गोलबजारको प्रसूति केन्द्रको स्थापना २०५० सालतिर भएको हो । त्यसबेला मातृ शिशु बचाउ कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेन युएसको सहयोगमा यो प्रसूति केन्द्र ( बर्थिङ्ग सेन्टर ) स्थापना भएको हो । अहिले यो प्रसूति केन्द्रको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ । वर्षायाममा धर्धरी पानी चुहिन्छ । सुत्केरी र नवजात शिशुको आङ्गमा पानीको थोपा चुहिएर भिज्छ । वर्षाको पानी भित्रैसम्म पस्छ । भूईँ हिलाम्मे हुन्छ । स्वास्थ्यकर्मीहरु दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन् । बैशाख महिनामा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ । जस्तापाता तातिएर उखुम हुन्छ । सिअनमी मिश्री कुमारी श्रेष्ठ भन्छिन् , सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिदैन । प्रसूति केन्द्र वरिपरी अन्कन्टार वनमाराको घारी छ । गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ । स्वास्थ्यकर्मीहरु लठ्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्नुपर्छ ।
२०६३ सालदेखि प्रसूति केन्द्र गोलबजारमा कार्यरत सि अनमी निरीक्षक सविता शाक्य पञ्जियार भन्छिन् ,“प्रसूति केन्द्रको एउटा सानो वैकल्पिक टहरो पनि लोकमार्ग विस्तारका कारण भत्काइयो । यो सानो टहरो भित्र दुईवटा शैया राखिएको थियो । यो टहरो भत्काइएका कारण शैया झिकेर कौसीमा राख्नु परेको छ । वर्षामा बाछिटा र जाडोमा सिरेटो सहेर सुत्केरी आमाहरुलाई यही शैयामा सुताउनु पर्छ ।”
गोलबजार स्वास्थ्य चौकी प्रमुख सत्य नारायण यादव भन्छन् , प्रसूति केन्द्रको मुख्य टहरो पनि ज्यादै साँघुरो छ । कोठामा छिर्ने द्वार नै साँघुरो छ । नागबेली परेर बल्लतल्ल छिरिन्छ । सुत्केरी हुन आउने आमालाई शैयासम्म लैजानै कठिन हुन्छ । ४० स्क्वाइर फिटको कोठामा शिशूलाई न्यानो राख्ने हिटर , लेवर शैया , सुत्केरी भएपछि सुताउने शैया, अक्सिजन सिलिन्डर, सक्सन मेसिन र अन्य उपकरणहरु राख्नु परेको छ । दुई जना स्वाथ्यकर्मी र एक जना सुत्केरी व्यथाले च्यापेको आमालाई ओल्टोकोल्टो फर्किनै कठिन हुन्छ । यादव थप्छन् नालाको पानी बगेर प्रसूति केन्द्रकै अगाडि जम्छ । कुनै निकास छैन । फोहोर पानी टेकेर भित्र पस्नु पर्छ । सारै सास्ती छ । सम्बन्धित निकायको पटक पटक ध्यान आकर्षण गराएका छौं तर कुनै सुधार हुँदैन ।
नेपाली काँग्रेसका नगर सभापति राजदेव साह (लालबाबु ) भन्छन् , “ गोलबजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जाने बाध्यता छ । ६० हजार भन्दा माथि जनसंख्या भएको गोलबजार नगरपालिकामा एक जना एमविएस डाक्टर छैनन् । प्रसूति सेवाको यो हालत छ । लज्जास्पद भन्दा पनि जनताको स्वास्थ्यसँग हदैदर्जाको खेलवाड गरिएको छ । नगरपालिका गोलबजारको ध्यान जानु पर्ने हो । ”
एक जना मात्र प्रसूति आमा हुँदा त जेनतेन सेवा दिइन्छ तर यदाकदा दुई तीन जना थपिदा कहाँ राख्ने भन्ने समस्या हुन्छ । भूईँमा ओछ्यान लगाएर राख्ने ठाउँ पनि छैन । प्रसूति केन्द्र २४ सैं घण्टा खुला राख्नु पर्ने हो तर स्वास्थ्यकर्मीहरुले टुसुक्क बस्ने ठाउँ पनि छैन । पाले सुत्ने खाटमा अहिले अल्ट्रासाउण्ड गरिन्छ । स्वास्थ्यकर्मीहरु रातको समयमा डेरामा बस्छन् । सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ । प्रसूति केन्द्रमा बत्ती गएको बेला बाल्ने वैकल्पिक साधन छैन । कहिलेकाँही टर्च बालेर सुत्केरी गराउनु पर्छ ।
हालै नेपाल सरकारको स्वास्थ्य सेवाविभागले यस प्रसूति केन्द्रमा ग्रामिण अल्टा«ासाउण्ड मेसिन ( च्इग्क्न् ) प्रदान गरेको छ । त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ । सि अनमी निरीक्षक शाक्य भन्छिन् मैले तालिम त लिएर आए तर मेसिन त बिग्रेको आएछ । कसरी काम गर्ने ? नगरपालिकालाई जानकारी गराएको छु ।
स्थानीय वुद्धिजीवि ७५ वर्षिय उद्धव बहादुर अधिकारी भन्नुहुन्छ, “यो टहरो तत्कालीन सडक विभागले गार्ड राख्न बनाएको थियो । सडक विभागले खाली गरेर वर्षौदेखि रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूति केन्द्र बनाइएको हो । ” ३० वर्ष बित्यो तर यो प्रसूति केन्द्रको जीर्णोद्धार समेत भएन । २१ औं शताब्दीमा बाख्रा गोठ जस्तो टहरोमा प्रसूति सेवा सञ्चालन भइरहेको छ । गोलबजार नगरपालिका मुकदर्शक भएर बसेको छ ।
माओवादीका स्थानीय नेता रामचन्द्र सिंह भन्छन् , स्वास्थ्य चौकी गोलबजारको एम्बुलेन्स पनि कवाडीमा परिणत भएको छ । जटिल अवस्था उत्पन्न भएर बाहिर रेफर गर्नुपर्दा एम्बुलेन्स भेटिदैन । अर्को नयाँ एम्बुलेन्स खरिद गर्नेतर्फ नगरपालिकाको पटक्कै चासो छैन ।
२०५० सालमा स्थापना भएको यस प्रसूति केन्द्र गोलबजार स्वास्थ्य चौकीको मातहतमा रहेको छ । यस प्रसूति केन्द्रमा गर्भवती आमाको स्वास्थ्य जाँच र प्रसूति सेवा उपलब्ध छ । महिनामा सरदर १ सय ५० जना गर्भवती आमाको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गरिएको दर्ता रजिष्टरमा देखिन्छ ।
प्रसूति केन्द्र स्थापना गर्न सेभ द चिल्ड्रेन युएसमा पैरवी गरेका ७४ वर्षिय समाजसेवी रामजी यादव भन्छन् ३० वर्ष अघि हामीले जस्तो स्थापना गरेका थियौं आज पनि त्यस्तै हालत रहेछ । कुनै सुधार भएको रहेनछ । गुणस्तरीय स्वास्थ्य सेवाको नारा दिइन्छ तर व्यवहारमा शून्य देखिन्छ । एउटा घर भाडामा लिएर भए पनि प्रसूति गृह सञ्चालन गरिनु पर्ने हो । टहरोमा विजोग छ ।
यस सम्बन्धमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीसँग प्रतिक्रिया माग्दा उनले भने , मेसिन बिग्रेको भए मर्मत गरिन्छ । जहाँसम्म घवनको कुरा छ त्यो जग्गा नै बिबादित छ । भवन बनाउन मिल्दैन । छलफल गर्दैछौं । भएन भने चोहर्वामा १५ शैयाको अस्पताल बन्दैछ । प्रसूति गृह उतै सारिनछ ।