कारवाहीबाट उन्मुक्ति पाउन मैनावतीको कथित पुल ( मचान ) मा युद्धस्तरमा काम थालियो

[sharethis-inline-buttons]

६ वर्ष अघि गोलबजार नगरपालिका वडा नं. ८ चोहर्वा स्थित मैनावती नदीमा एउटा अचम्मको पुल निर्माण गरिएको थियो । पुलको निर्माता हो गोलबजार नगरपालिका । नेतृत्वमा थिए तत्कालीन मेयर देवनाथ साह र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी । यो पुल स्थानीय जनताका लागि बाँदरको पुच्छर लौरो न हितियार सावित मात्र भएन अपितु नेपालको सञ्चार माध्यममा असफल र अविवेकी विकास भनेर समाचार पनि बन्यो ।

कुरो २०७५ साल कैे हो । मैनावती नदीमा कजवे बनाउन गोलबजार नगरपालिकामा १८ लाख बजेट विनियोजन भएको थियो । तत्कालीन वडाध्यक्ष नागेन्द्र कुमार सिंहले कजवे निर्माण गर्न उपभोक्ता समिति गठन गर्ने प्रकृया आरम्भ गरेका थिए । तर हठात मेयर देवनाथ साहले उनलाई रोके । मेयर साहले कजवे होइन पुल बनाउने भनेर प्रस्ताव मात्र राखेनन् , आफ्नो प्रस्ताव लागू गर्न जिद्दी गरे ।

पुल बन्यो । एक सय मिटर भन्दा अधिक चौडा नदीमा जम्मा ३० फिट लम्बाई , ८ फिट चौडाई र ५ फिट उचाईको पुल बन्यो । वास्तवमा यो पुल होइन कंक्रिटको मचान बन्यो । यो पुल स्थानीय जनताको उपयोगमा आएन । मैनावतीको बाढी बनेको मचान साइजको पुल भन्दा पूर्व र पश्चिमबाट बग्न थाल्यो । नदीको बीचमा मचाने पुल निष्प्रयोजन ठिङग्रिङ्ग उभिरहेको छ । यो पुल सारा नेपालमा हसी मस्खरी गर्ने समाचारको विषय बन्यो । गोलबजार नगरपालिका र यहाँका इन्जिनियरलाई धेरै धिक्कार गरियो ।

गोलबजार नगरपालिकाका तत्कालीन इन्जिनियर सन्तोष कुमार यादवले यति थोरै बजेटमा पुल बन्दैन भनेर रोके । तर मेयर साहले मानेनन् । इन्जिनियर यादव भन्छन् , ‘ कुनै पनि व्यवसायिक इन्जिनियरले यसरी अविवेकी डिजाइन इष्टिमेट गर्दैन । दबाबकै कारण प्राविधिकहरुले मैनावती पुल जस्तो असफल योजनाको डिजाइन बनाउँछन् । ’ १८ लाखमा कलभर्ट बन्दैन पुल बनाउने डिजाइन इन्जिनियरले बनाउने कल्पना पनि गर्दैनन् –इन्जिनियर यादवको भनाइ छ ।

पुलको डिजाइन इष्टिमेट र खर्चमा गडवडी छ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । अख्तियारले स्थलगत निरीक्षण गरेर छानविन थाल्यो । पुल निर्माणमा संलग्नहरुलाई बोलाएर अख्तियारले वयान पनि लिएको छ । अख्तियारले पुल निर्माणमा संलग्नहरुलाई जिम्मेवार ठह¥याएर अदालतमा मुद्दा हाल्ने सम्भावना प्रवल छ ।

यसै बीचमा सरुवा भई अन्यत्र गएका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी पुन फर्किएर गोलबजार नगरपालिकामा आएका छन् । सुत्रहरुको भनाइ अनुसार उनी माथि दर्जनौ उजुरी छ । ती उजुरीहरुबाट पार पाउने उद्देश्यका साथ कागज पत्र मिलाउन र अधुरो काम पूरा गर्न नै उनी पुन गोलबजार आएका हुन् । गत पुष २९ गते भएको दशौं नगर परिषद्बाट मैनावती पुलको लागि फेरि ५० लाख बजेट छुट्टयाइएको छ । बजेट मात्र छुट्याइएन अपितु युद्धस्तरमा काम पनि थालिएको छ ।

माघ १५ गते गोलबजार नगरपालिकाका इन्जिनियर जय किशोर साहसहितका प्राविधिकहरुले पुलको नाप जाँच गरेका थिए । माघ १९ गतेदेखि निर्माण कार्य आरम्भ भएको छ । अहिले प्लष्टिकका बोरामा बालुवा भेर पुलको पश्चिमी किनारमा बाँध बनाइदैछ । पुलको बीचोबीच दक्षिणतर्फ स्काभेटर लगाएर नदीलाई झन् गहिरो पारिदैछ । खनिएको स्थानको बालुवा पश्चिमतर्फ हालेर बाँध बनाइदैछ ।

तत्कालीन वडाध्यक्ष नागेन्द्र कुमार सिंह भन्नुहुन्छ , ‘वडाको योजना र बजेट तथा इन्जिनियरको डिजाइन इष्टिमेटमा नगर प्रमुखले अनुचित हस्तक्षेप गर्नुभयो । ’ नगर प्रमुख ज्यु पटक पटक वडामा आउनुभयो । दबाब दिएर योजना र डिजाइन परिवर्तन गर्न लगाउनु भयो । वडाध्यक्ष सिंह भन्छन् , ‘ हामीले कज–वे नै बनाउने भनेका थियौं तर नगर प्रमुखको जिद्दीले योजना परिवर्तन भयो । कज–वे बनाउने स्थानमा पुल बनाउन लगाउनु भयो ।

पुल असफल र निष्प्रयोजन भए पछि विभिन्न सञ्चार माध्यममा समाचारको शीर्षक बन्यो । वडाध्यक्ष सिंह भन्नुहुन्छ, ‘नगर प्रमुख , उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर निरीक्षण गर्न आउनुभयो । यो पुलमा बजेट थप गरेर पूर्व पश्चिम अझै बिस्तार गरेर प्रयोगमा ल्याउने र त्यसका लागि नगरस्तरीय योजनाबाट बजेट थप गर्ने आस्वासन दिनुभयो । तर त्यसपछि तीन आर्थिक वर्ष बित्यो । हामीले वडाबाट निकै घच्घच्ययौं तर सुनुवाई भएन । ’ अहिले अख्तियारले डाम्ने भएपछि घैंटोमा घाम लागे जस्तो छ ।

नेपाली कांग्रेसका युवा नेता सुरेश कुमार साह भन्छन् , “पहिले बालुवामा पानी खन्याइयो । अब त्यो गल्तीलाई ढाकछोप गरेर कारवाहीबाट बच्न बालुवामा तेल खन्याए सरह हो । मचान जस्तो उचाईको पुलबाट खहरे झैं उर्लेर आउने मैनावतीको बाढी सहज रुपमा छिर्दैन । कि पूर्वी किनार कि पश्चिमी किनारातर्फ नदी मोडिन्छ वा यो पुल नै बगाएर लान्छ । यो मचान साइजको पुल बचाएर उपयोगमा ल्याउनु भनेको दुर्घटना निम्त्याउनु हो । एक पटक त नगरपालिकाको बजेट डुबिसक्यो फेरी अर्को पटक ५० लाख श्रीधराय स्वाहा गरिंदैछ । ”

माओवादीका स्थानीय नेता रामचन्द्र सिंह गोलबजार नगरपालिकाका जनप्रतिनिधिहरु देखेर मलाई उदेक लाग्छ । दक्ष प्रजापति जस्तो छागमुख ( गर्धनमाथि बोका टाउको जोडिएको ) जस्ता भए । कोही चुँ सम्म बोल्दैनन् । तत्कालीन नगर प्रमुख देवनाथ साह र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले पहिलो कार्यकालमा गरेको गल्तीको भरपाई अहिले गर्न खोज्दैछन् । तर अहिलेका जनप्रतिनिधि मौनता साधेर बसेका छन् । नेता सिंह भन्छन् यो पुलको गलत डिजाइन, अधुरो काम र भ्रष्टाचार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी छ । छानविन पश्चात मुद्दा चल्न सक्छ । तत्कालीन मेयर देवनाथ साह, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी लगायत आधा दर्जन व्यक्तिहरुसँग अख्तियारले पटक पटक वयान लिएको छ । केसीमाथि आधा दर्जन परियोजनामा उजुरी छ । उनी त्यही मुद्दा मिलाउन र कागजपत्र दुरुस्त पार्न फर्किएर गोलबजार आएका हुन् । उनी गोलबजार आएदेखी साताको तीन दिन अख्तियार कार्यालय बर्दिवास धाइरहेका छन् ।

नेता सिंह भन्छन् श्रीधर केसी आउनासाथ गत पुष २९ गते १० औं नगर परिषद गराए । यो परिषद्मा उनले बजेट उलटपुलट बनाइ दिए । कताको बजेट कटाएर कता पु¥याइ दिए । उनको पहिलो कार्यकालमा पूरा बजेट खर्चेर गरेको आधा कामलाई अहिले पूरा गर्न बजेट छुट्टाएका छन् । कतिपय वडाका बजेट कटाएर मैनावतीको मचान साइजको पुलमा ५० लाख रकम विनियोजन गरेका छन् । तर कुनै जनप्रतिनिधिहरुको वाक्य फुटेन । कुनै वडाध्यक्ष बोल्न सकेनन् ।

सिंह भन्छन् मेयर श्याम कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी बीच नङ्ग मासु जस्तै अन्योन्याश्रय सम्बन्ध छ । डिजाइन र इष्टिमेट बिना नै पुन काम थालिएको छ । यो अर्को भष्ट्राचारको जाल फालिएको् हो ।


नेपाली कांग्रेसका स्थानीय नेता रामध्यानीयादव भन्छन् , प्रमुख प्रशासकीय अधिकृतले मैनावतीको कथित पुलमा गोलबजार नगरपालिकाका इन्जिनियर पठाएर पुनः नाप जाँच गर्न लगाएर छन् । यस क्रममा गत स्काभेटर लगेर पुलको पिलर कति गहिराईसम्म छ , खनेर हेरियो । अधिकृत केसीका विश्वासपात्र तथा वरद आशिर्वाद प्राप्त इन्जिनिएर जय किशोर साहले पुनः नाप जाँच गरेर केसीलाई सघाउ पुग्ने गरी प्रतिवेदन दिएका छन् । उनलाई यति हतारो छ कि नाप जाँच गरेको तीन दिन भित्रै नयाँ काम थालेका छन् ।

यादव थप्छन् , नयाँ थालिएको कामको इनिजनिरिङ्ग डिजाइन र इष्टिमेट छैन । ठेक्का लागेको छैन । उपभोक्ता समिति बनेको छैन । नगरपालिका आफैले अमानतमा हतार हतार काम गरेर ५० लाख रकम सक्ने प्रपञ्च भइरहेको छ । इन्जिनियरिङ्ग अध्ययन बिना मैनावती नदीमा बाँध बाँध्ने काम उचित होइन । भोलिका दिनमा नदीले बाटो बदलियो भने पूवी वा पश्चिम किनाराको चोहर्वा बस्ती खतरामा पर्न सक्छ । नगरपालिका किन अविवेकी काम गर्दैछ बुझ्न सकिएन ।

अवकास प्राप्त डिभिजनल इन्जिनियर जगदिश महतो भन्छन् पुल बनाउँदा २० वर्ष अघिदेखिको बाढी प्रवाहको इतिहासको लेखाजोखा गर्नुपर्छ । हचुवाको भरमा पुल बन्दैन । मैनावती खेलाको भेल ५ फिट अग्लो पुल मुनिबाट छिर्दैन । बाढीले सहज निकास पाएन भने यो पुल एकै धक्कामा ढल्छ वा किनारामो बाँध भत्काएर नदी अघि बढ्छ । यो पुलको जग पनि बलियो छैन । यसमा पैसा खर्च गर्नु भनेको पैसा धेर भएर नदीमा बगाइदिनु जस्तै हो ।

गोलबजारका पत्रकार रामबाबु यादव भन्छन् , ‘ यो पुल स्थानीय तहको असफल योजना त हो नै , जनप्रतिनिधिहरुले प्राविधिक कर्मचारीमाथि अनावश्यक दबाब दिने एक दुखःद दृष्टान्त पनि हो ।

यस विषयमा बुझ्न इन्जिनियर जय किशोर साह र प्रमुख प्रशासकीय अधिकृत केसीलाई फोन गर्दा उहाँहरुको फोन उठेन । मेयर श्रेष्ठले भने अहिले डिजाइन इष्टिमेट केही भएको छैन । उपभोक्ता समिति पनि बनेको छैन । ठेक्का पनि लागेको छैन । बजेट पनि खर्च गरिदैन । आफ्नै स्काभेटर र ट्रयाक्टर प्रयोग गरेर काम थालिएको हो । तेल र मजदुर खर्च मात्र नगरपालिकाले बेहोर्छ ।


प्रकाशित : २०८० माघ २० शनिबार