गोलबजार नगरपालिकामा मेयरका शाहजादाद्वारा ब्रह्मलुट भ्रष्टाचार ःएउटा कामको लागि तीन पटक भुक्तानी

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकाको सरकारी बजेट नातागोताका लागि हुर्रादान ( भिडमा पैसा फालेर जसले लुट्न सक्छ लुट भने जस्तो ) भएको छ । भ्रष्टाचारको दुर्दान्त कथाको रुपमा यस्तै एउटा रहस्य खुलेको छ । दावानल टिमले महिनौसम्म अनुसन्धान गरेर यो टिठलाग्दो भ्रष्टाचारलाई छताछुल्ल बनाउन सफल भएको छ ।

आर्थिक वर्ष २०७९÷८० को असार पहिलो सातामा नै गोलबजार नगरपालिका वडा नं. १० मा मेयर श्याम कुमार श्रेष्ठका शाहजादाले प्रदेश सरकारको बजेटबाट २५ लाख खर्च गरेर ६ इन्च साइजको ३ थान बोरिङ्ग जडान गराए । नगर स्तरीय योजना अन्तर्गत बोरिङ्ग रञ्जित यादव , विजय प्रसाद यादव र रमेश श्रेष्ठको खेतमा जडान गरियो । चाखलाग्दो कुरा के छ भने पहिले बोरिङ्ग जडान गरियो त्यसपछि उपभोक्ता समिति निर्माण गरियो । जव उपभोक्ता समिति निर्माण गरी पठाउन नगरपालिकाले १० नं. वडा कार्यालयलाई पत्र पठायो , बल्ल गाउँलेलाई थाहा भयो बोरिङ्गको विकास आएको रहेछ तर आ–आफ्नाको भागमा परिसकेछ । जडान पनि भइसकेको रहेछ ।

एउटा बोरिङ्ग वडा सदस्य हरिनारायण यादवको खेतमा जडान भयो । उनले गाउँलेलाई उपभोक्ता समिति गठन गर्न सघाउन अनुनय विनय गरे । गाउँलेले पहिले बोरिङ्ग जडान गरेर अनि उपभोक्ता समिति गठन गर्ने कुरा हामी मान्दैनौ भनेर अड्डी लिए । बैठकमा होहल्ला र बिबाद पनि भयो । कोही उठेर हिँडे । कसै कसैले हस्ताक्षर गरिदिए । कतिपयको किर्ते हस्ताक्षर गरियो । वडाध्यक्षले उपभोक्ता समिति गठन गरिएको माइन्युट प्रमाणित गरी पठाइदिए । समितिका अध्यक्षमा वडा सदस्य हरि नारायण यादवका छोरा रञ्जित यादव चयन भए ।

बोरिङ्ग जडान भइसकेको थियो । उपभोक्ता समिति पछि बन्यो । डिजाइन , इष्टिमेट सबै पछि तयार पारियो । मेयरका शाहजादा नै भएपछि कागज पत्र मिलाउन समस्या भएन । असार २४ गते भुक्तानी पनि भयो । उपभोक्ता समितिका अध्यक्ष रञ्जित यादव भन्छन् , हामीलाई भनियो प्रदेश सांसद मनोज कुमार सिंहको संसदीय कोषको बजेटबाट बोरिङ्ग जडान भएको हो तर भुक्तानी गोलबजार नगरपालिकाबाटै भयो ।

यी तीन वटा बोरिङ्ग डिटिएच प्रविधिबाट जडान भएका हुन् । ८५–८६ मिटर गहिराईमा जडान भएको यी बोरिङ्गहरुको कुल गहिराई जोडदा २५८ मिटर हुन्छ । डिटिएच प्रविधिमा प्रति मिटर ५ हजारमा बोरिङ्ग जडान खर्च लाग्छ । हिसाव गर्दा १२ लाख ९० हजार हुन आउँछ । २५ लाख बजेटमा १३ लाख हाराहारी खर्च भएको छ तर यी तिनवटै बोरिङ्गमा बजेटले भ्याएन भनेर मोटर दिइएको छैन । सुत्रहरुको दावी छ मोटरको समेत बील हालेर भुक्तानी लिइएको छ । ं

तत्पश्चात एक दिन ( असार १८ गते ) अचानक गोलबजार नगरपालिकाले इमेलमार्फत वडा नं. १० को कार्यालयलाई एउटा पत्र फेरि पठायो । पत्रमा प्रदेश सरकारको ४० लाख बजेटबाट बोरिङ्ग जडान , विद्युतीय समरसेवल मोटर , सिंचाई मिटर र विद्युतीकरणका लागि उपभोक्ता समिति गठन गरि पठाइदिनु भनिएको थियो । निर्देशनानुसार वडा नंं १० ले असार १९ गते नै बसन्त लामाको अध्यक्षतामा अर्को उपभोक्ता समिति गठन गरेर प्रमाणित गरि पठायो ।

१९ गते साँझपख मेयर दरवारमा छलफल चल्यो । मेयरका शाहजादाले बसन्त लामा विश्वसनीय व्यक्ति होइनन् , समितिका अध्यक्ष फेर्नुपर्छ भनेपछि फेरि अर्को माइन्युट लेखियो । त्यो माइन्युटमा उपभोक्ता समितिको अध्यक्षमा वडा नं. ६ का श्याम सुन्दर यादवलाई राखियो । बसन्त लामालाई सदस्य पदमा राखियो । बसन्त लामा भन्छन् पहिले अध्यक्ष पदमा माइन्युट भएको थियो पछि त सदस्यमा झारेछन् । अनि मैले हस्ताक्षर गरिन । छोडेर आएँ ।

बसन्त लामा हस्ताक्षर नगरी फर्किए पछि श्याम सुन्दर यादवलाई समितिका अध्यक्षका रुपमा हस्ताक्षर गर्न बोलाइयो । उनी मेयर दरवारमा हाजिर भए । तर अध्यक्ष पदमा बस्न मानेनन् । श्याम सुन्दर भन्छन् , त्यसपछि एमालेका नगर कमिटी अध्यक्ष राज किशोर सिंहका भतिजा सरोज सिंहलाई अध्यक्ष र म श्याम सुन्दर यादवलाई सचिव बनाएर उपभोक्ता समिति गठन गरियो । यो उपभोक्ता समिति वडा नं. ७ बाट गठन भयो । वडा नं. ७ का वडाध्यक्ष हरिसरण ठाकुरले पनि राजकिशोर सिंहका भतिजा सरोज सिंहको अध्यक्षतामा समिति गठन भएको स्वीकारे ।

श्याम सुन्दर यादव भन्छन् , मलाई भोगेन्द्र यादव लिन आए । भिनाजु सचिवमा बसिदिनुहोस् भनेर अनुरोध गरे । बोरिङ्ग जडान गर्ने योजना हो भनेका थिए । मैले सही गरिदिएँ । कति बजेट थियो , कहाँ कहाँ बोरिङ्ग जडान भयो मलाई केही थाहा छैन । तीन चार दिन पछि चेक लिएर आए , मसँग सही गराएर लगे । कति पैसा झिके त्यो पनि थाहा छैन । के के काम गरे मेयर साहेबका छोरालाई थाहा होला ।

वडा नं. १० का वडाध्यक्ष उपेन्द्र मुखिया भन्छन् हामीले बसन्त लामाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर पठाएकै हो तर उक्त समितिलाई प्रयोगमा ल्याइएन । कारण मलाई पनि थाहा छैन । अन्य कुन कुन समिति कहाँ कहाँबाट बनाइयो र कसरी भुक्तानी भयो मलाई केही थाहा छैन ।

त्यसपछि फेरि अर्को जुक्ति निकालियो । वडा नं. ७ का वडाध्यक्ष हरिसरण ठाकुरलाई बोलाइयो । गोप्य रुपमा तेश्रो उपभोक्ता समिति गठन गरियो । वडा नं. १० कै बासिन्दा भोलामान तामाङ्गको अध्यक्षतामा असार १९ गतेको मितिमा उपभोक्ता समिति गठन गरियो । वडाध्यक्ष हरिसरण ठाकुर भन्छन् नगरपालिकाको पत्रानुसार उपभोक्ता समिति गठन गरेर पठाइ दियौं । ठाकुर भन्छन् , त्यसमा ४ वटा वडाहरुमा बोरिङ्ग जडान गर्ने र विद्युतीय मोटर जडान गर्ने उल्लेख थियो ।

प्रदेश सरकारबाट प्राप्त बोरिङ्ग जडानका लागि ४० लाख बजेट नगरस्तरीय योजना अन्तर्गत राखिएको थियो । त्यसैगरी नगरपालिकाको बजेटबाट विद्युतीय मोटर खरिदका लागि ३० लाख रकम छुट्टयाइएको थियो । उक्त दुवै बजेट मेयर श्याम कुमार श्रेष्ठको स्वविवेकमा योजना सञ्चालन हुने गरी राखिएको थियो । वडा नं. ७ बाट गठन भएको दुवै उपभोक्ता समितिमा को–को थिए भन्ने कुरा अति गोप्य राखिएको थियो । दावानलले अनुसन्धान पश्चात रहस्योदघाटन गर्न सफल भएको छ ।

असार १९ गते वडा नं. ७ बाट दुईवटा उपभोक्ता समिति गठन भयो । असार २२ गते ४ वटा बोरिङ्ग जडान , विद्युतीय समरसेवल मोटर खरिद र जडान जस्ता सबै काम सम्पन्न भएको र भुक्तानी दिनु भन्ने ब्यहोराको सिफारिस पठाइदिनु भन्ने पत्र वडा कार्यालयमा पठाइयो । ७ नं. वडा कार्यालयले पनि सो अनुसार दुवै उपभोक्ता समितिले सम्झौता पत्र र कार्यादेश बमोजिम तोकिएको सबै ( ४ वटा बोरिङ्ग जडान भएको र मोटर समेत ) जडान भएको भन्दै प्रतिवेदन र सिफारिस पठायो । असार २४ गते सरोज. सिंह अध्यक्ष र श्याम सुन्दर यादव सचिव रहेको उपभोक्ता समितिमार्फत ४० लाखको बजेटमा बोरिङ्ग जडान भएको फर्जी परियोजना सम्पन्न भएकोमा भुक्तानी निकालियो । त्यसैगरी असार २४ गते नै भोलामान तामाङ्ग अध्यक्ष रहेको उपभोक्ता समितिमार्फत ३० लाख रकम निकासा लिइएको छ । विद्युतीय समरसेवल मोटर खरिद गरेको बील संलग्न गरेर यो भुक्तानी लिइएको हो ।

उपभोक्ता समितिको अध्यक्ष भोलामान तामाङ्ग भन्छन् प्रदेश सरकारले हामीलाई अघिल्लो वर्ष मै एउटा बोरिङ्ग जडान गरिदिएको थियो । त्यसमा १५ हर्षपावरको मोटर थियो । त्यति धेरै पावरको मोटर बोरिङ्गले थाम्न सकेन । अनि १५ हर्षको मोटर नगरपालिकाले झिकेर लग्यो र सट्टामा हामीलाई एउटा ७ हर्षपावरको मोटर दियो । अरु केही थाहा छैन । कति बजेट थियो , कतिवटा मोटर किने र कहाँ कहाँ दिए मलाई थाहा छैन । चेकमा सही गराएर लगे । पैसा कसले झिक्यो त्यो पनि थाहा छैन । मेयर साहेब र उनकै छोरालाई थाहा होला ।

सुत्रको दावी अनुसार एउटा मुर्गी ( कुखुरा ) तीन पटक हलाल गरियो । फिल्ड भ्रमण र उपभोक्ता समितिका अध्यक्ष तथा सचिवहरु भनाइ सुन्दा बुझ्दा वडा नं. १० मा जडान भएको तीन थान बोरिङ्गलाई देखाएर दोहोरो र तेहरो भुक्तानी निकालिएको छ । ४० लाखको परियोजना अन्तर्गत ४ वटा बोरिङ्ग पनि शाहजादामार्फत नै कागजमा मात्र सम्पन्न गरियो । कामै नगरी रुपैयाँ ४० लाख रकम ऊँ शाहजादाय दुर्दान्त भ्रष्टाचाराय नमः भयो । अर्को मोटर खरिदका लागि ३० लाख रकम कतै –कुनै पनि बोरिङ्ग, मोटर र मिटर जडान नगरी शाहजादाले हजम पारे । भ्रष्टाचारको यस्तो दुर्लभ र दुर्दान्त कथा अन्यत्र कतै सायदै भेटिएला । गोलबजार भने बग्रेल्ती छ ।

वडा नंं १० मा ३ वटा ६ इन्च साइजको बोरिङ्ग जडान गरिएको छ तर कुनै बोरिङ्गमा विद्युतीकरण गरिएको छैन । सिंचाई मिटर जडान गरिएको छैन र समरसेवल मोटर पनि दिइएको छैन । त्यसैगरी अन्य परियोजनाबाट अघिल्ला वर्षहरुमा वडानं. ७ र ९ मा पनि जडान भएका बोरिङ्गहरुमा मोटर र मिटर दिइएको छैन । प्रायजसो बोरिङ्गहरु गाईवस्तु बाँध्ने किलो जस्तो ठिङ्ग उभिएर प्रयोगविहीन रहेको छ ।

२०८०।३।१९ मा नामका लागि दुईवटा उपभोक्ता समिति गठन गरी डिजाइन र इष्टिमेटमा तोकिएको कुनै पनि कार्य नगरी २०८०।३।२४ गते नै ४० लाख र ३० लाख गरी ७० लाख रुपैयाँ भुक्तानी लिइएको छ । एउटा परियोजना अन्तर्गत जडान भएको बोरिङ्गहरु द्येखाएर दोहोरो र तेहरो भुक्तानी लिइएको छ । मोटर खरिदका लागि भुक्तानी भए पनि कुनै पनि बोरिङ्गमा हालसम्म मोटर जडान गरिएको छैन । प्रदेश सरकारबाट प्राप्त ४० लाख र नगरपालिकाको ३० लाख बजेट स्वयं मेयर श्याम कुमार श्रेष्ठको नियन्त्रणमा थियो । यो बजेट एउटै कामका लागि दोहोरो र तेहरो भुक्तानी लिई कामै नगरी पूर्णतया अपचलन गरिएको छ ।

गोलबजार नगरपालिकाले सहज रुपमा यो भ्रष्टाचारको कथालाई सत्य स्वीकार गर्दैन । तर नगरपालिकाले दावानलको यो अनुसन्धानमूलक समाचारलाई असत्य सावित गर्न निम्न प्रश्नहरुको जवाफ दिन जरुरी छ ? यदी प्रदेश सरकारको सिंचाई प्रयोजनका लागि ४० लाख र नगरपालिकाको ३० लाख बजेट थियो भने बैशाख वा जेठ महिनामै किन उपभोक्ता समिति गठन गरिएन ? किन बजेट लुकाएर राखियो ? आर्थिक वर्षको अन्तिम समयमा असार १८ गते ५ बजेर ५ मिनट जाँदा वडा नं. १० लाई उपभोक्ता समिति गठन गरि पठाउनु भनेर किन पत्र पठाइयो ? बसन्त लामाको अध्यक्षतामा वडा नंं १० मा गठन भएको उपभोक्ता समितिलाई प्रयोगमा किन ल्याइएन ? किन त्यो समितिलाई निस्तेज र मृत बनाइयो ? नगरपालिकाको बदनियत थिएन भने बसन्त लामाको अध्यक्षतामा रहेको समिति निस्तेज गरेर सरोज सिंह र भोलामान तामाङ्गको अध्यक्षतामा र सरोज सिंहको अध्यक्षतामा वडा नं. ७ बाट अर्को दुई वटा समिति किन गठन गरियो ? वर्षाको बेला खेत खेतमा र सडक बाटोमा पानी तथा हिलो भएको बेला बोरिङ्ग जडान गर्ने मेसिन कसरी छि¥यो ? असार १९ गते उपभोक्ता समिति गठन गरेर असार २२ गते मात्र ४ दिनमा ६ इन्च साइजको पावरड्रिल ४ वटा बोरिङ्ग कसरी जडान गर्न कसरी भ्याइयो ? के यो सम्भव छ ? असार २२ मा काम सम्पन्न भएको प्रतिवेदनसहित भुक्तानी सिफारिस किन र कसरी दिइयो ? ६ , ७ ,८ र १० नं. वडाका लागि एउटै उपभोक्ता समिति किन गठन गरियो ? फरक फरक वडामा फरक उपभोक्ता समिति किन गठन गरिएन ? वडा नं. ६ बाट सचिवमा श्याम सुन्दर यादवलाई किन राखियो जवकि त्यहाँ त बोरिङ्ग जडानको परियोजना नै थिएन ? भोलामान तामाङ्गको बोरिङ्गबाट झिकेर ल्याइएको १५ हर्षपावरको विद्युतीय समरसेवल मोटर खोई ? नगरपालिकाको जिन्सी किताबमा किन आम्दानी बाँधिएन ? त्यो १५ हर्षको मोटर कसले बेचेर खाएको छ ? यस्ता थुप्रै प्रश्नहरु उब्जिएका छन् र अनुत्तरित नै छन् । दावानल अनलाइनको कामना छ यो अनुसन्धानमूलक समाचार सत्य नभइदियोस् । तर त्यसको लागि नगरपालिकाले उपरोक्त अनुत्तरित प्रश्नहरुको जवाफ जनसमक्ष सप्रमाण स्पष्ट पारोस् ।

घत लाग्दो र अत्यन्त दुखलाग्दो पक्ष त के छ भने यो निर्लज्जतापूर्ण भ्रष्टाचारमा ्कानुनको फन्दामा फस्यो भने सोझासाझा गौप्राणी श्याम सुन्दर र भोलमानहरु फस्न सक्छन् । भ्रष्टाचारका नाइके मेयरका शाहजादाको त कतै हस्ताक्षर नै छैन । उनलाई १२ हातको टाङ्गले पनि भेट्दैन । नगरवासी सचेत हुन जरुरी छ । गोलबजार नगरपालिकामा अर्को एक नटवरलालको उदय हुँदैछ ।


प्रकाशित : २०८० माघ २४ बुधबार