श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु
जिल्ला प्रशासन कार्यालय सिरहा
यस अघि तीन वटा खुला पत्र लेखेर अवैध उत्खनन् र प्रकृतिको अतिशय दोहनबाट उत्पन्न विषम परिस्थितिहरु जनकारी गराएको छु । आज चौथौ पत्र लेखेर प्राकृतिक श्रोत दोहन गरेर द्रव्य जोड्न पल्केका तस्करहरुले मच्चाएको वितण्डता र त्यसबाट समाजमा पर्न गएको विपत्ती तथा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी बारे अवगत गराउँदैछु । आफ्नै आँखा अगाडि गैर कानुनी रुपमा तस्करहरुले भूमि ,नदी र चुरे पर्वत श्रृङ्खला गरेको विनास टुलुटुलु हेरेर बस्न सकिएन । सार्जजनिक सम्पत्ति र बडेमाका भौतिक पूर्वाधारहरु संकटाभिमुख बनाएको देख्दा मन पोल्यो । वातावरणीय क्षयीकरणले निस्सासिने बनायो । तस्करहरुलाई रोक्ने हाम्रो पिताम छैन । मलाई ज्ञात छ, प्रमुख जिल्ला अधिकारीलाई यो पत्र लेखेर पनि हुने केही होइन । तर गुगलको तहखानामा भावी पुस्ताले खोज्दै जाँदा यी पत्रहरु फेला पारेछन् भने उनीहरुले भन्नेछन् , एक थियो पत्रकार जसले विनासबारे कलम चलाएको रहेछ ।
प्रमुख जिल्ला अधिकारी ज्यु , यो तस्बिर श्री जनता माध्यमिक विद्यालय डण्डा ( गोलबजार नगरपालिका –१० ) को हो । यो भवनमा कक्षा ११ र १२ को अध्यापन हुन्छ । तस्करहरुले विद्यालय भवनको जगसम्मै टसाएर ग्राभेल उत्खनन् गरेका छन् । विद्यालयकै जग्गामा पनि साँध मिचेर ७ फिट जति खन्न भ्याएका छन् । विद्यालयको दक्षिण र पश्चिमपट्टी २५ विगहाभन्दा बढीको क्षेत्रफलमा उत्खनन गरेर कृत्रिम नदी नै सृजना गरिदिएका छन् । यो उत्खनन्ले विद्यालय भवन संकटाभिमुख भएको छ । औसतभन्दा बढी वर्षा भएको वर्ष पहिरो जाने प्रवल सम्भावना देखिन्छ । उत्खनन्को बेला चलेको स्काभेटर र ट्रिपरको कर्कश आवाज र धूलो उडेर पैदा भएको प्रदूषणका बीच यस विद्यालयका कलिला मूनाहरुले पठन पाठन गर्नु प¥यो । विद्यालय वरिपरी बनाइएको खाडलमा वर्षाको पानी जम्दा वरपर हिँडडुल गर्न पनि नपाइने स्थिति छ । विपत्ती र प्रकोप बाजा बजाएर आउँदैन । अचानक आउँछ । तर यहाँ त विपत्ती र प्रकोपलाई निम्ता दिइएको छ ।
प्रजिअ ज्यु , तस्बिर नं. २ हेर्नुहोस । यो पानी ट्यांकी नरहा पालिकामा पर्छ । यस खानेपानी योजनाबाट नरहाको वडा नं. ३ चोहर्वा चौक र खोरियाका जनताले पानी पिउन पाएका छन् । तर उत्खखन्का सरदारहरुले यो पानी ट्यांकीको बलेसी टसाएरै ग्राभेल खनेर लगेका छन् । यो उत्खनन् अवैध त छँदैछ अपितु ज्यादतिपूर्ण पनि छ । उत्खनन् गरिएको छेउबाट पहिरो जाने र भूस्कलन हुने प्रकृया सुरु भएपछि पानी ट्यांकी गल्र्याम्मै ढल्ने सम्भावना देखियो । त्यसपछि कुनै सरकारी निकायले बजेट खर्च गरेर पानी ट्यांकी वरिपरी ढुंगाको क्रेटिङ्ग गराएको छ । यद्यपि अहिले पानी ट्यांकी सुरक्षित छ तर प्रकृति दोहनका पिपासाहरुले स्वेच्छाचारी रुपमा जहाँ पनि खन्ने छुट पाएका हुन् त ?
प्रजिअ ज्यु , यी दृश्यहरुले तपाईकोमन पोल्दैन ? के यी सार्वजनिक सम्पत्तिहरु ढल्यो , नासियो , बिग्रियो भने देश र जनतालाई घाटा हुँदैन र ? उत्खनन् गरेर शीघ्रातिशीघ्र धनाढ्य बन्ने चाहना राखेकाहरुले प्राकृतिक श्रोत र समाजमाथि आक्रान्ता जस्तो व्यवहार देखाउँदा स्थानीय प्रशासन किन मौन बसेको छ ? स्वच्छ वातावरणमा जिउन पाउने जनताको नैसर्गिक अधिकार हनन् हुँदा प्रमुख जिल्ला अधिकारीले किन आँखा चिम्लिनु हुन्छ ? मेरो आग्रह के छ भने स्थानीय प्रहरी र प्रशासन तथा उत्खनन्का सरदारहरु बीच लेनदेनका आधारमा मिलिभगतको सम्झौता नै छ भने पनि विद्यालय भवन र पानी ट्यांकी जस्ता भौतिक पूर्वाधारलाई क्षति नहुने गरी धन्दा चलाइयोस् । हामी नेपाली जनताले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र एक दिन परिस्कृत होला जहाँ नोरशाह र तस्करहरु बीचको साँठगाँठको हिसाबकिताब खोजिने छ । बस यति आशामा पर्याप्त खुशी समेटेर जीवित छौं हामी ।
बोधार्थ ः
जिल्ला प्रहरी कार्यालय सिरहा
जिल्ला समन्वय समिति सिरहा
अर्जुन थपलिया
सञ्चारकर्मी