५ लाख प्रति कट्ठाको जग्गा २२ लाखमा खरिद गर्ने तयारी ः गोलबजार नगरपालिकामा २ करोड ५५ लाख कमिशनको खेलो

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम श्रेष्ठले आफ्नो ७ नं. वडालाई शहरीकरण गर्ने र आफ्नो दाजुभाई , स्वजातीय बन्धु तथा कुटुम्बहरुको जग्गा जमिनको मूल्य वृद्धि गराउने दुरगामी योजना ( मास्टर प्लान ) कार्यान्वयन गर्न थालेका छन् । योजना अनुसार वडा नं. ७ चोहर्वामा रहेको पशु बजारका लागि भनेर मेयर श्रेष्ठका भाञ्जा प्रमोद श्रेष्ठको १५ कट्ठा जग्गा नगरपालिकाले खरिद गर्न लागेको हो ।

पशु हाट बजारदेखि उत्तर पश्चिम कुनामा रहेको सडकले नछोएको जोतसिम जग्गा प्रति कट्ठा २२ लाखका दरले तीन करोड तीस लाखमा नगरपालिकाले खरिद गर्न प्रकृया अगाडि बढाएको छ । शुत्रका अनुसार वडा नं. ७ र ८ का वडाध्यक्ष र केही आफ्ना समर्थकहरुबाट मुचुल्का उठाइ सकिएको छ । मालपोत, बैंक र नापी कार्यालयसँग अन्तिम मूल्यांकन प्रतिवेदन संकलन गरेपछि जग्गााको भुक्तानी जिल्ला प्रशासन कार्यालय सिरहामार्फत गर्ने र जग्गा नगरपालिकाको नाममा दाखिल खारिज गर्ने प्रकृया अघि बढाइने छ ।

जग्गा प्राप्ति ऐन अनुसार नगरपालिकाले जग्गा लिंदा सर्वप्रथमतः नगर कार्यपालिकाबाट निर्णय गरिनुपर्छ । नगर कार्यपालिकाको निर्णय नगर परिषद्बाट अनुमोदन गरिनुपर्छ । तत्पश्चात जिल्ला प्रशासन कार्यालय समेतको सिफारिस लिएर स्थानीय विकास मन्त्रालयमा पेस गर्नुपर्छ । स्थानीय विकास मन्त्रालयले मन्त्रिपरिषद्मा निर्णयार्थ पठाउनु पर्छ । मन्त्रिपरिषद्को स्वीकृति पश्चात जग्गा खरिद गर्न नगरपालिकाले प्रकृया अगाडि बढाउनु पर्छ । मेयर श्याम कुमार श्रेष्ठको भनाइ अनुसार यहाँसम्मको सबै प्रकृया पूरा भइसकेको छ ।

चोहर्वा गुद्री बजार वडा नं. ७ मा सार्ने तयारी । ७५ लाख पर्ने जग्गा साढे तीन करोडमा खरिद गरिंदै । गोलबजार गुद्री बजार भर्सेला परोस् तर चोहर्वा पशु हाटको लागि थप १५ कट्ठा जग्गा खरिद गर्ने योजना अन्तिम चरणमा । श्रेष्ठ टोलबासीको जग्गा छेउछाउ शहरीकरण गर्ने दुरगामी योजना । मामाले भाञ्जा पोस्ने र भाञ्जाले मामा पोस्ने योजना रहेको स्थानीयको आरोप । यही जग्गा खरिद प्रकृया द्रुतगतिमा अगाडि नबढाउँदा अनन्त कुमार पौडेललाई हठात हटाइएको शुत्रहरुको दाबी ।

मन्त्रिपरिषद्ले स्वीकृती प्रदान गरेपछि गोलबजार नगरपालिकाले निशुल्क जग्गा दिने कोही छन् भने प्रस्ताव पेस गर्न सूचना निकाल्नु पर्छ । तोकिएको मितिमा निशुल्क जग्गा दिने दाता कोही आएनन् भने मात्र जग्गा खरिद गर्ने र मूल्य सहित जग्गा दिन चाहनेहरुका लागि प्रस्ताव गर्न सूचना प्रकाशित गरिन्छ । यी दुई प्रकृया पनि पूरा गरिएको शुत्रहरुको दावी छ । तर यी सूचनाहरु बाहिर प्रकाशित नगरी गोप्य रुपमा विधि मात्र पु¥याइएको छ ।

निशुल्क जग्गा दाता नआएको भन्दै सशुल्क जग्गा दिन चाहनेहरुसँग प्रस्ताव माग गरिए पछि ४ जनाले फरक फरक मूल्य सूची राखेर नगरपालिकामाप्रस्ताव पेस गरेका छन् । शुत्रका अनुसार ती चारै जना व्यक्तिहरु मेयर श्रेष्ठका स्वजातीय बन्धु वा आफन्तहरु नै हुन् । को कसले कति दर रेटमा जग्गा दिन राजी भएका छन् तिनको नाम र जग्गाको दर रेट पारदर्शी गरिएको छैन । सबैथोक गोप्य राखिएको छ । शुत्रहरुले जानकारी दिए अनुसार सबैभन्दा कम मूल्य प्रति कट्ठा २२ लाख मेयरका भाञ्जा प्रमोद श्रेष्ठले पेस गरेका छन् । यसै आधारमा भाञ्जाको जग्गा मामा मेयरले नगरपालिकाको लागि खरिद गर्ने गराउने पक्कापक्की भएको छ ।

जग्गा खरिदको अर्को पाटो कमिशन र मामाले भाञ्जा पोस्ने भाञ्जाले मामा पोस्ने खेलो रहेको स्थानीयहरुको आरोप छ । दावानलले यस प्रसंगमा गहिरो अनुसन्धान गरेको छ । दावानलले गोलबजार नगरपालिका वडा नं. ७ र ८ का भलाआदमी, माथवर व्यक्ति , व्यापारी र प्रतिष्ठित वृद्धवयका व्यक्तिहरुसँग सोधनी गर्दा नगरपालिकालाई बिक्री गर्न प्रस्ताव गरिएको जग्गाको चलनसारको मूल्य अनुसार प्रतिकट्ठा अधिकतम ५ देखि ६ लाख पर्छ । तर उपरोक्त जग्गा प्रति कट्ठा २२ लाख हालेर खरिद गर्ने तयारी गरिएको छ । ७५ लाख मूल्य पर्ने जग्गा तीन करोड ३० लाख हालेर खरिद गरिदैछ । जग्गा खरिदबाट नगरपालिकाको २ करोड ५५ लाख रकम अपचलन हुने देखिन्छ । यसमा कसको भागमा कति पर्छ त्यो भने पत्ता लगाउन सकिएन ।

चोहर्वा बजार विकास समितिका कार्यकारी अधिकृत अनील कुमार सिंह भन्छन् श्रेष्ठहरुको विस्तावादी नीति हो । पहिले पनि वडा नं. ८ को महत्वपूर्ण भूभागहरु वडा नं. ७ मा गाभेका छन् । अब यो बजार पनि उठाएर उत्तरतर्फ लैजाने प्रपञ्च रचेका छन् । तर हामी त्यसलाई सफल हुन दिदैनौ । हामीले पहिले पनि यसबारे ज्ञापन पत्र नगरपालिकामा बुझाएका छौं । नगरपालिकाले खरिद गर्ने प्रस्ताव गरेको जग्गाको हालसालको मूल्य अधिकतम ५ लाख प्रति कट्ठा हो । त्यो जग्गा २२ लाख प्रति कट्ठा खरिद गर्नु भनेको सिधै भ्रष्टाचार गर्नु हो ।

गोलबजार उद्योग व्यापार संघका सचिव बीरेन्द्र सिंह भन्छन् पशु हाटको लागि खरिद गर्ने भनिएको जग्गाको वास्तविक मूल्य ४ देखि ५ प्रति कट्ठा हो । त्यो जग्गा २० देखि २५ लाख प्रति कट्ठामा खरिद गर्नु भनेको सरकारको पैसा अपचलन गर्नु हो । चोहर्वाको गुद्री बजार सार्ने षडयन्त्रको गन्ध आइरहेको छ । बजार सारियो भने परम्परादेखि व्यापार गर्दै आएका पुराना व्यापारीहरु सबै विस्थापित हुनेछन् । चोहर्वा बजारको अस्तित्व नै मेटिने छ ।
वडा नं. ८ का पूर्व वडाध्यक्ष तथा चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्र यादव भन्छन् बयल हाटबजारका लागि प्रथमतः जग्गा नै आवश्यक छैन । भएको २२ कट्ठा जग्गामा नै पशु भरिदैन । अब गोरु धेरै कम किसानको घरमा छ र बिक्री गर्न पनि कमै ल्याइन्छ । थोरै संख्यामा पाडा बिक्रीका लागि ल्याइन्छ । आधा फिल्ड पनि भरिएको हुँदैन । यो जग्गा खरिद प्रकरण भनेको मामाले भाञ्जा पोस्ने र भाञ्जाले मामा पोस्ने परियोजना हो । कमिशनको खेल हो , कमाउ धन्दा हो । प्रस्ताव गरिएको जग्गा मुस्किलले ५ लाखको कट्ठाले बिक्री हुने जग्गा हो ।

पूर्व वडाध्यक्ष तथा बजार विकास समितिका अध्यक्ष सिंह थप्छन् , लीलानाथ श्रेष्ठ मन्त्री हुँदा गौराहादेखि घुर्मीघाटसम्म रणनीतिक सडक भनेर योजना पारेका थिए । यो सडक घुर्मी घाटदेखि चोहर्वा र पानवारी छेउछाउको मन्त्री र मेयर श्रेष्ठको गाउँ घर र जग्गा जमिन हुँदै गएको छ । त्यसरी सडक निर्माण गर्दा अहिले वडा नं. ८ मा मौजुद रहेको चोहर्वा गुद्री हाट विस्थापित हुन्छ । सडक बीचै बजारबाट लैजाने योजना छ । गुद्री बजार वडा नं. ८ बाट विस्थापित गराएर वडा नं. ७ पशु हाट बजार नजिक सार्ने सांसद लीलानाथ श्रेष्ठ र मेयर श्रेष्ठको ग्रान्ड डिजाइन ( मास्टर प्लान ) हो । त्यसका लागि थप जग्गा खरिद गर्न लागिएको हो अन्यथा पशुहाटका लागि थप जग्गा आवश्यक छैन ।

गोलबजार नपा – १० का भरोसी मण्डल भन्छन् ४ देखि ५ लाखको कट्ठाले बिक्री हुने जग्गा हो । धेरै गायो भने ६ लाखसम्म जाला । तर त्यो भन्दा बढी जाँदैन । अब नगरपालिकामा पैसा धेरै छ त जति खन्याए पनि भयो । त्यसैगरी नरहा गाउँपालिका वडा नं. ५का दिनेस कुमार यादव भन्छन् उक्त जग्गा ५ लाखभन्दा बढी जाने जग्गा नै होइन । अहिले जग्गाको मूल्य स्वात्तै घटेको छ । जोतसिम जग्गाको त्यति धेरै मूल्य नै पर्दैन ।

गोलबजार नपा ७ का वयोवृद्ध उदयशंकर साह भन्छन् गोरु हट नजिकको जमिन जोतसिम (जोतिखाने ) हो । त्यसको अधिकतम मूल्य ५ लाखसम्म पर्छ । ५ लाखको जग्गा २२ लाखमा किन्ने भने पछि त म छक्कै परें । नगरपालिकाको पैसा जे गरे पनि भयो ।

वडा नं. ८ का बासिन्दा तथा चोहर्वा बजार विकास समितिका सचिव शिव कुमार यादव भन्छन् –सुन्नमा आएको छ चोहर्वा गुद्री हटिया राजमार्गदेखि उत्तर सार्ने योजना छ रे तर यो हुन सक्दैन । हामी यो हुनै दिदैनौ । यो बजारमा सैकडौ मानिसको जीविकोपार्जन जोडिएको छ । बजार सारियो भने सबै बर्बाद हुन्छन् । बजार विकास समितिले बजार सार्न दिने छैन ।

 

गोलबजार नपा ७ कै वृद्ध व्यक्तित्व राम प्रसाद महतो भन्छन् बहुत भन्दा बहुत ६ लाख त्यो भन्दा बढी जादैन त्यो जग्गा । मैले जानेको र देखेको त्यत्ति हो । जसलाई जे मन लाग्छ त्यही गरे भयो ।

गोलबजारका भला मानवमा गनिने लम्बोदर दाहाल भन्छन् कुनै दिन कुनै गाडीको स्टेरिङ्ग फेल भयो वा थोरै तलवितल प¥यो भने गोलबजार हटियामा दर्जनौ मानिस एकै चिहान हुन्छन् । बजार सार्ने नाममा लाख का लाख खर्च गर्छन् तर परिणाम शून्य छ । मेयर श्याम श्रेष्ठको कार्यशैलीमा मैनावत्ती पूर्वका लागि प्राथमिकता नभएको देखिन्छ ।

उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साह भन्छन् मेयर श्याम श्रेष्ठले व्यपार संघ गोलबजारसँग आजसम्म विकास निर्माण र बजार व्यवस्थापनका लागि कुनै समन्वय र छलफल गरेका छैनन् । बजार सार्न सहयोग माग्दा हामीले सहयोग ग¥यौं तर नगरपालिका आफै असफल भयो । चोहर्वा खासगरी ७ नं. वडा मात्र उहाँहरुको प्राथमिकतामा छ । गोलबजारको समस्या प्रति उदासिनता देखिन्छ ।

यस प्रसंगमा हामीले नेपाली कांग्रेसका नेता चन्द्रदेव यादवसँग पनि प्रतिक्रिया माग्यौ । पहिले गोलबजारको अस्तव्यस्त हटिया व्यवस्थापन गर्न आवश्यक छ कि चोहर्वाको पशु हाट ? दावानलको प्रश्नमा उत्तर दिंदै यादवले भन्छन् – यो गोलबजारको हटियाका लागि जग्गा किन्नु पहिलो आवशयकता हो । चोहर्वामा केही दिन पछि किन्दा पनि हुन्छ । यहाँ त बजार पूरै राजमार्गमा छ ।

नेता यादवले पुरनो एक प्रसंग याद गर्दै भने दशैंतिरको कुरा हो लीला जीलाई मैले भने किन पशु हाटलाई अहिले जग्गा चाहियो र ? सांसद जीले भन्नुभयो चोहर्वा पशुहाटकोआम्दानी त्यही लगानी गरिदिन खोजेको हो । चोहर्वा गुद्री बजारको ठेक्का रकम चोहर्वा स्कूलकै लागि खर्च हुन्छ । पशु बजारको आम्दानी पनि वडा नं. ७ मै लगानी गर्ने अरे । गोलबजारको आम्दानी किन सबैतिर छर्नु प¥यो त ? यादवले प्रतिप्रश्न गर्नुभयो ।

एमाले नेता सुवर्ण दाहाल भन्छन् गोलबजार प्रति नगरपालिकामा कुनै सकारात्मक भावना देखिएन । गोलबजारको बाख्रा बजारका लागि अलग र तरकारी बजारको लागि अलग्गै जग्गा किन्न आवश्यक छ । पशु हाटको लागि अहिले तत्काल जग्गाको जरुरत नै छैन । लिजमा लिएर भए पनि बजार व्यवस्थापन गर्न भन्यौ तर सुनुवाई भएन ।

यस प्रसंगमा वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण गौतमसँग प्रतिक्रिाय माग्दा उनी भन्छन् गोलबजारको बजार व्यवस्थापन पनि आवश्यक छ । चोहर्वा पशु हाटको लागि पनि आवश्यक छ । पहिले प्राथमिकता कुनले पाउनु पर्ने हो भन्दा उनले भने विस्तारै सबै हुन्छ ।

वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादवले त फेसबुक मै स्टाटस लेखेर गोलबजारको तरकारी बजारले दिक्दार बनाएको उल्लेख गरेका छन् । यादवले समस्या समाधान गर्ने पहलकदमीमा नगरपालिकाले विलम्ब गरिरहेको पनि बताए ।

जग्गा खरिद प्रकरणबारे मेयर श्याम कुमार श्रेष्ठको प्रतिक्रिया जान्न खोजियो । सर्वप्रथमतः उनले भने जथाभावी नलेख्नुस् , बुझेर लेख्नुस् । हामीले भन्यौं बुझेरै लेख्नका लागि त हजुरसँग बुझ्न खोजेका हौं । हामीले साध्नेबित्तिकै मेयर श्रेष्ठले भने – हो पशु हाटका लागि १५ कट्ठा जग्गा किन्ने प्रकृया अघि बढेको छ । जग्गा किन्ने नै हो ।

अनि ५ लाखको कट्ठाले बिक्ने जग्गा २२ लाख हालेर किन्दै हुनुहुन्छ भन्ने सुनियो । स्थानीयहरु भन्छन् त्यो जग्गा ५ लाख कट्ठामा पाइन्छ । जग्गा पनि तपाईको आफन्त कै हो अरे । पछि प्रश्न उठला , बिबादमा परिएला , के भन्नुहुन्छ ? हाम्रो प्रश्नको उत्तरमा मेयर श्रेष्ठ भन्छन् त्यो कुरा मलाई थाहा छैन । पशु हाटदेखि उत्तर , पश्चिम र दक्षिणमा वरपरका जसले जग्गा दिन्छ त्यो जग्गा किन्ने हो । कसैले नदिए अहिले रोजेको जग्गा विकल्पमा किन्ने हो । मूल्यको सवालमा बैंक,नापी, मालपोत र वडाहरुसंग मूल्यसूची मागेको छु । नगर परिषद्ले पास गरेको कुरा हो ।

हामीले फेरि प्रश्न थप्यौं पशुहाटको लागि अहिले त्यति आवश्यक छैन जग्गा । विजोग त गोलबजार हटियाको छ । राजमार्गमा हटिया लागिरहेको छ । के तपाईको प्राथमिकता आफ्नै घर छेउछाउ हो ? गोलबजारलाई उपेक्षा गर्नुभएको हो ? यस प्रश्नको जवाफमा मेयरश्रेष्ठले भन्छन् त्यो कुरा मलाई थाहा छैन । कुरा के हो भने पशु हाटमा अर्काको जमिनमा हाट लाग्छ । सधै बिबाद हुन्छ । मेरो जमिनमा किन ल्याएको भन्छन् । त्यसमा फेरि हाम्रो माथिबाट पैसा पनि आउँछ । आवास घर बनाउन, पशुको लागि पशु विहार घर बनाउन , चमेनागृह बनाउन , व्यापारीहरुलाई बास बस्ने घर बनाउन पैसा आउँछ । जुन ठाउँबाट सालको ७५ लाख आम्दानी हुन्छ त्यहाँ केही गर्नु पर्छ । व्यापारीहरुको डिमाण्ड छ आवास घर चाहियो भनेर ।

हामीले फेरि प्रश्न थप्यौं के भवनहरु ब्नाउन बजेट आउन लागेको हो ? मेयर श्रेष्ठले भने हो बजेट आउँदै छ । हामीले पनि थप्नु पर्छ । साझेदारीमा हो ।

घुर्मीघाट गौराहा सडकले चोहर्वा गुद्री बजार विस्थापित हुने र त्यो बजार पनि पशुहाटतर्फ सार्न लाग्नु भएको छ भन्ने सुनिन्छ , के हो सत्य ? मेयर श्रेष्ठको जवाफ थियो खोई मलाई थाहा छैन बजार सार्ने कुरा । सडक चाँही बजारदेखि पूर्व वा पश्चिमबाट लैजाने भनेका छौं ।

अन्त्यमा हामीले सोध्यौं गोलबजारको हटियाको वेहाल हुँदाहुँदै आफ्नै घर छेउछाउको पशुहाटमै प्राथमिकता दिएको देख्दा काखापाखा गरेको देखियो नि मेयर साहव भन्दा मेयर श्रेष्ठ भन्छन् त्यसको लागि फोनमा होइन नगरपालिकामा आएर कुरा गर्नुस् । गोलबजारको लागि जग्गा किन्नु पर्ने हो कि लिजमा लिनु पर्ने हो यहाँ आएर भन्नुस् ।

हामीले बिट मार्दै भन्यौ , मेयर साहव आफैले वेथिति देखिरहनु भएको छ हामीले आएर भनिदिनु पर्छ र ! मेयर श्रेष्ठको उत्तर थियो त्यो कुरा म जान्दिन , तपाई फोनमा धेरै कुरा नगर्नुस् । यहाँँ आएर एक दुई घण्टा छलफल गर्नुस् ।

माओवादीकानेता रामचन्द्र सिंह भन्छन् नगर विकास कोषबाट ऋण लिएर गोलबजार स्थित धमिनी मन्दिर परिसरमा निर्माण गर्ने भनिएको व्यापारिक मलको व्यापक विरोध भएपछि त्यसलाई पशु बजारतर्फसार्ने तानावाना बुनिएको छ । सिंह भन्छन् थप जग्गा किनेर चोहर्वा गुद्री बजार उत्तरतर्फ सार्ने र एक भव्य व्यापारिक कम्पलेक्स बनाउने मेयर श्रेष्ठको ध्याउन्न छ । स्मरण रहोस् पशु हाट वरिपरी सांसद लीलानाथ श्रेष्ठ , मेयर श्याम श्रेष्ठ र उनीहरुका आफन्त , स्वजातीय बन्धु र टोलबासीहरुको अधिकतम जग्गा जमिन छ ।

अन्त्यमा पुश हाटमा १५ लाखभन्दा अधिकको बजेटमा निर्माण गरिएको शौचालयको अवस्था कस्तो छ भनेर हामीले भिडियो खिचेर यहाँ संलग्न गरिदिएका छौं । यो शौचालय व्यवस्थित गर्न नसक्ने नगरपालिकाले अझै थप भवन बनाउँदा कस्तो होला व्यवस्थापन ? भिडियो हेरेर अनुमान लगाउन सकिन्छ ।


प्रकाशित : २०८० पुष २७ शुक्रबार