एउटा घरमा एक गाग्री पानीले दिनभरी पु¥याउनु पर्छ । पिउने , भात पकाउने , भाँडा माझ्ने एकै गाग्री पानीले पु¥याइन्छ । यहाँका बासिन्दा महिनामा एक पटक जेनतेन नुहाउछन् । पानीको अभावले बाख्रा बाख्री बेचियो । गोठ शून्य छ । चैत बैशाखमा के गर्ने कसरी बाँच्ने पिर छ ।
गोलबजार नगरपालिका वडा नं. ३ दमार गाउँमा खानेपानीको हाहाकार भएको छ । बाँदरे खोलाको मुहान सुकेपछि त्यहाँबाट पाइपलाइनमार्फत ल्याइएको पानी बन्द भएको छ । बाँदरे खोला स्याप्पै सुकेको छ । खोलाको सिरानबाट ल्याइने पाइपबाट पानीको धारा तोरी पेल्ने कोल्हुबाट तिरिरी तेल झरे झैं झर्छ ।
पँधेरोमा भेटिएकी सुनिता परियार एक भाँडो पानी थाप्न एक घण्टादेखि उभिएकी थिइन् तर उनको भाँडोमा पानी आधा जति मात्र भरिएको थियो । सुनिता भन्छिन् पानीको यस्तो हत्ते भयो । एक गाग्री पानी थाप्न एक घण्टा हिँडेर आउनु पर्छ । दुई घण्टा पानी थाप्न उभिनु पर्छ । झन् धेरै जना भयो भने पालो कुर्दा अर्को दुई तीन घण्टा थपिन्छ । उनले थपिन , न मरी जानू न गरी खानू भयो हामीलाई । पानी बिना काकाकुल भयौं ।
५० वर्षिय सीता परियारको गोठ रित्तै छ । उनले बाख्रा बाख्री बेचिन् । किनकी वस्तुभाउलाई खुवाउने पानी नै छैन । उनले भनिन् , मान्छेलाई खान त पानी छैन , बाख्रालाई के खुवाउनु ? एक गाग्री पानीले पिउने, भात पकाउने र भाँडा माझ्ने सबै पु¥याउनु पर्छ । उनी भन्छिन् , बस्तीमा खानेपानीको हाहाकार छ ।
२५ वर्षिय दीपक परियार घरबाट ३ किलोमिटर हिँडेर पानीको धारामा आइपुगे । बिहान ६ बजे आएका उनले मध्यान्ह १२ बजेसम्म एक भाडा पानी थापेर नुहाउन पाए । परियार भन्छन् एक भाडा पानी ल्याउन आधा दिन समय जान्छ । परिवारका एक जना त पानी ओसार्न मै ठीक्क हुन्छ । पत्रकारहरुले हाम्रो दुःख नगर प्रमुख र उप प्रमुख समक्ष पु¥याई दिनुस् । बाँदरे खोलाको मुहान सुकेर पानी आउन बन्द भएपछि दमार गाउँ दुःखमा डुबेको छ ।
दमारमा ४०–५० घरधुरीको बसोबास छ । यहाँका बासिन्दा पानी बिना काकाकुल भएका छन् । ३५ वर्षिय सरी लामा भन्छिन् एमालेलाई भोट दिनुस् घर घरमा धारा खसाई दिन्छौ भनेका थिए । तर चुनाव जितेपछि उनीहरु ठूलो मान्छे भए । हाम्रो दुख देखेनन् । अहिलेहामीले पुरानडिह , बाँदरे खोला र छिपछिपे खोल्सा धाएर फोहोर पानी खानु परेको छ ।
६० वर्षिय जित बहादुर लामा भन्छन् हामीलाई भोट दिनुस् , जितेपछि बोरिङ्ग र इनार दिन्छौ भनेका थिए । तर अहिले हामीले पानीको यो दुःख खपेका छौं । पुरानडिहबाट पानी ओसारेर खाएका छौं ।
पुरानडीहमा समर बहादुर विश्वकर्माको आँगनमा निजी इनार छ । विश्वकर्मा भन्छन् जेनतेन खान र नुहाउन मात्र पानी पुग्छ । १५ घरलाई मैले निशुल्क पानी दिएको छु ।
सुनिता परियार भन्छिन् चैत बैशाखसम्ममा यो तिरिरी धारा पनि सुक्छ । त्यसपछि झन् जिउनै कठिन हुन्छ । ३ घण्टा हिँडेर माथी चुरेको फेदीमा पुग्नुपर्छ । त्यहाँ एउटा कुँवा छ । त्यहीँबाट पानी ल्याउनु पर्छ ।
द्यमारमा पानीको हाहाकार बारे स्थानीय युवा अगुवा दीपेश लामासँग प्रतिक्रिया माग्दा उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएको एक दशक हुन लाग्दा पनि जनताले खानेपानी नपाउनु राज्यका सयन्त्रहरुको नालायकीपन हो । उनले भने विकास र वर्गीय प्राथमिकता बारे थोरै पनि संवेदनशील नभएका व्यक्तिहरु राजनीतिका हर्ताकर्ता भए । राज्यका श्रोत जति माथिल्लो वर्ग कै हितमा प्रयोग भयो । निम्छरा सर्वहारा वर्ग र देहातका बासिन्दा भोट दिने प्राणी मात्र ठानियो ।
वडा नं. ३ का वडाध्यक्ष धन प्रसाद लामालाई दमारमा पानीको हाहाकार बारे प्रश्न गर्दा उनले भने दमार गाउँका लागि संघीय सरकारबाट ८० लाख बजेट आएको छ । अब छिट्टै टेण्डर हुन्छ र खानेपानीको ट्यांकी निर्माण हुन्छ । गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले पनि दमारमा छिट्टै खानेपानीको सुलभ व्यवस्था गर्ने बताए ।