गरिबी कति निर्मम हुन्छ त्यो हेर्न र बुझ्न गोलबजार नगरपालिका वडा नं. ८ मुसहर बस्तीका केसवर सदालाई हेर्न गए पुग्छ । कलमजीवि साथीहरु हो , “भोको पेट र रित्तो गोजीले ” जे सिकाउँछ त्यो ज्ञान संसारको कुनै विश्वविद्यालयमा पढाई हुँदैन । न खाने एक गेडो अन्न छ घरमा । न लगाउने वस्त्र छ । कठाङ्ग्रिदो जाडोमा ओढ्ने ओछ्याउने पनि छैन । वृद्ध वय र कृष कायाका केसवरको हर खुस्केको ( डडाल्नो कुजिएको ) छ । उनी उठबस गर्न सक्दैन । कसैलाई दया लाग्यो भने एक मुठी माड लगेर पियाइदिन्छन् । नत्र भोकभोकै मृत्यु पर्खेर बसेका छन् । उनी थलिएका छन् ।
केसवर सदाको अवस्था यस्तो छ कि उनका नातेदारहरु भन्दैछन् छिटो मृत्यु भइदिए औषधी किन्ने पैसाले कात्रो किन्न हुन्थ्यो । नागरिकले भोक लाग्दा खान नपाई र रोग लाग्दा उपचार नपाई मर्नु प¥यो भने त्यस्तो राज्य र समाजलाई जंगली तथा बर्बर भनिन्छ । आज केसवर सदा एक जंगली राज्य र समाजमा बिना औषधी र बिना खाना प्राण त्याग्न अभिषप्त छन् । केसवर पनि यस देशका नागरिक हुन् । यो माटोमा उनको पनि अधिकार छ । बिलो लगाउने हो भने राज्यको श्रोतमा उनको पनि एक भाग होला । तर सामाजिक न्यायको मृत्यु भएको र मत्स्य न्यायको जगजगी भएको गोलबजार नगरपालिकामा केसवर जस्ता नागरिक खाना र औषधी बिना मर्न बाध्य छन् ।
मेयर श्याम श्रेष्ठको दुईवटा तस्बिर यो साता फेसबुकमा पोष्ट भएको छ । एउटा बलकवामा भवरी मेला उद्घाटन गरेको र गोलबजारको राममन्दिरमा दुई लाख सहयोग प्रदान गरेको छ । मेयरका आसेपासेहरुले यो दुई सन्दर्भलाई मेयरको लोकप्रियता बढाउने गरी प्रचारमा ल्याएका छन् । मेयर साहेब , तपाईका इष्ट दार्शनिक कार्ल माक्र्स लेनिनको सिद्धान्त अनुसार राज्यको श्रोतमाथि पहिलो अधिकार केसवर सदा जस्ता सर्वहाराहरुको हो न कि राम मन्दिरको । शास्त्रिय दृष्टिकोणबाट पनि “ मठका राम ” भन्दा केसवरको “ घट ”मा बसेका रामले पहिलो प्राथमिकता पाउनु पर्छ । भोक र रोगले ग्रसित केसवर जस्ता सैकडौं नागरिक गोलबजार नगरपालिकामा आर्थिक सहयोग माग्न गए । तर उनीहरुलाई निराश बनाएर रित्तो हात फर्काइयो । ५ हजार मात्र सहयोग माग्नेहरुलाई पनि कार्यपालिकामा निर्णय गर्नुपर्छ भनेर फर्काइयो । पाएकाहरुलाई पनि महिनौसम्म कुदाइयो । तर सस्तो लोकप्रियताका लागि कार्यपालिकामा निर्णय नै नगरी राम मन्दिरलाई दुई लाख प्रदान गरेर फेसबुकमा प्रचार गरियो । यो कुन सुशासनको द्योतक हो ? राम मन्दिरलाई सहयोग दिनै हुँदैन भन्ने मेरो अभिप्राय होइन तर विधिसम्मत भएन ।
मेयर साहेब , आर्थिक वर्ष २०७९÷०८० मा कति आर्थिक साहायता बाँडियो त्यसको तथ्यांक मैले नगरपालिकासँग सूचनाको अधिकार अनुसार निवेदन दिएर मागेको छु । आशा छ प्राप्त हुने छ । तर हामीलाई ज्ञात भएसम्म नेवार जातिका निवेदकहरुले ४ लाखसम्म आर्थिक साहायता बिना दौडधुप प्राप्त गरेका छन् । त्यस्ता भाग्यमानी स्वजातीय बन्धुहरुको संख्या ७ जनाभन्दा बढी छ । तर ५ हजार आर्थिक साहायता माग्नेहरुको निवेदन एक वर्षदेखि मुलतवी राखिएको छ । अझ लज्जास्पद कुरा त के छ भने थप ३–४ जना मेयरका स्वजातीय बन्धुहरुलाई आर्थिक साहायता दिलाउन मेयर साहेबले आदेश गर्नुभएको थियो तर प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले “अति भयो ” भनेर अस्वीकार गरिदिए । पौडेल र मेयर श्रेष्ठ बीच खटपट त्यहीँबाट सुरु भएको र उनलाई हटाउने निश्चय गरिएको शुत्रहरुको दावी छ । म मेयर साहेबलाई चुनौती दिन्छु र भन्छु कृपया आर्थिक साहायताको सम्पूर्ण विवरण सार्वजनिक गरेर मलाई झुटा सावित गरिदिनुस् । विवरण पारदर्शी गर्ने हिम्मत छ ? नत्र म भन्न बाध्य हुनेछु निर्लज्जता ( लाज सरम पचेको ) हेर्न मन भए गोलबजार नगरपालिकाका ओहदाधारीहरुलाई हेरे पुग्छ । कुशासन , नातावाद र कृपावादको निकृष्टतम उदाहरण यही भेटिन्छ । समाज शास्त्रका विद्यार्थीहरुले सामाजिक न्याय मरेको र मत्स्य न्याय फस्टाएको सन्दर्भ गोलबजार नगरपालिकामा हेर्न सक्छन् ।
मेयर साहव तपाईँ जुन बाटो बलकवामा मेला उद्घाटन गर्न जानु भयो त्यही मोडमा केसवर सदा जस्ता तन्नम सर्वहाराहरुको बस्ती छ । यो मुटु कमाउने जाडोमा यी दलित गरिब मुसहर हाम्रा मतदाताहरु कसरी बसेका छन् हेरौं न त भन्ने हेक्का भएन । वातानूकुलित गाडीमा सररर सवारी चल्यो । वैज्ञानिक साम्यवाद र जनताको बहुदलीय जनवाद ल्याउने कसम खाएका नेता मेयर श्याम श्रेष्ठलाई मुसहर बस्तीको दुखदेखि के वास्ता भयो र ? वैज्ञानिक साम्यवाद र सर्वहारा वर्गको अधिनायकत्व सहितको शासन ल्याउने माक्र्सवादको दस्तावेज “ कम्युनिष्ट घोषणा पत्र” २१ प्mेब्रुअरी १८४८ मा माक्र्सले जारी गर्दा बिचरा उनलाई पत्तै भएन एक दिन नेपालमा श्याम श्रेष्ठ र लीलानाथ श्रेष्ठहरुले कम्युनिष्ट पार्टीको नेतृत्व हत्याउने छन् , जसलाई केसवर सदाहरुको कुनै पर्वाह हुनेछैन । कम्युनिष्ट भनाउँदो एमालेका नेताहरुलाई केसवर भन्दा राम मन्दिर प्रिय हुनेछ । सिरहाकै सर्रे अम्बासमा चौथो महाधिवेशन गरेर जनताको बहुदलीय जनवादको लाइन पारित गराउने मदन भण्डारीलाई हेक्का नै भएन कि एकदिन यो सर्वहाराको पार्टीमा लीलानाथ र श्याम श्रेष्ठ जस्ता खातेपिते वर्गले नेतृत्व सम्हाल्ने छन् जसलाई सामाजिक न्याय र मत्स्य न्याय बीचको फरक नै थाहा हुने छैन । केसवरहरु औषधी र खाना बिना मरिरहँदा त्यसलाई कठोरतापूर्वक उपेक्षा गर्नेछन् । राज्यको श्रोत कंक्रिट र ग्राभेलमा खन्याएर मानवताको घोर अवहेलना गर्नेछन् । उद्घाटन र मन्दिरमा दीप प्रज्वलनको तस्विर फेसबुकमा हालेर सस्तो लोकप्रियताको आत्मरतिमा रमाउने छन् । बिचरा मदन भण्डारीलाई के थाहा थियो नगर परिषद हुँदा केसवरहरुको उत्थानका लागि बजेट छुट्याइने छैन अपितु ग्राभेल छरेर साम्यवाद ल्याउने बकमफुस्से माक्र्सवाद साकार गरिनेछ । गोलबजारका कम्युनिष्ट जनताहरुको सौभाग्य भनौ वा दुर्भाग्य नेता चै दरवारहरुबाटै पाएका छन् तर उनीहरुमा सर्वहारा वर्ग प्रति कुनै संवेदनशीलता नै छैन ।
अहिले थला परेका यी केसवरले बलियो हट्टाकट्टा हुँदा समाज र राष्ट्रको सेवा गरेकै थिए । कृषि मजदुरको रुपमा श्रम गरेर जीविका चलाएका थिए । समाज र राष्ट्रमाथि भार बनेका थिएनन् । अहिले बल बैंश गयो । बेसाहारा भए । अब राज्यले यिनलाई नहेर्ने हो भने भन्नेपर्छ यो राज्यको निकाय नगरपालिका बर्बर हो , जंगली हो , मत्स्य न्यायको पक्षपोषक हो ।
मेयर साहेब जुन कम्युनिष्ट पार्टीमा हुनुहुन्छ २०४८ भदौ १२ गतेसम्म म पनि त्यहीँ पार्टीमा थिएँ । २०३६ सालदेखि अहिलेसम्म २०४८ सम्म त्य पार्टीका नेताहरुले हामीलाई दिएको जनवाद सम्बन्धी प्रशिक्षणमा सिकाइन्थ्यो जनवादी राज्य आएपछि केसवर जस्ता सर्वहाराहरु राज्यको दैलोमा आउनु पर्दैन बरु राज्य नै केसवरहरुको दैलोमा पुग्छ । केसवर नगरपालिकामा निवेदन दिन आउन सक्ने अवस्था छैन । अब हेरौं गोलबजार नगरपालिका केसवरको दैलोमा पुग्छ कि पुग्दैन ।