सिरहामा सरकारी गाडीको दुरुपयोगमा झन् झन् वृद्धि हुँदै गएको छ । सरकारी गाडी दुरुपयोगको पछिल्लो कडीको रुपमा नयाँ काण्ड देखा परेको छ । सरकारी गाडी दुरुपयोग गर्ने जनप्रतिनिधिहरुमा जिल्ला समन्वय समिति सिरहाका संयोजक दिनेश महतो , उपसंयोजक दिलीप लामा र लहान नगरपालिकाका उप प्रमुख राम चलितर महतो रहेका छन् । उनीहरु दुई वटा सरकारी नम्बरप्लेटको गाडी लिएर गत आइतबार ५ बजे पछि मदिरापान र मान्साहारी पकवान ज्युनार गर्न घुर्मी खोला नजिक कार्की होटलमा पुगेका थिए ।
घुर्मी खोला उत्खनन् गर्ने ठेक्का लिएका ठेकेदारले बील भुक्तानी गर्ने गरी तीनैजना जनप्रतिनिधि होटलमा आमन्त्रित थिए । सामान्य पदीय मर्यादा समेत भुलेर उत्खनन् गर्ने ठेकेदारको उत्कोच भोज खान गएका यी तीन जनप्रतिनिधिहरुले सुशासनको त धज्जी उडाएकै छन् साथमा पदीय गरिमा , मर्यादा र लोकलाजलाई पनि तिलाञ्जली दिएका छन् ।
सम्साँझै कार्की होटलमा पुगेका जनप्रतिनिधिहरु दिनेश महतो, दिलीप लामा र राम चलितर महतोले कार्की होटलमा ४ घण्टा भन्दा अधिक समय बिताएका थिए । सो अवधिमा जनप्रतिनिधिहरुले सेतो नम्बरप्लेटको गाडी होटल बाहिर उभ्याएका थिए । मांस मदिरासहितको भोजन भक्षणपछि जनप्रतिनिधि त्रेय ढ्याउ डकार गर्दे सिन्काले दाँत कोट्याउँदै होटल बाहिर निस्किए । सरकारी गाडीमा चढेर आ–आफ्नो घरतर्फ हुइकिए । आफ्नो अवैध उत्खनन् व्यापार चलाउन उत्कोच स्वरुप भोज दिने मेजबान ठेकेदारले करिब ९ हजारको बील भुक्तानी गरेका थिए ।
मंसभोजी र सुरापान व्यसनी जिसस संयोजक र नगर उपप्रमुख महतो द्वय लहानबाट झण्डै २५ किलोमिटर सरकारी गाडीमा यात्रा गरेर घुर्मी किनार पुगेका थिए । उपसंयोजक दिलीप लामा पनि सरकारी गाडीसहित त्यहाँ पुगेका थिए । स्मरण रहोस् दिपेन्द्र यादवले घुर्मी खोला उत्खनन्को ठेक्का लिएका छन् । उनलाई नदीमा स्काभेटर उपकरण लगाएर उत्खनन् गर्ने दरकार हुनसक्छ र अवैध उत्खनन् रोक्ने निकाय भनेको जिल्ला समन्वय समिति हो । जिससका संयोजक र उपसंयोजक नै रक्सी मासुमा बिकेपछि अवैध उत्खनन्को नियमन कसरी हुन्छ ? प्श्न टडकारो देखिन्छ ।
नेपाली काँग्रेसका युवा नेता सुरेश साह भन्छन् – मुखले खाए पछि आखा लजाउँछ । नदी उत्खनन् गर्ने ठेकेदारको भोज खाएपछि अवैध उत्खनन् रोक्ने जिम्मेवारी भएका जनप्रतिनिधिले कसरी त्यस्ता ठेकेदारलाई कारवाही गर्न सक्छ ? साह भन्छन् एक छाक मिठो मसिनो खान सामान्य नैतिकता पनि बेच्ने यस्ता जनप्रतिनिधिबाट खोई के आशा गर्ने ? उनले आक्रोस पोख्दै भने जिल्ला समन्वय समितिका संयोजक , उपसंयोजक र लहान नगरपालिकाका उप प्रमुख तीन जना जनप्रतिनिधि मात्र १० हजारमा बिक्ने रहेछन् । सुन्दै लाजमर्नु भयो ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष सुरेश यादव भन्छन् प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले दुई साता अघि मात्र बिदाको दिन वा कार्यालय समय पश्चात सरकारी काम बाहेक सेतो नम्बरप्लेट गाडी नचलाउनु भनेर सर्कुलर गरेका थिए । तर जिल्ला प्रशासन कार्यालयको उर्दीलाई रौं बरावर पनि मान्यता दिएको देखिएन । जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको फितलो प्रशासनतन्त्रले वेथिति र अराजकता हदैसम्म मौलाएको छ । अब अनेरास्ववियूले सरकारी गाडी दुरुपयोग रोक्ने अभियान सञ्चालन गर्नेछ । त्यसबाट निस्कने दुष्परिणामको जिम्मेवार प्रमुख जिल्ला अधिकारी हुनेछन् ।
गोलबजार नपा २ का समाजसेवी युवा दिनेश यादव भन्छन् नुन खएपछि गलिन्छ । तीन जना जनप्रतिनिधिले जसको नुन खाएका छन् उसका अगाडि नतमस्तक हुनुपर्छ । अनि अवैध उत्खनन् कसरी रोकिन्छ ? कानुन विपरित उत्खनन्मा जिल्ला समन्वय समिति पनि मतियार र सहयोगी छ भन्ने कुरा छर्लङ्गै भएको छ । यी जनप्रतिनिधिहरु दारु र मान्समा मात्र सीमित छैनन् बरु नगद नजराना संकलनमा पनि अभ्यस्त छन् भन्न सकिन्छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेसँग यस विषयमा प्रतिक्रिया माग्दा उनले भने सरकारी गाडीको दुरुपयोग गरेको प्रमाण सहित कसैले उजुरी दिए छानविन गरी कारवाही गर्छु ।
यस प्रसंगमा जिसस संयोजक महतोसँग सोधनी गर्न फोन गर्दा उनको दुबै मोवाइल नं. स्वीचअफ गरिएको अवस्था बताइयो । तर उनले केही समय अघि पत्रकार रामभरोसी यादवसँग कुरा गर्दै भनेका थिए , “ हो मैले सरकारी गाडी दुरुपयोग गरेको हुँ , मांस मदिरा पनि खाएको हुँ । जे जे गर्नु छ गर्नुस् । ”
उपसंयोजक लामाले भने फोन उठाएनन् । तर उनले पनि पत्रकार यादवलाई भनेका थिए म आफै पैसा तिर्ने गरी खान गएको थिएँ । ठेकेदार दिपेन्द्र यादवले तिर्नै दिएनन् । उनैले तिरिदिए । नगर उप प्रमुखको मोवाइलले सम्पर्क हुन सकेनको सन्देश दोहो¥याइ रह्यो ।