गोलबजार नगरपालिका वडा नं. २ मा रहेको गुरुधाम गाउँ एमालेको तीर्थस्थल जत्तिकै महत्व राख्दछ । २०२७ सालतिर सिरहा जिल्लामा हालको एमाले ( तत्कालीन समयको नेकपा माले ) को पहिलो कमिटी निर्माण हुँदा नै गुरुधाम र विष्णुपुरकट्टी गाउँ आधार इलाका बनेको थियो । गोलबजार नगरपालिका २ का ७५ वर्षिय रामजी यादव भन्छन् , “ कोअर्डिनेशन कमिटी” बाट पार्टीमा रुपान्तरणको चरण थियो । त्यतिबेला नै हामी गुरुधाममा आधार इलाका बनाएर संगठित भएका थियौं । चारु मजुमदारको लाइन अनुसार जमिन्दारलाई वर्गशत्रु ठानेर काट्ने मार्ने अति कठोर नीति पार्टीले लिएको थियो । गुरुधाम पार्टीका नेताहरुको सेल्टर थियो । प्रत्येक घर र प्रत्येक व्यक्ति पार्टीप्रति वफादार भएको कारण गुरुधामलाई तत्कालीन अवस्थामा एमालेको अभेद्य किल्ला वा लालकिल्ला भनिन्थ्यो ।
गुरुधाम गाउँमा सडक कालोपत्रेमा भएको ढिलाई र बेवास्ताका कारण जनतामा र एमालेका कार्यकर्तामा पनि घोर निराशा छाएको छ । उनीहरु आक्रोस व्यक्त गर्छन् । देवनाथ साह मेयर हुँदा ११ सय मिटर कालोपत्रे गर्ने भनेर टेण्डर आह्वान भयो । ठेक्का पनि लाग्यो । तत्कालीन मेयर साह स्वयं आएर शिलान्यास पनि गरेका थिए । तर परियोजना रद्द भयो भनियो । कालोपत्रे भएन । तत्पश्चात चुनाव आयो । हालका मेयर श्याम श्रेष्ठ र सांसद लीलानाथ श्रेष्ठले जित्ने बित्तिकै पहिले गुरुधाम सडक कालोपत्रे गर्ने वचन दिएका थिए । आर्थिक वर्ष २०७९÷०८० मा १ हजार मिटर कालोपत्रे गर्ने भनेर ठेक्का लगाइयो । राजमार्गदेखि लामाटोल सोनेलाल तामाङ्गको घरसम्म ग्रेडर पनि चलाइयो तर कालोपत्रे भएन । ठेक्काको म्याद थपिएको छ । वर्षायाम सकिएपछि हुन्छ भनेर जनतालाई थुम्थुम्याइयो । काम सुरु नभएपछि गुरुधामका एमाले कार्यकर्ता मानननीय सांसद लीलानाथ श्रेष्ठ समक्ष डेलिगेशन गए । त्यसपछि काम त सुरु गरियो तर मात्र ३ सय ५० मिटर कालोपत्रे गर्ने गरी काम सुरु भएको छ । सुरुमा अस्पाल्ट गुणस्तरको कालोपत्रे गर्ने भनिएकोमा अहिले प्रिमिक्स गुणस्तरमा झारिएको छ । हुँदै गरेको कामको गुणस्तर पनि ज्यादै कमजोर छ ।
आर्थिक वर्ष २०८०÷०८१ म ५० लाख बजेट थप्ने भनेर आस्वाशन दिइएको थियो तर मात्र ३९ लाख बजेट छुट्याइएको छ । सुत्रहरुले बताए अनुसार नयाँ प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी आएपछि उनको पुरानो कार्यकालमा अधुरो रहेको मैनावत्ती खोलाको पुलमा बजेट थप्न गुरुधामको ११ लाख बजेट कटाइएको छ । मैनावत्ती पुलका लागि १०औं नगरपरिषदबाट २२ लाख बजेट छुट्याइएको छ ।
गुरुधामका जनतालाई पटक पटक ठगेको कारण यहाँका जनतामा निराशा बढेको छ जनता तथा एमालेका कार्यकर्ताहरु नै आक्रोस व्यक्त गर्न थालेका छन् ।
७३ वर्ष पार गरेका कृष्णलाल सिंह भन्छन् , “ पूरै गाउँ एकमत हुनु ज्यादै कठिन कुरा हो तर गुरुधाममा त्यो सम्भव भएको थियो ” । पार्टीका केन्द्रीय नेतृत्वहरु सेल्टर लिएर बस्थे । यो गाउँमा हामीले उतिबेला सडक बनाउन दिएनौ । प्रहरी प्रशासन सजिलै आउन नसकुन भनेर सडक बनाउन दिएनौ । एमाले बिस्तारमा गुरुधामको अद्विय भूमिका छ । तर आज गुरुधाम कै बेहाल छ ।
८० पुगि बसीखाने वयमा पुगेका शिव दयाल विश्वकर्मा भन्छन् एमालेको चौथो महाधिवेशनको तानावाना योजना बुनिएको र महाधिवेशनको पहिलो खुडकिलो गुरुधाम नै हो । यहीबाट आधाजसो कार्य फत्तेह भएको थियो । इतिहासलाई सम्मान गर्ने हो भने एमालेका नेताहरु गुरुधामप्रति नतमस्तक हुनु पर्ने हो । यहाँ कोअर्डिनेशन कालदेखिका पार्टीमा रगत पसिना बगाएका र लगातार ५ दशकसम्म पार्टीमा अनवरत काम गरेका दर्जनौ वृद्धहरु अझै जीवित छन् । यहाँको इतिहास लेखिनु पर्ने हो । यहाँ कम्युनिष्ट अध्ययन केन्द्र बन्नु पर्ने हो । तर यही गुरुधामको उपेक्षा भइरहेको छ । सडकको दसा किन यस्तो भयो मलाई थाहा छैन । देवनाथले जित्दा पनि यो सडक बनाएन । हामीले पोहोर साल नै बन्ने सुनेका थियौं । ग्राभेल र माटो झारेर छोडिदिए ठेकेदारले । अस्ति फेरि माटो ग्राभेल झारे जस्तो गरे फेरि च्वाक्कै छोडेको छ । हामी केही दिन अघि लीलानाथ श्रेष्ठ समक्ष डेलिगेशन गयौं । सारा दुख व्यथा बतायौं । जनताले कुट्छन् हामीलाई भन्यौं । लीला जीले हाकिम र मेयरलाई भनिदिन्छु । तपाईहरु भेट्नुस् । काम सुरु हुन्छ । नभन्दै काम सुरु भयो तर फेरि बन्द भयो । सुरुवात त भएको छ । हामीले सम्झना थपलियालाई भनेका छौं । बजेटको लागि पहल गर्न । जनताले कुरा नमान्ने मात्र होइन अब हामीलाई कुट्ने बेला भएको छ ।
७२ वर्ष नाघेका सन्तलाल गुर्मछाने मगर गुरुधामका पहिला व्यक्ति हुन् । उनी नै तत्कालीन नेकपा माले पार्टीको कमिटीमा आवद्ध भएका थिए र उनको घर नै पहिलो सेल्टर बनेको थियो । ५३ वर्ष पार्टीमा बिताएका मगरको मनमा कता कता वितृष्णा जागेको छ । निराशा र आक्रोस छ । गुरुधाम गाउँले एउटा राम्रो सडकसम्म नपाएकोमा उनको मन कुढिएको छ । मगर भन्छन् पटक पटक लीला जी र श्याम जीसँग डेलिकेशन गएर भन्यौं । तर सुनुवाई हुँदैन । दुई वर्षमा तीन सय मिटर कालोपत्रे गर्न बल्ल सुरु गरेका छन् । यो हिसाबले त अझै १० वर्ष लाग्छ सडक कालोपत्रे गर्न । यो वर्ष यता गयो अर्को वर्ष उता गयो भन्छन् बजेट । तलदेखि माथि सबै हाम्रै छन् तर खोई ? नेतृत्वको उपेक्षा देखेर त पार्टी प्रति नै विरक्त भएको छु । यो उमेरमा अब पार्टी छोडेर कहाँ जाने । अर्को चुनावमा त यो पाराले अप्ठ्यारै हुनेछ अर्को चुनावमा । जमनटोकीको सडक जरुरी थिएन तर बन्यो । गुरुधामलाई वेवास्ता गरियो ।
मिनलाल तामाङ्ग २०२८ सालमा एमाले पार्टीमा लागेका थिए र अहिलेसम्म पार्टीमै कायम छन् । उनी भन्छन् निर्वाचन ताका श्याम श्रेष्ठ र लीलानाथ श्रेष्ठले यो सडक बनाउँछौं भनेर वचनवद्धता प्रकट गरेका थिए । हाम्रो गाउँबाट टोली गएर पटक पटक अनुरोध पनि गरेका छन् । खोइ के भइरहेको छ थाहा छैन । तर यो सडक बनेन भने अर्को चुनावमा उनीहरु हाम्रो गाउँमा नआए पनि हुन्छ ।
प्रशुराम तामाङ्ग पनि २०३६ सालमा एमालेमा लागेका एक कर्मठ पार्टीका सिपाही हुन् । सोझासाझा प्रवृतिका तामाङ्ग भन्छन् लीला र श्याम आएर यो सडक बनाउने भनेका थिए । बजेट छुट्याएका छौं भनेका थिए । खानेपानी र सिंचाई बोरिङ्ग दिने भनेका थिए । तर अहिलेसम्म केही भएको छैन । यस्तै हो भने अर्को चुनावमा यिनीहरुको पत्ता साफ हुन्छ । अर्को चुनावमा भोट दिंदै नदिने । दुनिया लोभ देखाए । हामीले जितायौं ।
मान बहादुर तामाङ्ग पनि ७० वर्ष पुगे । सन्तलाल मगर र रामकिसुन महरा ( झोक्री ) ले उनलाई पार्टीमा आवद्ध गराएका हुन् । एमाले जरोकिलो यहीँ गाउँ हो । बोरिङ्ग पनि दिएन । सडक पनि एक बित्ता आज एक बित्ता भोली गर्दैछन् । कहिले बनिसक्छ ? अर्को चुनावमा त भोट दिइदैन । पत्ता साफ हुन्छ ।
सोनेलाल तामाङ्ग एमालेका वडा नं. २ का पार्टी अध्यक्ष हुन् । उनी भन्छन् गुरुधाम गाउँ भूमिगतदेखि नै एमालेको गढ । चुरेदेखि भारतीय बोर्डरसम्म कालोपत्रे बनिसक्यो तर हाम्रो गाउँ अहिलेसम्म उस्तै छ । हामी पटक पटक लीलानाथ श्रेष्ठ समक्ष गुहार लगाउन गयौं । आस्वाशन दिन्छन् तर काम केही हुँदैन । यो सडक बनेन भने अर्को चुनावमा पत्ता साफ हुन्छ भन्ने बुझे हुन्छ ।
गणेशी यादव पनि पुरानै एमाले हुन् । उनी भन्छन् न सांसदलाई मतलब छ न मेयरलाई मतलब छ । देवनाथको पालामा उनले आफ्ना मान्छेलाई गली गलीमा विकास गरिदिए । तर एमालेका पालामा पनि वास्ता छैन । उनीहरुले एमालेको गढलाई वास्ता गरेका छैनन तर अर्को चुनावमा यहाँ पाइला टेक्न सक्ने छैनन । जनता रिसाएका छन् ।
शुभनारायण यादव पनि ७५ वर्ष पुगे । उनी २०३२ सालमा एमाले पार्टीमा आवद्ध भएका थिए । यो सडकमा माओवादीको सरकार बन्यो तर केही गरेन । एमालेको सरकार बन्यो भने पहिलो काम यहाँ कालोपत्रे गर्ने भनेका थिए । अहिले एमालेको सरकार छ त्यैपनि केही अत्तोपत्तो छैन । पचास मिटर त सय मिटर कालोपत्रे गर्ने भनेका छन् । यसरी त १० वर्षमा पनि हुँदैन । हामी कार्यकर्तालाई गाउँमा हिँड्न मुस्किल छ । जता गयो उतै जनताले गाली गर्छन् । हामीले नेतालाई जति घच्घच्याए पनि सुन्दैनन् । गर्नु त के गर्नु ? अर्को चुनावमा केही हुनेवाला छैन । अब नयाँ अनुहारले जितेर लैजान्छ । अहिलेको अनुहारले अब केही पाउँदैन ।
मिठु कुमारी गिरिले होस सम्हालेदेखि एमाले पार्टीको लागि योगदान गर्न थालिन् । उनी भन्छिन् माओवादीकै पालादेखि आशा थियो । घर भत्काई दिए । पिच बन्छ भनेर हामी खुशी भयौं । तर राजमार्ग छेउको धनीमानी मान्छेको घर भत्काइएन । गरिबका घर मात्र भत्काइयो । दिनदिनै धुँवा र धूलो खान परेको छ । माओवादीको पालामा पनि बनेन । आशैआशमा हाम्रो दिन जाने भयो । न राजमार्ग छेउमा बन्यो न गाउँमा बन्यो । बीचमा थोरै पिच गर्न लागेका छन् । सडक नबनाएकोमा स्थानीय जनता आक्रोसित छन् । एमालेमाथि आशा थियो । अर्को चुनावमा त कसैले भोट हाल्दैन ।
लखन महतो पाका एमाले मै गनिन्छ । लगातार एमालेमै रहेका छौं । तर हाम्रो गाउँमा विकास छैन । पटक पटक आस्वाशन दिएका छन् तर सडक बनाइ दिएनन् । अर्को चुनावमा अर्कै उम्मेदवार रोज्छौं । यिनीहरुबाट अघायौं हामी ।
राजकुमार सिंह २०२८ सालमा एमालेमा आवद्ध भएका व्यक्ति हुन् । पटक पटक यो सडक बनाउन लीला जीलाई भन्यौं । उत्तम महतको पालामा ५० हजार बजेट दिएका थिए । अलि अलि माटो हालेर मिलायौं । त्यसपछि निर्वाचित सांसदलाई भन्दा भन्दा थाक्यौं । मेयर श्याम श्रेष्ठलाई पनि भनेर थाक्यौं । चुनावका बेला कार्यकर्ताले जनतालाई यो पटक हुन्छ भनेर विश्वास दिलायौं । तर भएन । देवनाथ साहले पनि गरेन् । देवनाथ दाजुभाई नै हारे । श्याम र लीलाको पनि उस्तै हाल हुनेछ । नत्र सडक बनाउनु प¥यो ।
दिनेश यादव गुरुधामका युवा समाजसेवी हुन् । उनी भन्छन् गुरुधाम सिरहा जिल्लामा एमालेको जन्मस्थान हो । उनी भन्छन् अहिले बनेको सडकको गुणस्तर पनि राम्रो छैन । उनले मेयर श्याम श्रेष्ठले आएर प्रष्ट पार्नु पर्छ । कति ठेक्का हो कति कालोपत्रे हुने र कस्तो गुणस्तरको हुने ?
पहिले एमाले तर हाल एकीकृत समाजवादीमा रहेका हीरालाल सिंह भन्छन् चोहर्वा लीलानाथ श्रेष्ठको टोललाई हेर्नुस् । त्यो गाउँमा खन्याइएको बजेट र निर्माण भएका संरचना हेर्नुहोस् । तुलना गर्नुस् अन्य वडा र टोलसँग । आकाश जमिनको फरक छ । कुनै एमाले कार्यकर्ताले लीलानाथ श्रेष्ठको अगाडि टाउको ठाडो पारेर बोल्न सक्दैनन् । जसले बोल्ने दुस्साहास गर्छ त्यो किनारामा पर्छ । त्यसकारण हामीले विद्रोह गरेर निस्केका हौं । एमाले पार्टीले २०४७ साल मै गल्ती ग¥यो । नेता तान्ने नाममा एक सामन्त परिवारलाई पार्टीको वागडोर थमायो । अब सिरहामा एमाले भनेको लीलानाथ श्रेष्ठ र लीलानाथ श्रेष्ठ भनेको एमाले । बाँकी सब झारपात । शक्ति जसको हातमा छ श्रोत त्यतै तानिन्छ । माक्र्सवाद पढेकाहरुलाई यति सामान्य नियम त थाहा होला नि ।