ध हात धोएर लागेका छन् । एक पटक सम्पत सरललाई सोधियो तपाईँ किन मोदी सरकार विरुद्ध एक पक्षीय रुपमा लेख्नु हुन्छ ? सन्तुलन मिलाएर लेख्नुस् । सम्पत सरलले जवाफ दिए – “म सन्तुलन मिलाउन कै लागि एक पक्षीय रुपमा मोदी सरकार विरुद्ध लेख्छु ” । किनकी अहिले भारतीय लसंसदमा प्रतिपक्ष कमजोर मात्र छैन अपितु नभए सरह नै छ । यस्तो परिस्थितिमा लेखक , कलाकार, पत्रकार र वुद्धिजीवीहरुले सदावहार प्रतिपक्षको भूमिका खेल्नु पर्छ । किनकी लोकतन्त्रलाई जीवित राख्नु छ , प्रतिपक्ष विना लोकतन्त्र जीवित रहँदैन । संसदमा प्रतिपक्ष नहुँदा हामी समाजमा प्रतिपक्षका रुपमा उभिएका छौं ।
लोकतन्त्रमा रविश कुमार र सम्पत सरलहरुको भूमिका पनि आवश्यक पर्छ । बहुलवादी समाजको अवधारणा स्वीकार गरिएपछि खुला समाजको अभ्यास माथि अंकुश लगाउन हुँदैन । भारत्यि कविनागार्जुन तत्कालीन भारतीय समाजका सुविख्यात कवि थिए । तत्कालीन प्रधानमन्त्री जवाहर लाल नेहरुको जन्मदिनको समारोह थियो । ईन्दिरा गान्धी दिनकरलाई बोलाउन आइन् । दिनकरले भने म तिम्रो बुवाको प्रखर आलोचक हुँ । मलाई जन्मदिनको समारोहमा नलैजाउ । तर ईन्दिराले जिद्दी गरिन् जानैपर्छ । कवि दिनकर नेहरुको जन्मदिनको समारोहमा गए । उनले त्यहाँ कविता सुनाए । कविता थियो
“मुल्क बेचकर नेहरु फुला न समाते हैं – फिर भि झुक झुक कर वापुके समाधि पर फूल चढाते हैं । ” तत्कालीन प्रधानमन्त्री नेहरुको जन्मदिनको अवसरमा आफ्नै निम्तालु कवि नागार्जुनले कटाक्षले भरिएको कवितामा उनलाई देश बेचुवा भनिदिए । तर नेहरुले कविता सुने । नागार्जुनलाई धन्यवाद दिए । नेहरुले दिनकरको हात खुट्टा काट्ने , भाँच्ने र आँखा फुटाइ दिने धम्की दिएनन् । नेहरु जस्ता बहुलवाद र बहुदलबाद आत्मसात गरेका प्रधानमन्त्री थिए जसको निष्ठा लोकतन्त्र प्रति थियो । जसले आलोचना सुन्न र सहन गर्न सक्थे । आलोचना सुनेर मनन् गरेर त्यसलाई सम्बोधन गर्थे । जसको परिणामस्वरुप आजको समृद्ध लोकतान्त्रिक भारत र भारतीय समाजले दरिलो जग प्राप्त गरेको छ ।
आज सरस्वती पूजा । सरस्वतीका ज्ञान पिपासु कलमजीवी पत्रकारहरुलाई खास गरी नयाँ पुस्ताका मेरा सहकर्मी मित्रहरुलाई म शुभकामना दिन चाहान्छु । मित्रहरु पत्रकार र पत्रकारिता निरपेक्ष निष्पक्ष हुँदैन । हाम्रो समाज वर्गीय छ । वर्गीय समाजमा अन्याय, अत्यचार , शोषण , दमन र जातीय , वर्गीय, क्षेत्रिय तथा लिंगिय भेदभाव व्याप्त छ । सुशासनको आकांक्षा विपरीत भ्रष्टाचार मौलाएको छ । यस्तो अवस्थामा पत्रकार निष्पक्ष रहनु हुँदैन । कि त पत्रकारले भ्रष्टाचारी शाषकको पक्ष लिन्छ कि सदाचार र सुशासनका लागि कलम चलाउँछ । वागी पत्रकार जनताको मनमा स्थापित हुन्छ । विरुदावली गाउने पत्रकार बालीघरे पत्रकार हुन्छ । पत्रकार सदावहार र रचनात्मक प्रतिपक्षको भूमिकामा उत्रिनु पर्छ । रविश कुमार र सम्पत सरलबाट सिक्ने अवसरहरु हाम्रा सामुन्ने छन् । पत्रकार डरायो भने मृत समाज पैदा हुन्छ ।
सत्यलाई मिठास पोतेर भन्न र लेख्न सकिन्न । किनकि सत्य सधैं नै नाङ्गो हुन्छ । सत्यको जन्मसिद्ध रुप नै नाङ्गो हो । सत्यको मौलिक चरित्र नै नाङ्गो हुन्छ । त्यसकारण सत्य तितो हुन्छ । सत्यले जलन पैदा गर्छ । सत्य सुनेर प्रहार गरे जस्तो चोट अनुभव हुन्छ । झुठमाथि रंगीचंगी कपडा बेर्न सकिन्छ तर सत्यमाथि कपडा बेर्ने प्रयास गर्दा पाखण्ड हुन जान्छ । हो सत्य बोल्दा र लेख्दा अहंकार भने जोडिन हुन्न ।