एकादेशमा एक समयमा राजा श्यामले शासन गरेका थिए । एक दिन राजा श्याम बगैंचा विहारका लागि दरवारबाट बाहिर निस्केका थिए । उनको पाउमा काँडा बिझ्यो । मैदलको काँडा निक्कै विषालु थियो । पैतालाको रानीमासु भेट्ने गरी गाडिएको काँडाले राजालाई अैया र आत्था हुने गरी दुख्यो ।
राजालाई बोकेर दरवारमा ल्याइयो । दरवारमा उपलब्ध वैद्यले जेनतेन काँडा झिकिदिए । राजाको व्यथा देखेर मन्त्री “केवलराम” को मन भत्भति पोल्यो । उनले दरवारमा तुरुन्त राज्यपरिषद्को आपत्तकालीन बैठक बोलाए । आपत्तकालीन बैठकको महत्वपूर्ण एजेण्डा थियो राजाको पाउमा काँडा जाकियो , अब के उपाय ? राजा दरवारबाट कसरी बाहिर निस्कने ?
धेरै गन्थन मन्थन पछि मन्त्री केवलरामले निर्णयार्थ आफ्नो बिचार राखे । मन्त्रीको बिचारलाई समर्थन गर्दै राज्यपरिषद्ले ठोस निर्णय लियो । समुच्चा देशको एक इन्च जमिन पनि खाली नरहने गरी गलैंचा ओछ्याउने । राजा आमोद प्रमोदका लागि जता निस्के पनि काँडा बिझ्न नपाओस् । देशभरका सारा मजदुर गलैंचा बुन्न थाले । विदेशबाट पनि गलैंचा आयात गर्न थालियो । मजदुर , किसान,भाई भारदार , कर्मचारी सबै राज्यभरमा गलैंचा बिछ्याउन अहोरात्र खटिए । युद्धस्तरमा काम हुन थाल्यो ।
देशका किसानहरु चिन्तामा परे । सुर्ताएका किसानहरु डराई डराई राजा श्यामको दरवारमा पुगे । बिन्ती बिसाए । उनीहरु भन्दै थिए – महाराज, जमिन जति सारा गलैंचाले ढाकेपछि खेती कहाँ गर्ने ? खेती भएन भने के खाने ? हामीले बालबच्चा कसरी पाल्ने ? किसानहरुको आर्तनाद पुकारा सुनेर राजाले फेरि बैठक बोलाए ।
दोश्रो बैठकमा बिचार विमर्श गरेपछि मन्त्री केवलरामले भने गलैंचा ओछ्याउने प्रस्ताव रद्द गरौं । सरा देशको काँडाको झाडी फाँडेर, धूलो जति बढारेर राज्यलाई काँडाविहीन बनाऔं । यो प्रस्ताव पहिलेको भन्दा उत्तम लाग्यो । परिषदले निर्णय पास गर्नेवित्तिकै कार्यान्वयन सुरु भयो । देशको सारा जनशक्ति काँडाघारी फाँड्न र धूलो बढार्न लगाइयो । धूलो उडेर आकाश कुहिरीमण्डल भयो । बासिन्दाहरुलाई सास फेर्नै कठिन हुन थाल्यो । आकाश धूलोले ढाकिएर दिउँसै रात परेको भान हुन थाल्यो । अतिशय धूलो उडेको कारण रैतीहरु भकाभक बिरामी पर्न थाले ।
एकाबिहानै राजाको दरबारमा प्रजाहरु जम्मा भएको देखेर राजाले सोधे अब के मर्का प¥यो त ? प्रजाजनले दुख बिसाउँदै भने माहाराज धूलोले निस्सासियौं । बालबच्चा बिरामी भएर मर्न थाले । अर्को कुनै उपाय गरिबक्स्योस् ।
दरबारमा तेश्रो पटक बैठक डाकियो । उपाय झिक्ने सर्वशक्तिमान र महाविद्वान मन्त्री केवलरामले फर्मान जारी गरे –आधा मजदुर धूलो बढार्ने आधा मजदुरले तलाउ र नदीबाट घैंटोले पानी ओसारेर जमिनमा छर्ने । तर काँडा र धूलो यो राज्यमा रहनु हुँदैन । मन्त्री केवलरामको परामर्श राजाले हतपती नकार्दैन थिए । किनकी केवलरामको चमत्कारी चाटुकारिता सनेर राजा श्याम मोहित थिए । राजालाई लाग्थ्यो यी मन्त्री केवलराम जत्तिको ज्ञानवान र क्षमतावान म आफू पनि छैन । राजालाई मन्त्री केवलराम मन पर्नुको कारण अरु पनि थिाये । उत्तम मदिरा पसलहरु फेहरिस्त केवलरामसँग थियो । मन्त्रीको भीमकाय शरीर देखेर पनि राजा आफूलाई सुरक्षित महसुस गर्थे । राजाको मुर्खतालाई सही सावित गर्न उनले कुर्कुच्चादेखिको बल लगाउँथे । राजाका विरोधीहरुलाई अश्लिल गाली गर्न पनि उनी खप्पिस थिए । मन्त्री केवलरामको भक्तिभाव र वफादारी देखेर उनको छोरा र पत्नीलाई पनि राजप्रसाद सेवाको जागिरमा लगाइएको थियो । हण्डी बक्स भएको थियो । विश्वासिला मन्त्री केवलराम राजाका सारथी पनि थिए । राज्यको निर्माण काम गर्न मन्त्रीकै नाममा एक ठेक्कापट्टा कम्पनी पनि दर्ता गराइएको थियो ।
दरवारबाट आएको निर्णय अनुसार नदीर तलाउको पानी जमिन , बाटो , पाखा पर्वत सर्वत्र खन्याउन थालियो । भएजति पानी झिकेको कारण नदी र तलाउ सुक्यो । देशमा हाहाकारको स्थिति पैदा भयो । राजा श्यामको पाउमा काँडा नभिबm्ने उपाय गर्दा समग्र राष्ट्रमा त्राहीत्राही मच्चियो ।
एकदिन एकाबिहानै एक दुब्लो पातलो र मैलाघैला वर्गका मान्छे एउटा अनौठो वस्तु लिएर राजदरवारमा हाजिर भए । ती व्यक्ति थिए त्यही राज्यका मोची र उनको हातमा थियो एक जोर जुत्ता । पशुको छालाबाट बनाइएको त्यो जुत्ता मोचीले राजाको पाउमा पहि¥याइ दिएर भने , महाराज अब हजुरको पाउमा काँडा बिझ्ने छैन । हजुरको पाउ सुरक्षित छ । यो राज्यभरमा काँडा र धूलो सफा गर्न थालिएको वितण्डा बन्द गरियोस् । मैले यो जुत्ताको अविष्कार गरेर समस्याको सामाधान गरिदिएको छु ।
राजाले जुत्ता लगाएर पैदल हिँडेर बिचार गरे । काँडामाथि टेके , काँडा भाच्चियो तर खुट्टामा गाडिएन । राजाले मन्त्री केवलरामको अनुहारतिर पुलुक्क हेरे । मन्त्री केवलरामले विलम्ब नगरी बोले , माहाराज यो मोचीको शरीरमा पक्कै पनि भूत प्रेत पिशाच वा कुनै शैतानी शक्ति प्रविष्ट गरेको हुनुपर्छ । यो जुत्तामा पनि कुनै जादु टोना वा हानी पु¥याउने शैतानी मन्त्र अभिमन्त्रित गरिएको हुनुपर्छ । यो जुत्ता लगाउँदा बिस्तारै माहाराजलाई हानी नोक्सानी हुन सक्छ । नत्रभने दरवारका यतिधेरै मन्त्री, भाई भारदार , सेनापति र वैद्यहरुलाई नफुरेको ज्ञान यो मोचीलाई कसरी फु¥यो ? यसलाई तुरुन्त मृत्यु दण्ड दिनुहोस् माहाराज ।
आफ्ना प्रियपात्र, प्रकाण्ड विद्वान मन्त्री केवलरामको तर्क राजालाई अकाट्य र उचित लाग्यो । राजाले मोचीलाई तत्कालै मृत्यु दण्डको सजाय सुनाए । मानवका पयर सुकुमार , सुकोमल र सुरक्षित रहोस् , पाउमा नबिझाउने र शोभायमान देखिने व्यक्तित्वमा ओज थप्ने उत्तम परिधान जुत्ता बनाउने महान वैज्ञानिक मोचीले मृत्यु दण्ड पाए । त्यसकारण आजसम्म महान मोचीहरुको पानी चल्दैन । उनीहरुलाई छुवाछुत गरिन्छ । उनीहरु समाजमा निम्छरा भएर बाँच्नु परेको छ ।
कथाको ऐतिहासिक प्रमाण हुँदैन । कथा जहिले पनि प्रतीकात्मक हुन्छ र यसलाई त्यही अर्थमा बुझ्नु पर्छ । धेरै अघि पढेको यो कथाको स्मरण मलाई त्यतिबेला भयो जब मैले गोलबजार नगरपालिकाको सचिवालयको फेसबुक पेजमा एउटा तस्बिर पोष्ट गरेको देखें । तस्बिर हो गोलबजार नगरपालिका वडा नं. १० स्थित आधारभूत विद्यालय धर्मपुरको । तस्बिरमा देखिएका महानुभावहरु हुनुहुन्छ माननीय लीलानाथ श्रेष्ठ, मेयर श्याम कुमार श्रेष्ठ , वडाध्यक्ष उपेन्द्र मुखिया , जिल्ला समन्वय समितिका उप संयोजक दिलीप कुमार लामा र विद्यालयका प्रधानाध्यापक मधुराम महतो । स्टाटसमा लेखिएको छ शैक्षिक सुधारका लागि सुझाव दिइयो । घुर्मी सडक खण्डको अनुगमन पनि गरियो ।
धर्मपुरको यो विद्यालय भवनको निर्माण कार्य सुरु हँदा नगरपालिका र स्थानीय समुदाय बीच निकै ठूलो घम्साघम्सी परेको थियो । स्थानीय समुदायले भनेका थिए यो विद्यालय हाम्रो गाउँमा छ , यसमा हाम्रा बालबच्चाहरु पढिरहेका छन् । यस विद्यालयका हर्ताकर्ता हामी हौं । यहाँ भवन निर्माण गर्दा हामीलाई सोधिनु पर्छ । हामीसँग सल्लाह गरिनु पर्छ । उपभोक्ता समितिमा जनता नै बस्न पाउनु पर्छ । शासकहरु बस्न हुँदैन । समावेशी लोकतन्त्रमा जनताले निर्णय प्रकृयामा बिचारसहित अर्थपूर्ण सहभागिता गर्न पाउनुपर्छ । जनताको माग जायज थियो । तर नगरपालिकाले लोकतन्त्रको यो सुन्दर पक्षलाई आत्मसात गरेन । किनकी भवन निर्माण कार्यमा अगाडि जो देखिए पनि पर्दा पछाडि शाहजादाको ठेक्का थियो ।
भवन बनेर तयार भयो । मेयर श्याम श्रेष्ठ र माननीय लीलानाथ श्रेष्ठ ज्यु एक पन्थ दुई काज भन्दै विद्यालय र घुर्मी सडक अनुगमन गर्न धर्मपुर र घुर्मी घाटसम्म दलबल लिएरपुग्नुभयो । फेसबुकमा पोष्ट भएको तस्बिर हेर्दा देखिन्छ माननीय महोदयहरुको दलबललाई स्थानीय जनताले कहि कतै स्वागत गरेनन् । यही धर्मपुर हो चुनावको बेला माननीय श्रेष्ठहरुको पछाडि जनताको लावालस्कर देखिन्थ्यो । तर अनुगमनमा जाँदा कुनै जनता अघिपछि लागेनन् । फूलमाला अविरको त कुरै छाडौं माननीय र मेयर आएका छन् गाउँमा , यसो भेटेर भलाकुसारी गरौं भन्ने पनि कसैको मनमा बिचार पलाएन ।
माननीय ज्यु र मेयर साहेब विद्यालय भवनमा आउनु भयो । शाहजादाको ठेक्कामा निर्माण भएको भवन नजर गर्नुभयो । त्यहाँ रैथाने समुदाय र शिक्षकहरु भेला भएर शैक्षिक उन्नयनका बारेमा छलफल भएको भए पो उपलब्धीमूलक हुन्थ्यो । एक जना हेडमास्टर मधुराम सरलाई माननीय ज्यु र मेयर साहेबले अर्ति उपदेश दिएर फर्किनु भएछ । तर फेसबुक पोष्टमा कारिन्दाहरुले चाटुकारी सलाम ठोकेर लेखेछन् “ शैक्षिक सुधारका लागि छलफल ” ।
कारिन्दाहरुको चाटुकारी देखेर माननीय ज्यु र मेयरसाहेब प्रफुल्ल हुनुभयो होला तर धर्मपुरका जनता हामीलाई स्वागत गर्न किन आएनन् ? हामीलाई आफ्ना आवश्यकता सुनाउन किन आएनन् ? हाम्रो सवारी चल्दा अघिपछि लावालस्कर भएर किन हिँडेनन् होला ? हिजोका दिनमा धर्मपुर आउँदा जनताले हृदय ओछ्याएर न्यानो स्वागत गरेका थिए । आज किन कसैले वास्ता गरेनन् त ? हिजो श्रेष्ठतमहरुको जय भनिएको थियो आज किन हाम्रो लोकप्रियताको क्षय भयो ? यसको रत्तीभर हेक्का रहेन श्रेष्ठतम मानवहरुलाई ।
मलाई पनि लुतो कन्याइ जस्तै मष्तिष्कमा खसखसी भयो । मैले धर्मपुरका एकजना युवा एमाले नेतालाई भेटेर सोधे । किन माननीय ज्यु र मेयर साहेबसँग समुदायले नभेटेको ? उनले भने उहाँहरु हाम्रो चह¥याइ रहेको घाउमा स्नेहलेप लगाउन आउनु भएको थिएन । उहाँहरु हाम्रो घाउमा नुन चुक दल्न आउनु भएको थियो । हिजोका हाम्रा सहयोगी धर्मपुरेहरुको मन कुढिएको होला – सुम्सुाएर , ढाढस दिएर वा फकाएर आऔं भन्ने अभिप्राय थिएन । शाहज्यादाले बनाएको घर हेरेर फर्किए । घुर्मीघाट सडक अनुगमन र ग्राभेल उत्खनन् गर्ने सम्भावित स्थान एकसाथ अनुगमन गरेर फर्किए ।
धर्मपुरको प्रसंग देखेर , सुनेर बुझेर मलाई एकादेशका एक समयका राजा श्याम र मन्त्री केवलरामको कथा झल्झल्ती सम्झना आयो । जहाँ मैलाघैला धर्मपुरे महान जनताको घाउमा नुन चुक छरिन्छ र चाटुकारहरुको झुटा प्रशंसाको आत्मरतिमा शासक रमाउँछन् । हे मुरली अधर धर हजुर नै जान्नुहोस् ।