गोलबजार नगरपालिका वडा नं. ४ ले वडा कार्यालयमा एक दिने निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । पुष २० गते बिहान १०बजे सुरु भएको स्वास्थ्य शिविरमा करिब १ सय ४० जना बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको थियो ।
त्यसैगरी स्वास्थ्य शिविरमा २५ जना दाँतका बिरामीहरुको पनि उपचार गरिएको थियो । दमका रोगी ज्येष्ठ नागरिकहरुको पनि स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष सकलदेव यादवले बताए । वडा नं. ४ , ५ र ८ का बिरामीहरुले उपचार सेवा पाएको वडाध्यक्ष यादवले जानकारी दिए ।
पुष महिनामा चिसो बढेपछि बालबालिका र दमका रोगी ज्येष्ठ नागरिकहरु भकाभक विरामी पर्न थालेको देखेर वडाध्यक्ष यादवले विशेष पहल गरेर स्वास्थ्य शिविर सञ्चालन गराएको बताए । उनले भने , नियमित बजेट र कार्यक्रम थिएन तर स्थानीय निजी अस्पताल , डाक्टर र औषधी कम्पनीहरुसँग समन्वय गरेर स्वास्थ्य शिविरको आयोजना गरेको हुँ । आफ्नो वडाका जनताको समस्या समाधान गर्न मैले अग्रसर हुनैपर्छ ।
स्वास्थ्य शिविरमा डा विनोद साह – एमडी ( बाल रोग विशेषज्ञ ).र दन्त चिकित्सक डा. सोनी गुप्ता (बिडिएस ) ले निशुल्क स्वास्थय परीक्षण सेवा प्रदान गर्नुभएको थियो । शिविरमा उपचार गराउन आउने विरामीहरुलाई लगभग ४० हजार बरावरको औषधी निशुल्क वितरण गरिएको थियो । स्वास्थ्य शिविरबाट सेवा पाएका लाभार्थीहरुले वडाध्यक्ष यादवलाई धन्यवाद ज्ञापन गरेका थिए ।