सेनाको ब्यारेक नै जोखिममा परिसक्यो – कुन निकायमा उजुरी गरौं सिडिओ साहेब ? सिरहाका प्रमुख जिल्ला अधिकारी ज्युलाई खुला पत्र –३

[sharethis-inline-buttons]

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु
जिल्ला प्रशासन कार्यालय सिरहा

शान्तिको समयमा सेनाले जति धेरै पसिना बगाउँछ युद्धको समयमा त्यति नै कम रगत बग्छ । जंगी निकायमा यो भनाइ प्रचलित छ । यसको अर्थ हुन्छ सेना कहिल्यै चुप लागेर बस्दैन । सेनाले जहिल्यै पनि युद्ध लडिरहन्छ वा युद्ध लड्ने अभ्यास गरिरहन्छ । पसिना बगाइ रहन्छ । युद्धाभ्यास गर्नु पनि युद्ध सरह नै हो । सेनाको गठन नै युद्धको अभिप्रायले गरिन्छ । सेना बिना राज्य निमेष भर पनि टिक्दैन ।

सेनाको ब्यारेक सामरिक र रणनीतिक दृष्टिकोणबाट सुरक्षित स्थानमा खडा गरिन्छ । वरिपरीको सामरिक अनुकुलता र प्रतिकुलता बिचार गरिन्छ । कहि कतैबाट आक्रमण भइहाल्यो भने शत्रु पक्षले रणनीतिक लाभ लिएर फाइदा उठाउन नसकोस् , आड लिएर आक्रमण गर्ने सुविधा नपाओस् र सेनाको ब्यारेक भित्र कुनै हालतमा पस्न नपाओस् भन्नेतर्फ फौजी इन्जिनीयरिङ्ग दृष्टिकोणबाट संरचना तयार गरिएको हुन्छ । कुनै प्राकृतिक विपद जस्तै बाढी, पहिरोले क्षति नपु¥याओस् भनेर पनि सतर्कता अपनाइएको हुन्छ ।

म सेना र सैनिक परम्पराको बारेमा नगण्य ज्ञान राख्दछु । तर मलाई यति बोध छ कि सेना छैन भने राष्ट्र समष्टिगत रुपमा धेरै दिन रहिरहन सक्दैन र राज्यको अस्तित्व बच्न सक्दैन । सेना छैन भने बाह्य वा आन्तरिक आक्रमण हुन बेर लाग्दैन । २०५२ सालमा सुरु भएको आन्तरिक सशस्त्र बिद्रोहले १२ वर्षसम्म युद्धको विभीषिका बेहोर्नु परेको धेरै दिन भएकै छैन ।

सिडियो साहेब , अब म पत्रको मजबुनमा उल्लेख गर्नु पर्ने महत्वपूर्ण कुरामा प्रवेश गर्दैछु । सिरहाका जिल्लाको चोहर्वामा विगत ४० वर्षदेखि सेनाको ब्यारेक छ । अहिले सोही स्थानमा सेनाको वाहिनी अड्डा पनि थपिएको छ । सदरमुकाम सिरहा नजिक सारस्वर गाउँबाट यो ब्यारेक सारेर चोहर्वामा स्थापना गरिएको हो । ब्यारेक स्थापना गर्नु अधि सेनाले सामरिक , राणनीतिक र परिचालनको सुगमता सहजता आदि बारे चौतर्फी अध्ययन गरेर नै यस स्थानलाई उपर्युक्त ठह¥याएको हो ।

तर अहिले सेनाको गणको बयारेक र वाहिनी अड्डा दुबै जोखिममा परेको देख्छु । एउटा सचेत तथा कर्तव्यपरायण नागरिक भएको कारणले नेपाली सेनाको दुई वटा महत्वपूर्ण ब्यारेकहरु जोखिममा परेको देख्दा मौन बस्न सकिएन । त्यसकारण यो खुला पत्र लेख्दैछु । दुबै ब्यारेको उत्तरपट्टी गिट्टी , ढुंगा, बालुवा , माटो र ग्राभेल उत्खखन् गर्ने तस्करहरुले बडेमानका खाडलहरु खनेर ब्याारेकलाई संकटाभिमुख बनाइदिएका छन् । गण र वाहिनी अड्डाको उत्तर र पूर्वतर्फ करिब ५० स्थामामा यस्ता खाडलहरु खनिएका छन् । खाडलको स्वरुप यति भयावह छ कि हेर्दै डरलाग्दो छ । सतहभन्दा १५ मिटर गहिरोसम्म खनिएको छ । खाडलको सम्पूर्ण आयतन हेर्दा कुनैदिन फेरि युद्ध भयो भने शत्रुपक्षले यी खाडलहरुमा आड लिएर सेनाको ब्यारेकमाथि धावा बोल्न सक्छन् । यद्यपि अहिले कुनै युद्ध होला जस्तो देखिदैन तर स्मरण रहोस् सेनाले युद्धको सम्भावनालाई कहिल्यै इन्कार गर्दैन । कथंकदाचित युद्ध भइहाल्यो भने चोहर्वाको दुई वटा सैनिक ब्यारेक सामरिक र रणनीतिक रुपमा यी खाडलहरुका कारण असुरक्षित हुन जानेछ ।

प्रजिअ ज्यु , कुनै कुनै खाडलहरु त ब्यारेकको तारबार गरिएको सीमाबाट मात्र ५० मिटरको दुरीमा छन् । खाडल मात्र खाडलको आकारमा छैन अपितु बिराट ओडार वा ताल आकारका छन् । ब्यारेकको उत्तर पूर्वतर्फ खनिएका यी ५० वटा खाडलहर्रु भारी वर्षा भयो भने नदीमा रुपान्तरण गर्न धेरै समय लाग्दैन । १५ देखि २० मिटर गहिरो खनिएकोले पहिरो जाने निश्चित छ । पहिरो जाँदा माटो र पानी बगेर सिधा ब्यारेक भित्र पस्ने छ । रातको समयमा ब्यारेक भित्र सुतिरहेका हाम्रा सेनाका जवानहरु पहिरोले पुरिन सक्छन् । ब्यारेक भित्रका भवनहरु क्षतिग्रस्त हुन सक्छ । यी खाडलहरुमा जमेको वर्षाको पानी बगेर ब्यारेक भित्रै छिर्छ । यो एउटा थप जोखिम देखिन्छ ।

नेपालको संविधानले हरेक नागरिकलाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्ने मौलिक अधिकारको प्रत्याभूति गरेको छ । संविधान प्रदत्त यो वातावरणीय अधिकार नेपाली सेनाका जवानहरुलाई पनि उपलब्ध छ । नेपाली सेना स्वयं चुरे संरक्षणमा दत्तचित्त भएर लागेको देखिन्छ । तर चोहर्वा स्थित दुई वटा ब्यारेकको बलेनीसँग टाँसिएरै प्रकृति विनासको यो अतिशय पीडादायी उपद्रव भइरहँदा सिरहाको प्रहरी र प्रशासन किन मौन छ ? प्रशासनिक मौनता र निस्कृयता आश्चर्यलाग्दो मात्र छैन अपितु शंकास्पद पनि छ । विज्ञानले भन्छ कारण नभई कुनै घटना हुँदैन । आगो नबलेसम्म धुँवा निस्कदैन । प्राकृतिक अमूल्य निधि ढुंगा, गिट्टी, बालुवा, माटो र ग्राभेल उत्खनन्का सौदागरहरुको कमिशन नखाई प्रशासन यतिविघ्न गैरजिम्मेवार , समाजघाती र राष्ट्रघाती हुनै सक्दैन ।

प्रजिअ ज्यु , इलाका प्रहरी कार्यालय मिर्चैया लगायत अन्य प्रहरी कार्यालयहरु तथा जिल्ला समन्वय समिति सिरहामा कुनै सचेत नागरिक वा पत्रकारले फोन गरेर अवैध उत्खनन् भइरहेको जानकारी गराउँदा तत्– तत् निकायहरुले तस्करहरुलाई फलानोले फोन गरेको थियो भनेर सूचना चुहाईदिन्छन् । प्रहरी र प्रशासनिक निकायसँग उत्खनन्का तस्करहरुको त्यस्तो मीठो पिरती गाँसिएको छ । तस्करहरु फोन गरेर जानकारी दिनेलाई धम्क्याउन घरैमा आइपुग्छन् । उत्खनन् गरिरहेका बेला तस्बिर खिच्न पत्रकारहरुले ज्यानकै बाजी थाप्नुपर्छ । पत्रकारलाई पनि लोभ देखाइन्छ । नबिक्ने पत्रकारलाई कटुवा पेस्तोल देखाइन्छ । कहिलेकाँही प्रहरी उत्खनन् स्थलतर्फ आएको स्वाङ गर्छन् र उत्खनन् गरिएको भेटिएन भनेर उपल्लो तहमा रिपोर्ट गरिदिन्छन् । अब त इलाका प्रहरी कार्यालय मिर्चैयाले हाकाहाकी भन्न थालेका छन् , यो हाम्रो ड्युटी होइन । स्थानीय निकायलाई भन्नुस् । स्थानीय निकायकै घुसखोरी , कमिशनतन्त्र र उत्खनन् तस्करहरुसँगको साँठगाँठको गर्भबाट यो भीमकाय समस्याको जन्म भएको सर्वविद्धितै छ । स्थानीय निकायलाई भन्न जानुको कुनै तुक र अर्थ छैन ।

पत्रकारहरुले धेरै कचकच गरेपछि जिल्ला समन्वय समित सिरहा एक दुई पटक अनुगमनमा निस्क्यो । एक दुई वटा गाडी पक्रेर जरिवाना ग¥यो त्यसपछि आरामदायी सिरानी लगाएर मस्त निन्द्रामा सुत्यो । पत्रकारले उजुरी गरेर उत्खनन् स्थान देखाइ दिएपछि जिससलाई उत्खनन्का तस्करहरुसँग सेटिङ्ग मिलाउन झन् सजिलो भएछ । कार्यालयमा बोलाएर कमिशन डिल ग¥यो । देखे पनि नदेखे जस्तो ग¥यो ।

प्रजिअ ज्यु , आज धेरै संख्यामा तस्बिरहरु पोष्ट गर्दैछु । यी तस्बिरहरु नेपाली आमाको सपुत हुँ भन्ने मनोभाव राखेर हेर्नुहोस् । कानूनले सुम्पेको प्रजिअको जिम्मेबारी मनन् गर्नुहोस् । राष्ट्र, जनता र समाज प्रतिको कर्तव्यपालनलाई स्मरण गर्नुहोस् । कस्तो लाग्छ तपाईलाई ? के यी उत्खनन्हरु जायज छन् ? यी खाडलहरु समाज , वातावरण र देशको हितमा छन् त ? के कानूनले यी तस्करहरुलाई कठघरामा उभ्याउन भन्दैन ? वातावरणको यो क्षयीकरणले विकास गर्छ कि विनास ल्याउँछ ? के सिरहाको प्रहरी प्रशासन पूर्णतया उत्खनन् तस्करहरुको नियन्त्रणमा परेको हो ?

म सर्वसाधारण नागरिक हुँ । मेरो कतै पहुँच छैन । म काठमाडौं वा सेनाको मुख्यालयसम्म जान सक्दिन । चिनजान पनि छैन । जाने खर्च पनि छैन । अब भन्ने एक मात्र ठाउँ र अधिकारी प्रमुख जिल्ला अधिकारी नै हुन भनेर यो निवदन रुपी पत्र प्रेषण गरेको छु । आशा छ सिडियो साहेबको आत्मा जागृत हुनेछ । भएन भने हामी नेपालीको दुर्भाग्य ठानेर चित्त बुझाउँला ।

बोधार्थ ः
जिल्ला प्रहरी कार्यालय सिरहा
जिल्ला समन्वय समिति सिरहा

अर्जुन थपलिया
सञ्चारकर्मी


प्रकाशित : २०८० पुष २२ आईतवार