गोलबजारको अल्ट्रासाउण्ड ः बाँदरको पुच्छर लौरो न हतियार

[sharethis-inline-buttons]

गत आइतबार गोलबजारको स्वास्थ्य चौकीमा एउटा तामझाम गरिएछ । ४०–५० जना भेला गराएर मेयर श्याम कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गुणस्तरीय स्वास्थ्य सेवामा लच्छेदार भाषण दिएछन् । सुस्वादु मःम खाजा पनि खाइएछ । कारिन्दाहरुले फेसबुकमा सगर्व बखानसहित फोटो पोष्ट गरेछन् । समारोह थियो प्रसूति केन्द्रमा नेपाल सरकारले दिएको मिनी अल्ट्रासाउण्ड मेसिन शुभारम्भको ।

५ लाख जति मूल्य पर्ने उक्त मेसिन नेपाल सरकारको स्वास्थ्य सेवा विभागबाट केही समय अघि नै प्रदान गरिएको रहेछ । मेसिन चलाउने दक्ष जनशक्ति नभएको कारण थन्क्याएर राखिएको रहेछ । प्रसूति केन्द्रकी सिअनमी निरीक्षक सविता शाक्य पञ्जियारले हालै बिराटनगरबाट अल्ट्रासाउण्ड मेसिन चलाउने २० दिने तालिम लिएर फर्किएपछि मेसिन शुभारम्भ कार्यक्रमको आयोजना गरिएको थियो ।

फेसबुकमा तस्बिर र पुरुषार्थको बयान देखेपछि हामीलाई पनि मेसिन हेरौं हेरौं लाग्यो । हामी प्रसूति केन्द्रमा पुग्यौं । तालिम प्राप्त सिअनमी निरीक्षक पञ्जियारले मेसिन त देखाइन् तर उनी बोल्न हिच्किचाइन् । मेसिन त बिग्रिएको रहेछ । विद्युत सप्लाइ नहुँदा मेसिन “ अन ” नै नहुँदो रहेछ । मोनिटरमा देखिने गुणस्तर पनि राम्रो रहेनछ । सेवा आरम्भ भएको सुनेर अल्ट्रासाउण्ड गर्न जाने गर्भवती आमाहरु खिस्रिक्क परेर फर्कनु पर्ने अवस्था पो रहेछ । गोलबजार प्रसूति केन्द्रको अल्ट्रासाउण्ड मेसिन विद्युत सप्लाइ नै नभएर अन नहुने भएपछि बाँदरको पुच्छर लौरो न हतियार ।

माओवादीका स्थानीय नेता रामचन्द्र सिंह भन्छन् , “अल्ट्रासाउण्ड मेसिन बिग्रिएको थाहा हुँदाहुँदै तामझाम गरेर उद्घाटन र सेवा शुभारम्भको नौटंकी किन गर्नु परेको होला ! भोलि गर्भवती आमाहरु सेवा लिन आए भने के भनेर फर्काउने होला ! विवेक नभए पनि लोकलाज त हुन्छ नि ! श्याम हजुरको राज्यमा गजब हुँदोरहेछ । बिग्रेको मेसिनले अल्टासाउण्ड गरिन्छ । दश दिशा र जिल्ला प्रगन्नामा नाम चल्ने छ । यही हो सुशासन । गुणस्तस्तरीय स्वास्थ्य सेवा पनि । ”


प्रकाशित : २०८० माघ १६ मंगलवार