
दमारको तिर्खा , डिटिएच मेसिन र मेयर श्यामका शाहजादाको व्यापारको नालिबेली
गत साता गोलबजार नगरपालिका वडा नं ३ दमार गाउँको खानेपानीको समस्याबारे दावानलमा समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा क्रिया–प्रतिकृयाको लहर नै चल्यो । कतिपयले आ–आफ्ना पार्टी र नेतृत्वको बचाउ गर्दै स्टाटसहरु लेख्नुभयो । फेसबुक स्टाटसहरुमा दमारको तिर्खाएको कण्ठभन्दा पनि आफ्ना नेताको मान सम्मान र यश अपयश प्रति संवेदनशीलता प्रकट भएको देखियो ।
दावानल टिम पुनः दमार पुग्यो । दमारबासीको पानी पिउने आशा र सपनामाथि कसरी तुषारापात भएको रहेछ त्यसको रुपरेखा खोजी गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा गोलबजार नगरपालिकाले दमारबासीलाई शुद्ध सफा पानी उपलब्ध गराउन रुपैयाँ १० लाख रकम विनियोजन गरेको रहेछ । छुट्याइएको रकमको सही सदुपयोग गर्न पाएको भए निश्चय पनि दमारबासीले आज पानीको भुक्तमान भोग्नु पर्ने थिएन । प्यासो कण्ठ लिएर बाँचनु पर्ने थिएन ।
नगरपालिकाको १० लाख बजेटमाथि मेयरका शाहजादाको गिद्दे दृष्टि परेको थियो । जगजाहेर छ गोलबजार नगरपालिकामा १० लाखभन्दा माथिका अधिकांश परियोजनाहरु क्ुनै न कुनै रुपमा शाहजादाकै हातबाट सम्पन्न भएका छन् । खास गरी बोरिङ्ग जडानका परियोजनाहरुमा कसैले लोभ गर्न पाएनन् । जसको नाममा उपभोक्ता समिति बनेपनि मुख्यतः काम गर्ने शाहजादा नै थिए ।
मीन परियार सोझा युवा जो अहिले वैदेशिक रोजगारमा छन् उनलाई अध्यक्ष बनाएर उपभोक्ता समिति गठन गरियो । तर काम भने शाहजादाले नै गरे । शाहजादाले एउटा डिटिएच प्रणालीको बोरिङ्ग जडान गर्ने मेसिन भाडामा लिएर सञ्चालन गरेका थिए । शाहजादाले त्यही मेसिन दमार पु¥याए ।
डिटिएच प्रविधिको मेसिन २०७२ सालमै असफल प्रणाली घोषणा गरेर त्यसको प्रयोग बन्द गरिएको छ । २०७२ सालमा भूमिगत जल सिंचाई परियोजना लहानले जडान गराएको २७ मध्ये २५ वटा बोरिङ्ग असफल भएपछि डिटिएच प्रणालीलाई अनउपयुक्त भनेर हटाइयो । त्यसपछि रोटरी प्रणालीबाट बोरिङ्ग जडान गर्न थालियो ।
रोटरी प्रणालीमा पहिले बोर गरिन्छ । त्यसपछि लोरिङ्ग गरिन्छ । कम्प्यूटर जडित प्रणालीले तार र विशेष मेसिन बोरभित्र डुवाएर कति गहिराइमा पानीको लेयर ( श्रोत ) छ भनेर पत्ता लगाइन्छ । त्यसपछि सोही मेजरमेन्ट अनुसार फिल्टर काटेर पाइप जडान गरिन्छ । रोटरी प्रणालीमा पानीको सतह भेटिएन भने पनि पाइप नोक्सान हुँदैन । यो प्रणालीबाट ९० प्रतिशत बोरिङ्ग सफल हुने सम्भावना रहन्छ । रोटरी प्रणालीले ५ सय मिटरसम्म गहिरो बोर गर्न सक्छ । तर डिटिएच प्रणाली ८० देखि ९० मिटर गहिराइसम्म मात्र बोर गर्न सक्षम हुन्छ ।
दमारमा रोटरी प्रणालीको मेसिन प्रयोग भएको भए अवश्य बोरिङ्ग सफल हुन्थ्यो र पानी निस्कन्थ्यो । तर शाहजादाको व्यापार चलाउन डिटिएच प्रणालीको मेसिन प्रयोग गरियो । फलतः बोरिङ्ग असफल भयो । आज दमारबासी पानी बिना माछा तडपे जस्तै भइरहेका छन् । दमारकै हाराहारी उचाईमा रहेको मुक्सारमा ओभरहेड ट्यांकीको लागि रोटरी प्रणालीबाट २ सय ५० मिटर बोरिङ्ग जडान गर्दा पानी निस्केको छ ।
शाहजादाले व्यापारमा बठ्याइ पनि गर्नुभएको देखिन्छ । दमार अग्लो स्थान र ढुंगा बढी भएको क्षेत्रमा डिटिएच प्रणाली असफल हुने खतरा शाहजादालाई ज्ञात थियो । त्यसकारण उनले उपभोक्ता समितिलाई नगरपालिकामा निवेदन हाल्न लगाएर ४ लाख ५० हजार रकम पेश्की झिक्न लगाए । नगरपालिकाले हत्तपत्त पेश्की दिँदैन तर शाहजादाको काममा पेश्की रोक्न पनि मिलेन । समितिबाट अग्रिम ४ लाख ५० हजार बुझिलिएका शाहजादाले बोरिङ्ग असफल भएपछि पाइप खरिदको बील हालेर पेश्की फछ्र्यौट गराई दिए ।
शाहजादाले समितिसँग अझै एक लाख तिर्नु पर्छ भनेर मागेका थिए । तर हामी गरिबले कहाबाट तिर्ने भनेर अनुनय गरेपछि शाहजादाले दयाभाव देखाएर माफी गरिदिए र गाउँलेबाट जनसेवी नेताका महान् शाहजादा भनेर जयजयकार पनि गराए । जवकी दुनियँलाई थाहा छ बोरिङ्ग जडान गर्ने कम्पनीहरुले पानी निकालेर सफल बनाएर बोरिङ्ग हस्तान्तरण गरेपछि मात्र भुक्तानी लिन्छन् र पाउँछन् । नपत्याए शाहजादाकै पार्टीका फुलेस्वर नायकलाई सोधौं । उनले असफल बोरिङ्गको भुक्तानी लिदैनन् । सफल बनाएर दिएपछि मात्र भुक्तानी दावी गर्छन् । असफल बोरिङ्गको भुक्तानी लिंदैनन् । शाहजादाले असफल बोरिङ्गको भुक्तानी पनि लिए र जयजयकार पनि गराए । सुकेको कण्ठ लिएर पनि दमारबासी हाम्रा महान् नेता मेयर साहेबको जय र उनका शाहजादाको जय भन्दैछन् । राजनीतिमा कार्यकर्ता दासमा परिणत भएपछि यस्तो विकृत दृश्य देखिन्छ ।