विद्यालय जाने बालबालिकाहरुले ४५ मिनेट पढेपछि घण्टी लाग्छ । घण्टी बजेपछि एउटा कक्षा समाप्त हुन्छ । शिक्षक बदलिन्छन् । विषय फेरिन्छ । अर्को कक्षा सुरु हुन्छ । तर गोलबजार नगरपालिका वडा नं. १३ मा अवस्थित श्री आधारभूत विद्यालय बलिराजपुर दुर्गापुरमा कहिल्यै घण्टी लाग्दैन । कक्षामा शिक्षक बदली हुँदैन । वियगत रुटिन छैन । कुन बेला कुन विषय पढ्ने पनि यकिन छैन । भन्नुहोला यस्तो किन ? सुन्दा अचम्म लाग्न सक्छ । तर प्राथमिक शिक्षाको यो दुर्दशा अयन्त्र कही नभएर गोलबजार नगरपालिका मै छ ।
यस विद्यालयमा २९५ जना विद्यार्थी मौजुद छन् । १ देखि ५ सम्म सबै कक्षामा विद्यार्थीहरु टनाटन छन् । विद्यार्थीहरु राष्ट्रिय गान गाएर कक्षा भित्र पस्छन् । शिक्षक उपेन्द्र सिंह दनुवार एउटा कक्षामा पस्छन् । ५ मिनट पढाउँछन् अनि अर्को कक्षामा छिर्छन् । अर्को कक्षामा १० मिनट पढाए पछि फेरि अर्को कक्षामा पस्छन् , त्यहाँ १५ मिनट पढाएर अर्को कक्षा बदली गर्छन् । बाँदर उफ्रिएर एउटा डालाबाट अर्को हाँगा र एउटा रुखबाट अर्को रुखमा बुर्कुसी मारे जस्तै शिक्षक सिंह असिन पसिन भएर यो कक्षाबाट त्यो कक्षा अनि त्यो कक्षाबाट फेरि अर्को कक्षामा दौड लगाउँछन् ।
अब सोच्दै हुनुहुन्छ होला यस्तो किन ? किनकी यो विद्यालयमा शिक्षक नै जम्मा एक जना छन् । १ देखि ५ कक्षासम्म पढाउने जिम्मेवारी शिक्षक सिंहको एकल थाप्लोमा छ । २०६६ सालमा स्थापना भएको यो सामुदायिक विद्यालयमा २९५ जना विद्यार्थी रहेका छन् तर शिक्षक जम्मा एक जना छन् ।
५ वटा कक्षा , २९५ जना विद्यार्थी र सबै कक्षामा अंग्रेजी, नेपाली , गणित र मेरो सेरोफेरो भन्ने सामाजिक विषय । यस्तो परिस्थितिमा एक जना शिक्षकले कुन कक्षामा कुन घण्टीमा कुन विषय पढाउने ? शिक्षक सिंह एक्लै । घरीघरी उनलाई फनफनी रिंगटा लाग्छ । तिर्खाले घाँटी सुक्छ । बोल्दा बोल्दा च्यापु दुख्छ । तर पनि गर्धनमा झुण्डिएको ढोल बजाउनै प¥यो भनेर ऐन केन प्रकरेण उनी पढाई रहन्छन् ।
यो विद्यालयका विद्यार्थीहरुलाई अलग अलग विषयको अलग अलग शिक्षक हुन्छन् भन्ने नै थाहा छैन । कक्षामा कसैले गणित किताब पल्टाएका हुन्छन् त कसैले नेपाली । कसैले अंग्रेजी त कसैले मेरो सेरोफेरो । कुन कक्षामा कुन विद्यार्थीलाई कुन विषय पढाउने ? शिक्षक सिंह अलमलमा हुन्छन् । कुन विद्यार्थीले कति बुझे कति सिके त्यसको मूल्यांकन गर्न कसरी भ्याउनु ? कुन कुन पाठ पढाई भयो भन्ने पनि हेक्का हुँदैन । विद्यार्थीले नबुझेको कुरा शिक्षकलाई सोध्छु भनेर कल्पना पनि नगरे हुन्छ । शिक्षक सिंह भन्छन् , कक्षामा पसेर पढ पढ भन्छु । नानीहरुले जसले जुन पायो त्यही किताब झिक्छन् । आफ्नै सुरमा बालबालिकाहरु पढ्न थाल्छन् । साँझपख बाँस घारीमा बास बस्न आएका चराहरुको चिरबिर र कलरब जस्तै आवाज आउँछ । ५–६ घण्टा २९५ जना बालबालिकालाई जसोतसो कक्षा कोठा भित्र अल्मल्याउँछु । बाल कक्षाका लागि एक जना शिक्षिका अलग हुनुहुन्छ तर ५ वटा कक्षा मैले एक्लै सम्हालेको छु । विद्यालयका कार्यालय सहयोगीले पनि जानी नजानी यदाकदा कक्षा सम्हालि दिन्छन् । शिक्षक सिंह भन्छन् पूर्व मेयर देवनाथ साहकै पालादेखि अहिलेसमम सैकडौ पटक मैले विद्यालयको समस्या नगरपालिकामा राखें । तर कुनै सुनुवाई भएन । यस्तै छ यहाँको गुणस्तरीय शिक्षा ।
दावानलले यो विद्यालय भ्रमण गरेर परिस्थितिको जायजा लिएपछि मेयर श्याम श्रेष्ठसँग जिज्ञाशा राख्यो । हाम्रो प्रश्न थियो मेयर साहेब पालिका भित्रको वडा नंं १३ को एउटा विद्यालयमा कहिल्यै घण्टी लाग्दैन, किन होला ? मेयर साहेबले झटपट भने, हो र ! त्यस्तो छ र ! लौ म अहिले सम्बन्धित कर्मचारीलाई सोधिहाल्छु अनि तपाईँलाई भन्छु । मेयर साहेबले घण्टी नबज्नु भनेको के हो र पत्रकारले भन्न तथा सोध्न खोजेको के हो त्यसको भेउ नै पाउनु भएन । हाम्रो प्रश्न उनका लागि जिली न गाँठी भयो ।
त्यसपछि हामीले शिक्षा शाखा प्रमुख सुबोध लामालाई सोध्यौ, किन त्यो विद्यालयमा घण्टी बज्दैन ? प्रश्न सुन्नसाथ उनले अभिप्राय बुझे र भने त्यहाँ शिक्षक अभाव छ । अहिले बहुशिक्षण प्रणाली र विधिबाट कक्षा सञ्चालन भइरहेको छ । हामी समस्या समाधानका लागि छलफल गर्दैछौं । दरबन्दी मिलान गर्ने बेलामा शिक्षक पठाउँछौं । हामीले प्रश्न थप्यौ , २९५ विद्यार्थी , ५ वटा कक्षा , ४ वटा विषय अर्थात कम्तिमा २० घण्टी पढाउन एक जना शिक्षक । यो बहुशिक्षण प्रणाली हो कि शिक्षण प्रणालीको चिरहरण हो ? यो प्रश्नमा शिक्षा शाखा प्रमुख लामा गललल हाँसे । हाँसो टुङ्गयाएर उनले भने ५ लाख जति बजेट पुषको नगर परिषदमा राख्न लगाउँछौं । समस्या समाधान गर्छौ ।
यसबारे वडा नं. १३ का वडाध्यक्ष नन्द कुमार महतोसँग जिज्ञाशा राख्दा उनले भने नगरपालिकाका मेयर बिना दुधको बच्चा पाल्ने योजना बनाउनु हुन्छ । शिक्षामा पटक्कै श्रोत लगानी छैन अनि सामुदायिक शिक्षामा सुधार गर्ने भाषण गर्नुहुन्छ । त्यसमा पनि उत्तरका वडाहरु उहाँको प्राथमिकतामा पर्छ , उत्तरका वडाहरुलाई घिउ दिंदा दक्षिणका वडाहरुमा बिलाउनी भाग पर्छ । अन्यापूर्ण पक्षपात छ । वडाको सीमित श्रोतबाट यो विद्यालयलाई जीवित राख्ने प्रयास गरेको छु ।
माननीय लीलानाथ श्रेष्ठले गोलबजार नगरपालिकाको नगर परिषदलाई सम्बोधन गर्दै भनेका थिए , मैले ५० वर्ष अघि चोहर्वा स्कूलमा पढदा छानाबाट पानी चुहिन्थ्यो । अढाई लाखबाट सुरु भएको गाविसको बजेट आज नगरपालिका बन्दा एक अर्बको हाराहारीमा पुगेको छ । परिस्थिति फेरिएको छ ।
माननीय ज्यु , आधा शताब्दी बित्यो तपाईले चोहर्वा स्कूलमा पढेको समय गणना गर्दा । यस बीचमा तपाई ५ वर्ष जिविस उपसभापति , २ पटक माननीय र एक साथ ५ वटा मन्त्री हुनुभयो । तपाईँकै भाई मेयर पनि हुनुहुन्छ । प्रदेश सांसद पनि तपाईँले इच्छाएको व्यक्ति नै हुनुहुन्छ । तपाईले पढ्ने बेलामा छाना चुहिने विद्यालय भए पनि पढाउने शिक्षक त थिए । तपाईहरुको शासनकालमा एक अर्ब बजेट भएर के गर्नु ? हेर्नुहोस् त गोलबजार नगरपालिकामा प्राथमिक शिक्षाको दुर्दशा । २१ सौं शताब्दीको युगमा यो भन्दा ठूलो शैक्षिक विडम्बना के हुन्छ ? २९५ विद्यार्थी , ५ वटा कक्षा , अलग अलग कक्षाको अलग अलग ४ वटा विषय अनि शिक्षक एक जना मात्र । के यी २९५ जना बालबालिकाले उचित शिक्षा पाएका छन् त ? यिनीहरुको सामुहिक भविष्य अन्धकारमय हुँदैन र ? तीजमा सारी , अनावश्यक सवारी साधनमा इन्धन खर्च , भिजिलान्ते पालनमा बजेट खर्च गर्नुभन्दा यो विद्यालयमा शिक्षक थप्नु पर्ने होइन र ? अरु केही गर्न नसके पनि विद्यालयहरु घुमेर अवस्था कस्तो छ भनेर बुझ्ने काम त होस् ।
यो विद्यालय त शैक्षिक दुर्दशा दर्शाउने प्रतिनिधि विद्यालय ( उदाहरण ) मात्र हो । गोलबजार नगरपालिकामा सामुदायिक शिक्षाको यो भन्दा पनि वेथिति छ । क्रमश सविस्तार रिपोर्टिङ्ग गर्ने नै छौं ।