माननीय सांसद लीलानाथ श्रेष्ठलाई खुला पत्र

[sharethis-inline-buttons]

अर्जुन थपलिया

मैले एउटा कथा पढेको थिएँ । आज त्यहीँ कथा उल्लेख गरेर लेखनी सुरु गर्दैछु । एक महान चित्रकार थिए । उनले बनाएको चित्र सजीव देखिन्थ्यो । एक पटक उनले भित्तामा बनाएको अगुंरको चित्र देखेर चराहरु झुक्किए । साच्चैको अंगुर भनेर ठुंग्न थाले । चिकार चित्र बनाउन अत्यन्त सिल्पी थिए । एक दिन चित्रकारको मनमा बिचार आयो कि म भगवानको साक्षत स्वरुपको चित्र बनाउँछु । मानिसले त्यो चित्र देखेर परमात्माको वास्त्विक छवि महसुस गरुन् ।

चित्रकार हिमालय पर्वतको समीपमा पुगे । उनले त्यहाँ एउटा अदभूत दृश्य देखे । एउटा अति सुन्दर प्रितिकर १० वर्षिय बालक बीच नदीमा शिलामाथि बसेर बाँसुरी बजाइरहेका थिए । नदीको कलकल पानी बगाई, सुरम्य हरियाली , शुभ्र हिमअच्छादित हिमाल , वनको अक्षता सुन्दरता , चराचुररुङ्गीको चिरवीर र नजिकै गाईहरु चरिरहेको अवस्था । समुच्चा प्राकृतिक छटा चित्रकारको मानसपटलमा बस्यो । उनी भावविभोर भए । उनले ठहर गरे भगवान यिनै बालक हुन् र देवलोकको दृश्य पनि यही हो । उनले क्यानभासमा त्यहाँको प्राकृतिक सौन्दर्यसहित बालकको तस्बिर बनाए ।

चित्रकारको तस्बिर अभूतपूर्व बन्यो । संसारभरमा त्यो चित्रले ख्याति कमायो । त्यो चित्रको प्रतिलिपी करोडौ प्रति बिक्री भयो । समाजको हरेक घरमा त्यो चित्रलाई भगवानको चित्र भनेर सजाएर राखियो । चित्रकार सिल्पी थिए । उनले साक्षत परमात्मा हुन् भने जस्तै भान हुने गरी चित्र बनाएका थिए । चित्र साच्चै मनमोहक थियो । प्रियतमको छवि नयनमा बसे जस्तै समाजको आत्मामा त्यो चित्रले प्रतिष्ठा प्राप्त गरेको थियो ।

२५ वर्ष पछि चित्रकार वृद्धवयमा प्रवेश गरिसकेका थिए । अचनाक उनै चिकारको मनमा एक नयाँ इच्छा जाग्यो । एउटा अति भयानक , विभत्स र रौद्र स्वरुप राक्षसको चित्र बनाउँछु । त्यो चित्र देखेर मनुष्यलाई वास्तविक राक्षसको बोध होस् । उनी रक्सी भट्ठी , जुवा तास अड्डा , जेल जस्ता स्थानहरुमा चाहार्न थाले । एउटा जेलमा उनले एक व्यक्तिलाई देखे । त्यो व्यक्तिको निस्वास पनि गोमन सर्पभन्दा ठूलो थियो । गुजुल्टीएको दाह्री कपाल , कलेटी परेको ओठ , राता राता आँखा , घरी घरी दाह््रा किटने , भित्तामा टाउको ठोक्ने र मनुष्य अगाडि आए जिउँदै चपाउला झैं गर्ने उनको स्वभाव थियो । अशिष्ट गाली उनको बोलीपिच्छे निस्कन्थ्यो । दर्जनौ हत्याको आरोपमा उनी जेल परेका थिए । उनलाई साङ्गलाले बाँधेर राखिएको थियो । चित्रकारलाई महसुस भयो यो व्यक्तिभन्दा रौद्र , विभत्स र भयंकर स्वरुप भएको आसुरी व्यक्ति अर्को भेटिदैन । चित्रकारले उनको चित्र बनाउन थाले ।

चित्र पूरा भएकै थिएन कि ती राक्षस भनिएको व्यक्ति ग्वाँ ग्वाँ डाको छोडेर रुन थाले । राक्षस स्वरुपमा चित्रित गर्न लागिएको व्यक्ति अचानक रुन थालेपछि चित्रकार पनि हतप्रभ भए । उनले सोधे किन रोएको तपाईँ ? फलामे साङ्गलामा जकडिएका व्यक्तिले जवाफ दिए , चित्रकार ज्यु तपाईँले २५ वर्ष अघि बनाएको भगवानको चित्रको बालक मै हुँ । आज मलाई नै सैतानको रुपमा चित्रित गर्दै हुनुहुन्छ । जवाफ सुनेर चित्रकारको हातबाट कुची खस्यो ।

माननीय लीलानाथ ज्यु , प्रतीकात्मक यस कथाले मेरो दारुण व्यथालाई चित्रण गर्छ । त्यो चित्रकारले जव थाहा पाए भगवानको रुपमा चित्रित बालक नै सैतानको रुपमा आज यहाँ फेला परेछन् –उनी किंकर्तव्यविमुढ भए । त्यो चित्रकारको जे अवस्था थियो आज तपाईँलाई देखेर , सम्झेर मेरो ठीक त्यस्तै हालत भएको छ ।

एक समय थियो । म अनुकल्प पत्रिका सम्पादन तथा प्रकाशन गर्थें । अनुकल्पको ख्याति चुलिदै गएको बेला तपाईँ निर्वाचनमा उम्मेदवार हुनुभयो । तपाईँको विपक्षमा त्यसबेलाका नेपालका सर्वशक्तिमान व्यक्ति पुष्पकमल दाहाल उम्मेदवार हुनुभयो । स्थानीय नेता, स्वच्छ छविको , हिंसामा विश्वास नगर्ने , सर्वसाधारणसँग घुलमिल हुने , सरल र सरस मिजासको र लोकतान्त्रिक आचरणलाई आत्मसात गरेको ठहरसहित मैले तपाईँको जित होस् भन्ने अभिप्रायका साथ कलम चलाएँ । त्यसक्रममा कतिपय अवस्थामा पत्रकारिताको आचारसंहिता पनि बिर्सेर तपाईँको छवि उजिल्याउने कार्य गरियो । एक पक्षिय रुपमा लेख्यो भन्दै कतिपय आलोचकले अनुकल्प पत्रिकालाई लीला छाप बिडी पनि भने । पत्रिका बदनामै भयो । न्युनतम निष्पक्षता पनि कायम रहेन ।

विपक्षीहरुले प्रचण्ड प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री कै सचिवालयबाट आदेश गराएर मलाई र सन्तोष यादवलाई साइवर क्राइम मुद्दामा फसाए । पक्राउ गरी हतकडी लगाएर काठमाडौं पु¥याए । ९ महिना मुद्दा लडेर बल्ल म र संतोष यादवले सफाई पायौं । पत्रकार मित्र सन्तोष यादव पनि तपाईको दोश्रो निर्वाचनमा एक महिना मिडिया कोअर्डिनेटर भएर खटिएका थिए । हामीले मुद्दामा आफै कठिनाईको सामना ग¥यौं , लड्यौं र पार पायौं । ९ महिना मुद्दा लडदा हाम्रो आर्थिक अवस्था धर्मरायो । पत्रिका पनि विपक्षीहरुको आँखोको तारो बन्यो । हामीले कसैसँग कसैसँग एक पैसा सहयोग मागेनौं । पत्रिका बन्द गरिदियौं ।

माननीय लीलानाथ श्रेष्ठ ज्यु , दोश्रो चुनाव ताका मैले तपाईँको भाषण दर्जनौ ठाउँमा सुने । संघीय र प्रदेश सरकार जुनसुकै पार्टीको होस् , बजेट जुनसुकै सरकारले बनाओस् वा अन्य कुनै कारणले बजेट छुट्याइएको होेस् । तपाईको दावी हुन्छ सिरहा जिल्लामा आएको बजेट मेरै कारणले आएको हो । मैले नै ल्याएको हुँ । मैले नै बजेट छुट्याउन लगाएको हुँ । विकास जति मेरै प्रयासबाट भएको हो । कुन परियोजनाको लागि कति रकम आयो भन्ने कुरा तपाईँले भाषणमा कन्ठाग्र सुनाउनु हुन्छ । हिसाब जोड्दा १ सय ५० करोड पु¥याउनु हुन्छ । ंंंंतपाईँले भाषणमा अगस्त्य मुनिले समुन्द्र पिएर सुकाइ दिएका थिए , तपाईँले संसदमा जितेपछि नै समुन्द्रमा पानी भरेको हो भन्न मात्र बाँकी छ । कुनै दिन आफ्नो १ सय ५० करोडको धाक रवाफपूर्ण भाषणमा ओज छ कि छैन भनेर कार्यकर्ताहरुलाई पनि सोध्नुस् । सुनेर जनताको कान पाक्यो र थाक्यो कि ।

तपाईसँग आग्रह छ । अब उप्रान्त भाषण गर्दा १ सय ५० करोड सरकारी धनरासी मध्ये तपाईको गाउँ गोलबजार नगरपालिकाको ७ नं. वडा श्रेष्ठ टोलमा कति लगानी भएको छ ? कृपया त्यो छुट्याएर बताई दिनु भए सर्वसाधारणले प्रष्ट थाहा पाउने थिए । श्रेष्ठ टोलमा निजी प्रयोगका लागि बनेको कथित सामुदायिक भवन, दोहो¥याएर कालोपत्रे सडक , सडक बत्ती जडान , बोरिङ्ग , पशु हाटमा बनाएको संरचना , पक्की नाला , स्वजातीय बन्धुहरुको खेतमा बोरिङ्ग , घुर्मीघाटदेखि पानवारी हुँदै गौराहा रणनीतिक सडक कसरी श्रेष्ठहरुकै जमिन छोएर किन बनेको छ ? यी सबै कुराहरु पनि प्रष्टयाई दिए जनता छर्लङ्ग हुने थिए । परियोजनाहरु सञ्चालन गर्न छद्म उपभोक्ता समिति बनाएर आफ्नै भाई भारदारमार्फत काम गराएको कथाको पाटो त झन् खोतल्नै मिल्दैन होला । उपरोक्त विकासहरु जिल्लाको विकास हो कि लीला विकास हो ? चोहर्वा र श्रेष्ठ परिवारले मात्र सुविधा भोग्ने गरी आएको विकासको रकम जिल्लाबासीको थाप्लोमा हाल्न पाइन्छ र ? प्रश्न त उब्जिन्छ ? तपाईँले छर्लङ्ग नपारे पनि हामी पत्रकारहरुको दायित्व हो खोजी गर्ने र जनतामा सही सूचना सम्प्रेषण गर्ने । मेरो धर्म हो । यो निरन्तर जारी रहन्छ ।

जगजित सिंहले एक नज्म गाउनु भएको छ । बात निकली है तो दुर तलक जायगी अर्थात कुरा निस्के पछि अलि परैसम्म फैलिन्छ । तपाईँले मलाई त्रसित गर्ने भरपूर जमर्को गर्नु भएको छ । हात खुट्टा भाँच्ने, आँखा फुटाई दिने आदि । तपाईँको लागि कुनै असम्भव कुरा होइन । तपाईँ जत्तिको शक्तिशाली नेताले मेरो सफाया सजिलै गरिदिन र दोषबाट उम्किन पनि सक्नुहुन्छ । तपाईँ एक राजनीतिक र आर्थिक शक्ति । म शक्तिविहीन एक फकिर कलमजीवि । म त यति सरल छु कि जहाँ चिहान भेटिन्छ त्यहीँ लम्पसार परिदिन्छु । तर मलाईँ डराउने , तर्साउने र थर्काउने भन्दा पनि तपाईँ आफ्नो डरको उपचार गर्नतर्फ लाग्नुस् । कृष्णचरण श्रेष्ठको हत्या पछि सुरक्षा गार्ड नलिई तपाईँ एक कदम कतै हिँड्नु भएको छैन । पत्रकारले लेख्न थालेपछि चरित्र पनि उदाङ्गो होला भन्ने भयले हिंसामा उत्रिने पनि संकल्प गर्नुभएछ । सफलता मिलोस शुभकामना छ ।


प्रकाशित : २०८० माघ ९ मंगलवार