श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु
जिल्ला प्रशासन कार्यालय सिरहा
तस्बिर नं. १ र २ । कृपया गहिरो गरी नजर गर्नुहोला । मनन् गर्ने र उत्तरदायित्व बोध गर्ने कुरा श्रीमान्को स्वविवेकमा छाडे । उपर्युक्त दुई तस्बिर मध्ये एउटा श्री जनता आधारभूत विद्यालय गोलबजार नगरपालिका ७ कदिमाटोलको हो । र अर्को तस्बिरमा देखिएको पानी ट्यांकी पनि ऐजन ठाउँमा विद्यालय भवनदेखि मात्र ६० मिटरको दुरीमा छ । यी तस्बिरमा देखिएका दुबै राष्ट्रिय सम्पत्तिहरु अत्यन्त संवेदनशील र समाजका लागि महत्वपूर्ण हुन् ।
खानेपानीको हाहाकार भएर कदिमाटोल नै बसाईँ सर्नु पर्ने अवस्था आएकोले सरकारले खानेपानीको समस्या स्थायी रुपमा समाधान गर्न यो पानी ट्यांकी निर्माण गर्न १० करोड रकम खर्च गरेको छ । पानी ट्यांकीको निर्माण कार्य पूरा भएकै छैन । स्थानीय जनता प्यासा कण्ठ लिएर निर्निमेष आँखालेयो पानी ट्यांकीतर्फ हेरिरहेका छन् ।
अर्को तस्बिर विद्यालयको हो । यस विद्यालयमा करिब २५० जना सृजनाका कलिला मूनाहरु – बालबालिकाहरु ) पढाई गरिरहेका छन् । यो विद्या मन्दिरमा देशका कर्णधार बन्न सक्ने बच्चाहरु द्येश हसाउने सपना लिएर पढ्न आउँछन् ।
सिडियो साहेब , २०७९ असोज को कुरा हो । अवैध उत्खनन् बाट धन कमाउने सौदागरहरुले यो विद्यालय र पानी ट्यांकीको आडैमा डोजर लगाए । भकाभक माटो र ग्राभेल खनेर ट्रिपरमा लोड गर्दै ओसार्न थाले । स्थानीय बासिन्दाहरुको मन कटक्क दुख्यो । उनीहरुले देखे – विद्यालय भवनको भित्ता टसाएरै डोजरले उत्खनन् गरिरहेको छ । पानी ट्यांकीको खम्बाबाट १० फिट पर मात्रै बडेमाको खाडल खनिदै छ । निर्मानाधीन पानी ट्यांकी पनि गल्र्याम्मै ढल्न सक्छ । विद्यालय भवन पनि पहिरो लडेर भत्किन सक्छ । विद्यालयमा पढ्न आउने साना मसिना बालबालिकाहरु इो खाडलमा जम्ने पानीमा डुब्न सक्छन् ÷मर्न सक्छन् । विद्यालयको आडैमा बडेमाको भडखालो खनियो । बच्चा मार्न धराप थापे जस्तै भयो । ग्राभेल उत्खनन्का सौदागरहरुले ९ फिट गहिरो खाडल खनिसके ।
अवैध उतखनन्बाट धन आर्जन गर्न पल्केका क्रसर व्यवसायी र डोजर ट्रिपर व्यवसायीहरुले आफ्नै आँखा अगाडि देखाएको यो बाहुबली प्रवृतिले गाउँलेको मन दुख्यो । उनीहरु इलाका प्रहरी कार्यालय गोलबजारमा हारगुहार गर्न गए । निवेदन हाले । प्रहरी निरीक्षण गर्न पुग्यो । तत्कालीन प्रहरी निरीक्षक राजु केसीले देखे – यो अत्याचारी कृत्य । पानी ट्यांकी र विद्यालय भवन दुबै जोखिममा परेको दृश्य । न वातावरणीय प्रभाव मूल्यांकन ( आईई ) गरिएको छ । न त उत्खनन् गर्ने इजाजत लिइएको छ । प्रहरी निरीक्षक केसीले ट्रिपर र डोजर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा ल्याए ।
प्रहरीले ट्रिपर र डोजर नियन्त्रणमा लिनासाथ क्रसर व्यवसायीहरु गेलबजार नगरपालिकामा पुगे । बन्द कोठा भित्र मेयर श्याम श्रेष्ठ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलसँग क्रसर व्यवसायीहरुको के के मन्त्रणा र सहमति भयो थाहा छैन । तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले इलाका प्रहरी कार्यालय गोलबजारको नाममा एउटा पत्र लेखे । पत्रको ब्यहोरा थियो –“आफ्नो खेत खलिहानमा माटो भर्न खनेको हो , बिक्री गर्न उत्खनन् गरिएको होइन । त्यसकारण नियन्त्रणमा लिइएको गाडी तथा उपकरणहरु छाडिदिनु । ”
नगरपालिकाले पानी ट्यांकी र विद्यालय भवनको दशा देखेर कारवाही गर्ला भन्ने आश गरेर बसेका प्रहरी निरीक्षक पत्रको ब्यहोरा पढेर तीनछक्क परे । कारवाहीको सट्टा नियन्त्रण्मा लिइएको गाडी छाडिदिनु भन्ने गलत सिफारिस पठाइयो । अब उप्रान्त त्यस ठाउँमा नखन्ने भन्ने शर्तनामा गराएर प्रहरी निरीक्षक केसीले गाडी छाडिदिए । गाडी छाडेको दुई महिना पछि उत्खनन्का ठेकेदारहरुले पुन त्यही स्थानमा खन्न थाले ।
गाउँलेहरु फेरि चिच्याउँदै कराउँदै प्रहरी समक्ष पुगे । प्रहरी निरीक्षक केसीले दुई चार दिन पछि पुनं गाडी नियन्त्रणमा लिए । क्रसर कथित उद्योगीहरु पुन गोलबजार नगरपालिका पुगे । यस पटक नगर उप प्रमुख मानती साहले हस्ताक्षर गरेर इलाका प्रहरी कार्यालय गोलबजारलाई पत्र पठायो । आफ्नो खेतबाट माटो खनेर आँगन परेकोले पक्राउ गरेको गाडी छोडिदिनु । प्रहरी निरीक्षक केसी विवश भए । गाडी छोडिदिए । गाउँलेहरु कराउन आए । केसीले नगरपालिकामा जानुहोस् भनेर पठाई दिए ।
प्रमुख जिल्ला अधिकारी ज्यु , गोलबजार नगरपालिकाले लेखेको दुबै पत्रहरु यहाँ संलग्न गरिदिएको छु । विद्यालय भवन र पानी ट्यांकीको वरिपरी ९ फिट गहिरो खाडल पारिएको छ । खाडलको क्षेत्रफल लगभग ५ विघाको छ अर्थात ५ विघाको माटो ग्राभेल खनिएको छ । सम्भवतः तस्बिर हेरेर नै विद्यालय भवन र पानी ट्यांकी जोखिममा परेको प्रष्ट देख्न सकिन्छ । तस्बिर र यो लेखाई प्रति शंका लागे मेरो अनुरोध कृपया एक पटक स्थलगत अवलोकन गरिदिनुस् ।
सामान्यभन्दा अलि ठूलो वर्षा भयो भने यो विद्यालय भवन सर्लक्कै वग्छ । विद्यालय भवनको भित्तासम्मको माटो खनिएको छ । वर्षायाममा माटो गलेर पहिरो गयो भने यो विद्यालय भवन त ढल्छ ढल्छ , पढ्न आउने बच्चाहरु प्नि पुरिने उत्तिकै जोखिम छ । यो पानी ट्यांकी त झन् जोखिममा छ । यति ठूलो भारिभरकम पानी ट्यांकीको १० मिटर वरपर नै खाडल खनेपछि यो संरचना कसरी ठिंङ्ग उभिरहला त ?
सिडियो साहेब , विषयको गाम्भीर्यता मैले बोध गराउन सकें कि सकिन ? तर यस्ता क्रसर व्यवसायी माथि कसले कारवाही गर्ने ? कानून मिचेर थोरै कमिशनको लोभमा करोडौको परियोजनालाई हानी नोक्सानी पु¥याउने र विद्यालय भवन जस्तो संवेलनशील स्थानमा जोखिम खडा गर्न मद्दत गर्ने तथा गलत सिफारिस दिने स्थानीय तहका प्रमुख , उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कसले कारवाही गर्ने ? के छ कानूनी व्यवस्था ? के यो परिस्थिति निम्तिनुमा जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समिति जिम्मेवार छैन ? प्रमुख जिल्ला अधिकारीको काम कर्तव्य जिल्ला स्थित सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु हो कि होइन ? सर्वसाधारण जनता र साना कलिला विद्यार्थीहरुको ज्यान जोखिममा पर्न सक्ने विषयमा प्रमुख जिल्ला अधिकारी चनाखो रहनु पर्छ कि पदैन ? सिडियो साहेब , यो अनियन्त्रित प्रकृति दोहन र अवैध उत्खनन् कहिलेसम्म जारी रहन्छ श्र के यिनीहरुमाथि अंकुश लगाउने सामथ्र्य प्रशासनसँग छैन ? सार्वजनिक र राष्ट्रिय सम्पत्तिको यो दुर्दशापूर्ण हविगत देखेर तपाईहरुको मन पोल्दैन ? आखिर कहिलेसम्म … यो वेथिति ? क्रसर व्यवसायीहरुले खुवाउने एक छाकको सुस्वादु भोजन र पेयमा स्थानीय प्रशासन डुबेको हो त ? कृपया आत्मनिरीक्षण गर्नुहोस् ।
बोधार्थ ः
जिल्ला प्रहरी कार्यालय सिरहा
जिल्ला समन्वय समिति सिरहा
अर्जुन थपलिया
सञ्चारकर्मी