गोलबजार नगरपालिकाले बुझायो किसानका कृषि विद्युत महसुल

[sharethis-inline-buttons]

सिरहा, १९ पुस । गोलबजार नगरपालिकाले कृषि विद्युत महसुल अनुदान कार्यक्रम अन्तर्गत आफ्ना किसानले प्रयोग गरेको करिव आठ लाख रुपैयाँ बराबरको महसुल विद्युत प्राधिकरणलाई बुझाएको छ । नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षामा विहिवार एक समारोह आयोजना गरी नेपाल विद्युत प्राधिकरण मिर्चैयाका वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्मालाई सात लाख ९७ हजार छ सय ४५ रुपैयाँको चेक हस्तान्तान्तरण गरिएको छ ।
वडा नम्वर १ भने लहान वितरणकेन्द्रले हेर्ने भएकाले त्यसकालागि ५० हजार निकासा भएको कृषि शाखाका विरेन्द्र यादवले जानकारी दिए । भुक्तानी भएको रकम साउन देखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले बताए । अहिलेसम्म आएका निवेदनका आधारमा र साउनसम्म भुक्तानी गरिसकेका किसानहरुको विद्युत महसुल बुझाएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । उनले अवको दिनमा नियमित आउने निवेदनहरुमा समेत आवश्यक छानविन गरी थप्दै जाने बताए ।
पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणिकरण गरेको भएपनि लेखा र प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाई भएको नगर प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘नगरपालिकाले कार्यविधि पास गरिसकेको भएपनि लेखाका कर्मचारी आफ्नै नहुँदा धेरै कामहरु नियमित रुपमा हुन सकिरहेको थिएन । अव सवै कामहरु सहज ढङ्गले हुने छ । यो पनि कर्मचारी अभावकै कारण ढिलाई हुन गएको हो । ’
हालसम्म नगरपालिकामा परेको एक हजार दुई सय ३५ निवेदन मध्ये १७ वटा अन्य मिटर र १२ वटाको आवश्यक कागजात नपुगेकाले एक हजार एक सय ४३ किसानको विद्युत महसुल भुक्तानी भएको कृषि शाखाका यादवले बताए ।
मिर्चैया वितरण केन्द्रका प्रमुख शर्माले सानै भएपनि किसानहरुले प्रत्याक्ष लाभ पाएको बताए । उनले भने, ‘यस वर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानहरुले भुमिगत सिंचाईको सहयोगमा खेतिपाती गरे । यस्तो वेलामा नगरले विद्युत महसुल तिरेर किसानका लागि घाउमा मलहमपट्टी लगाएजस्तो भएको छ ।’
प्रमुख शर्माले नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर रहेको बताए । उनले आगामी दिनहरुमा बाँकी किसानहरुलाई पनि यस योजनामा समेट्न आग्रह गरे ।
चेक हस्तान्तरण कार्यक्रममा उपप्रमुख मानती साह, प्रशासकीय अधिकृत श्रीधर केसी, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८० पुष १९ बिहीबार