भीम प्रसाद गौचन र विकास गुरुङ्ग पथमा लीलानाथको यात्रा

[sharethis-inline-buttons]

अर्जुन थपलिया

आज बिहानै चोहर्वा दरवार छेउछाउका उनीहरु कै बन्धुबान्धवमा दरिएका एक भाईले मलाई भेटेर सचेत गराए । दरवारमा तपाईँको हात–खुट्टा भाँच्ने र आँखा फुटाइदिने निर्णय भएको छ । सावधान रहनुस् । बचेर काम गर्नुहोला । मेरा शुभचिन्तक ती भाईलाई मैले सोधें,“ तपाई उहाँहरुको गाउँले , छिमेकी , स्वजातीय बन्धु । अनि म प्रति यति आगाध प्रेम देखाएर यस्तो गोप्य योजनाको सूचना चुहाउन किन आउनु भयो ?” दरवारमा थाहा भयो भने त तपाईँलाई त्यस गाउँमा टिक्नै कठिन होला । उनले भने –तपाईँ जस्ता पत्रकार फ्याट्ट मारिनु पनि त भएन नि ! मेरो त मन पोल्यो । उकुसमुकुस भयो । अनि तपाईँलाई सचेत गराउने बिचार गरें । मलाई मृत्युमय पीडा दिने व्याधाको विस्मयकारी योजनाबारे सूचना दिने भाई प्रति आभार व्यक्त गर्दछु ।

लेख्दैमा पत्रकार भइँदैन । बौल्दैमा वक्ता भईँदैन । के लेख्यो वा बोल्यो , कुन वर्गको स्वार्थमा लेख्यो वा बोल्यो भन्ने प्रधान कुरा हो । मृत्यु वा असह्य यातनासहित अंगभंग हुने डरले कलमको बिर्को बन्द गर्ने वा लोभको परिवन्दमा परेर उच्छिष्ठ हण्डी चाटेर शाषकको विरुदावली लेख्नु पत्रकारिता होइन । पत्रकारिता निरपेक्ष निष्पक्ष पनि हुँदैन । पत्रकारिता देश र जनता प्रति समर्पित हुनुपर्छ । वर्गीय समाजमा न्याय , समानता र मानवाधिकारको पक्षपाती हुनुपर्छ । कमजोर वर्गको हिमायति तथा पक्षपोषक हुनुपर्छ । विसंगति,विकृति, भ्रष्टाचार र कुशासन माथि शब्द बज्र प्रहार गर्ने आँट हुनुपर्छ । सत्ताले लुकाउन खोजेको कालो कर्तुतलाई जनता समक्ष छताछुल्ल पार्ने अभिष्ट हुनुपर्छ । राजनीतिबाट सामन्तवादको अन्त्य गर्ने र प्रगतिशील सोच र व्यवहार भएकाहरुलाई स्थापित गर्नुपर्छ । पत्रकारको यो सम्झौताविहीन धर्म हो ।

२०४० सालमा पत्रकारिताको कखरा सिक्न थालेको हुँ । आज पर्यन्त सिक्दैछु । २०४० सालमा ८ कक्षा पढदैगर्दा पत्रकारिता सुरु गरेको थिएँ । तिनताका देशमा क्रुर पञ्चायती शासन थियो । प्रेस स्वतन्त्रता थिएन । गोरखापत्र वाहेक दैनिक पत्रिका थिएन । टेलिभिजन त झन् छँदै थिएन । एक सातामा एक पटक साप्ताहिक पत्रिका काठमाडौंबाट लहान आइपुग्थ्यो । पञ्चायत विरुद्ध पत्रकारिता गर्नु भनेको जेल नेल र यातना मात्र होइन अपितु मृत्युको जोखिम मोल्नु थियो । मैले लेखेको एक दुई वटा समाचार दृष्टि र छलफल जस्ता साप्ताहिकमा छापिदा मन फुरुङ्ग हुन्थ्यो ।

पत्रकारितामा मेरा गुरुहरुले मलाई “ थिगिरी नानी थिगिरी ” भन्दै उभिन र हिँड्न सिकाउँदै थिए । अचानक नेपालमा एउटा घटना घट्यो । सम्भवतः २०४३ साल भदौ २० गते उतिखेरका चर्चित र निर्भीक पत्रकार पदम ठकुराठीलाई विकास गुरुङ्गले सुतेकै ठाउँमा गोली हाने । तत्कालीन अधिराजकुमार धिरेन्द्र र ज्ञानेन्द्रले एडिसी भरत गुरुङ्गमार्फत भीम प्रसाद गौचन, जगत गौचनलाई सुपारी (मार्ने ठेक्का ) दिएर कन्ट्रयाक्ट किलर विकास गुरुङ्गलाई गोली हान्न पठाएका थिए । गोली प्रहारबाट पत्रकार ठकुराठीको मृत्यु त भएन तर निधारमा खोबिल्टो बन्यो , दाहिने आँखा फुट्यो ।

२ वर्ष अघि पत्रकारितातर्फ मोडिएको मेरो किशोर हृदयमा त्यो घटनाले अमिट छाप छोड्यो । त्यसबेलाका पत्रकारहरु जेल परेको र यातना सहनु परेको धेरै पटक देखिएको थियो । तर पदम ठकुराठीमाथि जुन प्रहार भयो त्यसले सिंगो नेपालको राजनीति मात्र नभई अन्तर्राष्ट्रिय समुदायलाई पनि तरंगित बनाएको थियो । ठकुराठीको लेखनीको विषय नै अन्तर्राष्ट्रिीय ध्यान आकृष्ठ हुने खालको थियो । तत्कालीन राजपरिवारका ज्ञानेन्द्र र धिरेन्द्रले भूमिगत गिरोहमार्फत नेपालबाट बहुमूल्य पूरातात्विक महत्वका “मूर्तिहरु” चोरेर विदेश लैजाने र विदेशबाट सुन र लागू पदार्थ “ हिरोइन” नेपाल भित्र्याउने धन्दा चलाएका थिए । यही सवालमा ठकुराठीले कलम चलाएर छताछुल्ल पारिदिएपछि उनलाई खरिद गर्ने , तर्साउने , फकाउने अनेक यत्न गरियो । तर ठकुराठी पत्रकारिताको धर्मबाट डगेनन् । विचलित भएनन् । त्यसपछि भूमिगत गिरोहका नाइकेहरुले कन्ट्रयाक्ट किलरहरुलाई आदेश दिए “ किल हिम ” ।

पत्रकारितामा सिकारु हुँदै पदम ठकुराठीको आदर्श दृष्टान्त पछ्याएर यो जोखिमपूर्ण पथमा लम्किएको एक पथिक हुँ म । पत्रकारितामा गरिबी , अभाव , दुख कष्ट , डर धम्की र उस्तै परे निर्जन उखुबारी तिर वेवारिसे लासको रुपमा पार्थिव शरीर फेला पर्ने प्रचुर सम्भावना हुन्छ । यो कुरा २०४३ सालमै बोध भएको र हृदयमगम गरिसकेको हुँ । आज बिहान चोहर्वा दरवारका छिमेकी भाईले हात खुट्टा भाँच्ने र आँखा फुटाई दिने योजना छ भनेर सुनाउँदा २०४३ सालमा पदम ठकुराठीको घटना सम्झना आयो । अगेना बीच फुलेको फूललाई तातो हावाको के डर हुन्छ र ! यस्तो हुनसक्छ भन्ने जान्दाजान्दै पत्रकारिता रोजेको हुँ । अब नियति भोग्नु पर्ने नै हो भने पनि म पत्रकारिताबाट भाग्दिन । आउनुस् तपाईँहरुलाई स्वागत छ । मेरो हात खुट्टा र आँखा तपाईँका लागि समर्पित छन् । तपाईमाथि एक जना सहपाठीको हत्याको षडयन्त्र रचेको आरोप लाग्दा एक समयमा म प्रतिवाद गर्थे तर अब पञ्चायतकालीन भूमिगत गिरोह पथमा तपाईलाई सफलता मिलोस् भन्ने मेरो शुभकामना दिन चहान्छु । विकास गुरुङ्ग प्रवृतिहरु अहिले जताततै भेटिन्छन् । पत्रकारितामा पदम ठकुराठी जस्तै मेरो कद उँचो बन्ला कि नबन्ला तर म उनकै मर्गानुगामी हुँ र रहिरहन्छु । दरवारहरुले सत्ताको अन्ध्यारो कोठामा लुटेको धन बत्ती बालेर उज्यालोमा बाँडिखाने प्रवृतिको उछितो काढ्न म छोडदै छोडदिन ।

मेयर श्याम श्रेष्ठ ज्युलाई कालोमसो दल्ने दुर्भाग्यपूर्ण घटना भएको बेला तपाईँले मलाई लक्षित गरी मेरी बहिनी सम्झना थपलियालाई नै भन्नुभएको थियो “ खुट्टामा डोरी बाँधेर मोटरसाइकलमा बाँधेर घिस्याउन आदेश दिएको छु । ” रिस आवेशमा बोल्नु भयो होला भनेर म चुप बसें । अहिले मृत्युदण्डको सजाय घटाएर हात खुट्टा भाँच्ने र आँखा फुटाई दिनेमा झार्नु भएछ । म खुशी नै छु । तपाईँको यो असिम अनुकम्पाप्रति । उदारता प्रति । आगाध दया प्रति । म अहिंसा प्रति निष्ठावान व्यक्ति । तपाईँले हिंसा गरेपनि मेरो प्रतिवाद अहिंसात्मक नै हुने छ । मेरो मान्यता के छ भने हिंसा र कायरता दुबैको उदगम स्थल एउटै हो । कायर हृदयमा हिंसाको योजनाले जन्म लिन्छ । व्यक्तिले त्यसकारण हिंसा गर्छ कि यो बाँच्यो भने मलाई सिध्याउँछ । त्यसकारण पहिलो प्रहार मै विरोधीलाई सिध्याउन खोज्छ । तर लोकतान्त्रिक संस्कृतिमा विरोधीको रक्षा गरिन्छ । वोरोधीको रक्षाको जिम्मा पनि शाषक मै हुन्छ । त्यसकारण म अहिंसावादी छु । मलाई कायर हुन पटक्कै मन छैन । तपाईको हात खुट्टा भाँच्ने र आँखा फुटाउने योजना कार्यान्वयन गर्न धेरै योजना बनाउनु पर्ला , सावधानी अपनाउनु पर्ला । बरु भन्नुस् तपाईँको दरवार वाहेक कहाँ , कुन मिति र समयमा आउँदा हुन्छ , म एक्लै र निहत्था आउँछु । यो मेरो वचन भयो । तपाईँको हिंसात्मक क्षुधा मेटाउनुस् । कुण्ठा लिएर तडपेर कति बस्नु हुन्छ । मेरो हत्याको पाप र अपराधबाट मैले तपाईँलाई अहिले मुक्त गरिदिएको छु । कसैले उजुरी पनि नदिनु होला ।

“कागा सब तन खाइयो , मोरा चुन–चुन खैइयो मांस
ए दो नैना मत खाइयो , इसमे पिया मिलन कि आश”

ए काग र गिद्धहरु मेरो शरीरको चोक्टा लाम्टा सबै लुछेर खाओ तर मेरा यी दुई नयनहरु नखाई देउ । मेरा यी दुई नयनमा मेरो प्रियतमलाई हेर्ने आशा बाँकी छ ।

१२ औं शताब्दीका कवि अमिर खुसरोका यी दुई हरफहरु आज पनि “सुफी ” मतालम्बीहरुले अभिरुचीका साथ भजन गाएर सुनाउँछन् । सुफी मतमा ईश्वरलाई प्रेयसी मानिन्छ र आत्मा तथा परमात्माको मिलनलाई प्रेमी प्रेमिकाको परिणयसँग तुलना गरिन्छ । कवि अमिर खुसरोका कविताहरुमा ईश्वरलाई प्रेमी र कवि उमरखैयामका कविताहरुमा ईश्वरलाई प्रेमिकाको रुपमा सम्बोधन गरिएका थुप्रै पंक्तिहरु छन् ।

जीवनको मध्यवय पार गरी उत्तरार्धतर्फ पाइला संक्रमण गरिसकेको हुनाले मेरो चित्त पनि आध्यात्मिक पथमा आकर्षित भएको होला । मेरा गुरु ओशो जसको दर्शनले जिउँदैमा मृत्यु सिक्न अभिप्रेरित गरिरहेको छ , म उनकै अनुयायी (सन्यासी ) बनेर भर्खरै बामे सर्दैछु । समाधीपथमा शैशवकाल भए पनि ओशो प्रवचनको मधुप्याला पिइरहेको छु । गुडाकेस ( चीर निन्द्रामा विलय हुने ) हुँदा वृन्दावनमा हरिसँग रास मा सहभागी हुने अभिप्षा छ । मुमुक्षा छ । त्यसकारण मृत्युदेखि उतिसारो भय लाग्दैन अब । तर यी दुई नयनमा पृयतम भेट्ने र साक्षात्कार हुने इच्छा र आकांक्षा छ । मेरो चोक्टा लाम्टा लुछे पनि ठीक छ । कुनै गुनासो गर्ने छैन । मेरा आँखा नफुटाइदिनु होला । परलोकमा पत्रकारिता त गर्न पर्दैन तर यी नयनहरुमा प्रभु मिलनको आश बाँकी छ । आँखा नभए पनि इहलोकमा पत्रकारिता गर्न सकिन्छ । धेरै दृष्टिविहीनहरु पत्रकारिता गर्दैछन् । आँखा फुटाएर पनि मेरो पत्रकारिता रोकिदैन । मैले बोलेर अरुले टाइप गरिदिन सक्छन् । व्यर्थमा आँखा किन फुटाउनु हुन्छ । हात खुट्टा गिड्नेमा तपाईँको इच्छा ।

 

 


प्रकाशित : २०८० माघ ४ बिहीबार