प्रिय मित्र सहेन्द्र यादव जी
आज अचानक मुक्सारतिर बरालिन मन लग्यो । घुम्दै जाँदा तपाईको गाउँ टुडकिया पुगें । पुतलीको पखेटा प्रकृतिले रंगाए जस्तै एउटा भव्य विवर ( ओडार ) माथि नजर प¥यो । सोधिखोजी गर्दा थाहा पाएँ – यो मञ्जिल मेरा मित्र सहेन्द्र यादवले हालसालै निर्माण गर्नुभएको रहेछ ।
म एक क्षण टक्क उभिएँ र एउटा तस्बिर खिँचे । मलाई तत्कालै विपी कोइरालाको एउटा भनाइ स्मरण भयो । विपी कोइरालाले भन्नुभएको थियो – “हरेक नेपालीको एउटा घर होस् , जोत्ने बारी होस् , आफ्नै बारीमा फलेको अन्नले वर्षभरी खान पुगोस् । किलामा एउटा दुहुनो गाई होस् । मेरो राजनीतिक जीवनको ठूलो सपना छैन । मैले देखेको समाजवाद यत्ति हो ।”
हुनतः मानवीय चाहना अनन्त हुन्छ । जति आर्जन गरेपनि मानव मन सन्तुष्ट हुँदैन । तर
विपिको समाजवादी राजनीतिक चिन्तनधारा र सपनाका हिसावले यो घर देख्दा तपाईँका लागि समाजवाद आइसकेछ भन्नैपर्छ । अर्थात तपाईँले आफ्ना लागि समाजवाद आर्जन गर्नुभएछ । सम्झिदै गर्दा मैले राजा बीरेन्द्रले हरेक नागरिकलाई एसियाली मापदण्डमा पु¥याउने लक्ष्य लिएको महानवाणी पनि सम्झिए । केपी ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारा पनि याद आयो ।
एउटा बस्ने घर सबैलाई चाहिन्छ । एक हलको मेलो बारी पनि पक्कै छ तपाईको । आँगनमा लैनो भैंसी पनि बाँधेको देखें । निश्चय पनि तपाईँका बालबच्चा राम्रै बोर्डिङ्ग स्कूलका विद्यार्थी होलान । अझैं पनि बेठ बेगारी हुनुहुन्न । चार पैसाको भने पनि रोजगारी हातमै छ । यति भएपछि जीवन सुखी र खुशी नै होला भन्ने अडकल गरेको छु । समृद्धि पथको तपाईको उडान देख्दा मलाई पनि हर्ष लागेको छ । विपीको समाजवाद , राजा बीरेन्द्रको एसियाली मापदण्ड र केपी ओलीको समृद्ध नेपाल सुखी नेपाली तीनवटै नारा एकसाथ फलीभूत गर्नुभएको रहेछ ।
तपाईँको भवन भित्र म पस्न सकिन । आशा र अडकल गर्छु – बाहिरबाट तपाईको घर जति रङ्गिचङ्गी देखिन्छ भित्र पनि उत्तिकै सजिसजाउ र झकिझकाउ होला । भूइँ भित्रमा टायल र मार्वल पक्कै ओछ्याउनु भएको होला । यत्तिको महल बनाउँदा कति खर्च लाग्छ मलाई थाहा छैन । तर लख काट्छु ( अनुमान लगाउँछु ) करोडको आसपास पक्कै खर्च भयो होला ।
प्रिय मित्र , मानवीय स्वभाव हुन्छ – अरुको प्रगतिमा जल्ने । तपाईँको यो घरको बारेमा लेखिदिदा तपाइँले मलाई आराहिसे भन्ने आरोप लगाउन सक्नु हुन्छ । तर मेरो मन पक्कै कलुषित छैन । बरु म के सोचिरहेको छु भने यति ठूलो घर बनाउँदा कति संघर्ष गर्नु परेको होला तपाइँले । पैसा कमाउनु त कठीन कार्य नै हो ।
हामी छिमेकी त हौं नि ! मिहिन कुरा थाहा नभए पनि बाहिर देखिने एक अर्काको सुख दुख सबै थाहा भएकै कुरा हो । मित्र २०७५ सालसम्म तपाईँ एमालेको लालपुर गाउँ कमिटीको सचिव हुनु हुन्थ्यो । राजमार्गदेखि उत्तर घर र खेतीपाती हुने जोसुकैलाई पनि आफ्नै खेतको उब्जनीले वर्षभरी खान पुग्दैन । बेसाहा खानै पर्छ । साहुसँग ऋण लिनैपर्छ । तिनताका तपाईँको आर्थिक अवस्था पनि सवल थिएन । राजनीति छोडेर परिवार पाल्न बैदेशिक रोजगारीमा जाने तरखर गर्दे हुनुहुन्थ्यो । राहदानी बनाउन लाग्ने खर्च पनि सरसापट खोज्ने प्रयत्न गर्दै हुनुहुन्थ्यो । अचानक जीवनमा एउटा मोड आयो । राजनीति छोडेर अस्थायी ज्यालादारी भए पनि जागिरमा लाग्नु भयो । यो समयमा जागिर पाउन कति कठिन छ । तर तपाईँको सौभाग्य भनौ वा कुनै विशेष कला छ तपाईसँग थाहा छैन – बसमा खाली सिट भेटे जस्तै गोलबजार नगरपालिकामा जागिर भेट्नु भयो । मलाई थाहा भएसम्म तपाईले खरिदार सरह जागिरबाट तलब पाउनु हुन्छ अर्थात प्रत्येक महिना ३२ हजार । कर कट्टा गरेर मासिक ३० हजार हात पर्छ । तपाईले यसरी जागिर सुरु गर्नुभएको ६५ महिना ( अनुमानित एक दुई महिना तल माथि पर्न सक्छ ) भयो । जागिर अवधिभरको सबै तलब जोड्दा पनि २० लाखको हाराहारीमा आम्दानी देखिन्छ । यस बीचमा तपाईले गागन नदी पारी २ कट्ठा जग्गा पनि बिक्री गर्नुभएको कुरा गाइँगुईँ सुनेको छु । चलनसारको दरभाउ अनुसार सो जग्गाको मूल्य ३ लाख पक्कै होला । यस अवधिमा तपाईँले अतिरिक्त आम्दानी हुने अन्य कुनै बन्द व्यापार गरेको थाहा छैन । ६५ महिनामा घर परिवार चलाउन र बालबच्चा पढाउन खर्च पनि भए होलान । २३ लाख आम्दानीलाई व्यवस्थापन गरेर करोड पर्ने घर कसरी निर्माण भयो होला ! म आश्चर्यचकित छु । तपाईसँग हिसाब माग्ने मेरो अधिकार पनि छैन र म त्यो धृष्टता पनि गर्दिन । तर पूँजी परिचालन र व्यवस्थापनको यो अदभूत कला तपाईँबाट सिक्न पाए हाम्रो जीवनका लागि पनि उपयोगी हुने थियो ।
नगरपालिकामा पाँच जना हाकिम आए ती सबै तपाईँका प्रशंसक नै रहे । हरेक हाकिमलाई रिझाउन सफल हुनुभयो । सहेन्द्र नभइ त नगरपालिका नै चल्दैन भन्छन् हाकिमहरु । खासगरी तपाईँ जुन कुर्सीमा बस्नु भएको छ त्यसमा अरु कोही पनि बस्न योग्य छैनन् । अरुको सरुवा पनि हुन्छ तर तपाईँको हुँदैन । मानौ तपाई त्यही कुर्सीका लागि भाग्य लिएर जन्मिुनु भएको छ । हाकिमहरुको नजरमा तपाई अनमोल मोति नै हुनुहुन्छ । हाकिमको आँखामा हाले पनि नबिझाउने अलौकिक रहस्य के छ तपाईँको व्यक्तित्वमा ? साच्चै चाख लाग्दो र घतलाग्दो नै छ ।
पालिकामा परिवारका एक जनालाई जागिरमा घुसाउन बडे बडे हस्तीहरु मरिहत्ते गरेको देखेको छु । जागिरमा भर्ना हुन रकम नजराना चढाएको र जागिर दिन नसके पछि रकम फिर्ता गरेको पनि सुनिएकै हो । प्रमाण नभए पनि यो खुला सत्य गोलबजारका धेरै बासिन्दालाई थाहा छ । यस्तो परिस्थितिमा तपाईले आफ्नो सहोदर भाईलाई पनि नगरपालिकामा घुसाउन सफल हुनुभयो । कुन बुटी सुघाएर मेयर र हाकिमलाई मन्त्रमुग्ध पार्नुहुन्छ सहेन्द्र जी ? कृपया हामीलाई पनि बताईदिनुस् न ! कर भला त हो भला । हाम्रो पनि भलाई गरिदिनुस् ।
दुई जना नगर प्रमुख आए । दुबै नगर प्रमुख तपाईँसँग खुसी नै रहे । तपाईँ एमाले पृष्टभूमिबाट आउनुभएको व्यक्ति हो भन्ने कुरा कसैबाट छुपेको छैन । तर माओवादीबाट जितेका मेयर देवनाथ साहको पनि तपाई प्रिय पात्र रहनुभयो । यसमा देवनाथ साहको उदारता हो कि तपाईँको विशिष्ट कला हामीले खुट्याउन सकेका छैनौं । गत चुनाव ताका एमालेको प्रचार टोली तपाईको गाउँमा जाँदा तपाईँले एमालेको झण्डा फालिदिएको चर्चा सुनियो । चोहर्वा दरवारमा तपाईको यो हरकतबारे चर्चा चलेको र नगर प्रमुखमा श्याम कुमार श्रेष्ठले जितेपछि कर्मचारी हटाउने सूचीमा एक नम्बरमा तपाईको नाम परेको पनि हल्ला चल्यो । मेयर श्याम श्रेष्ठद्वारा सारा कर्मचारी हटाइए तर तपाई दुई दाजुभाईले अभयदान पाउनु भयो । तपाईहरुको जागिर निरन्तर रह्यो । कसरी यो सम्भव भयो ? के छ वशीकरण मन्त्र तपाईँसँग ? कसरी चोहर्वा दरवार एकाएक १८० डिग्री बदलियो ? एमाले वृत्तमा अहिले पनि यो चमत्कार बारे चर्चा चलेको सुनेको छु ।
तपाईँका बारेमा एउटा चर्चा बजारमा । कुन फाइल हराइ दिनु पर्ने हो र कुन फाइल सुरक्षित राख्नु पर्ने हो त्यो तपाईलाई राम्रोसँग ज्ञात छ । कुन फाइल पेन्डिङ्गमा राख्नु पर्ने हो इशाराबाटै बुझ्नु हुन्छ रे तपाईले । मेयरले रातो मसीले तोक लगाएको फाइलका सेवाग्राहीलाई भाखा राख्दै टार्दै गर्न खप्पिस हुनुहुन्छ भन्ने पनि जुक्तिलाल मण्डल जस्ता केही मानिसहरुले बताउँछन् । व्यापारी, हाकिम र मेयर बीच सम्बन्ध सेतुको काम गर्न तपाईँको विशेष दखल छ रे भनेको सुन्छु । यथार्थ थाहा छैन ।
सिधा खडा हुने, मुखमण्डलमा सिधासादापन, आँखामा चातुर्यता, दीनहीन रुपमा आफूलाई प्रस्तुत गर्ने कला , अनुनय विनयपूर्ण मिश्रीको मिठास घोलिएको भाषाशैली र, कुइनादेखिको करजोरी जस्ता विनम्रता त छदैंछ त्यसबाहेक तपाईँ मेयर र हाकिमका लागि लच्छिनको पनि हुनुहुन्छ । तपाईँले सम्हालेको कुर्सीका कारण हाकिम र मेयरले शुभलाभका लागि लक्ष्मी पूजन गर्नै पर्दैन रे ।
मित्र सहेन्द्र जी, प्रारब्धमा जे लेखिएको छ त्यो कसैले हर्न सक्दैन । पूर्व जन्ममा ठूलै पुण्य कमाएर आउनु भएको थियो होला । त्यसकारण यो जन्ममा ऋद्धि सिद्धि हातमै छ । बधाई छ मित्र । अन्त्यमा एउटा सल्लाह दिन्छु । तस्बिरमा विद्युत हुकिङ्ग गरिएको देखिन्छ । तपाईको गरिमा अनुसार यो कार्य सुहाएन । हुकिङ्ग हटाउनु होला । र , म जस्ता पत्रकारको आँखा नलगोस् भनेर हाम्रो चलन र संस्कृति अनुसार नाङ्गलोमा कालो र सेतो पोतेर घरको कुनामा झुण्ड्याउनु होला । जय होस् मित्रको ।