अवैध उत्खनन् र कमला नदी तथा चुरे क्षेत्र दोहन विरुद्ध मशाल जुलुश

[sharethis-inline-buttons]

बन्दीपुर सिरहा

कर्जन्हा नगरपालिकाका सर्वसाधारण जनताले आज साँझ राँके जुलुश निकालेर कमला नदी तथा चुरे क्षेत्रमा गरिएको अवैध उत्खनन् तथा नदी दोहनको विरोध जनाएका छन् । मशाल जुलुशका सहभागीहरुले कमला नदी दोहन बन्द गर , अवैध उत्खनन् बन्द गर , कमला नदीको ठेक्का रद्द गर र भ्रष्ट स्थानीय सरकार मुर्दावादको नारा लगाएका थिए । मशाल जुलुश बन्दीपुर चौकबाट सुरु भई बन्दीपुर बजारको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरुले जनप्रतिनिधि तथा ठेकेदारको नाजायज मिलिभगतबाट कमला नदीको अवैध दोहन गरी वातावरणीय क्षति पु¥याएको आरोप लगाएका थिए । वक्ताहरुले चुरे क्षेत्र , वन क्षेत्र तथा नदीमा स्काभेटर लगाएर गरिने उत्खनन् तत्काल बन्द हुनुपर्ने माग गरेका थिए ।

 

गत साता डिभिजनल वन कार्यालय लहानले कमला नदी दोहन गर्ने क्रसर व्यवसायी र कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणिन्द्र पोखरेललाई पक्राउ गरि कारवाही सुरु गरेको थियो । वडाध्यक्षलाई पक्राउ गरिएको विरोधमा त्यहाँका मेयर भोला पोखरेलको नेतृत्वमा राजमार्ग अवरुद्ध गरि इलाका वन कार्यालय समेत घेराउ गरिएको थियो ।

आज सर्वसाधारणले निकालेको मशाल जुलुशमा कर्जन्हा नगरपालिकाको विरोध गर्दै कमला नदी तथा वन जोगाउन डिभिजनल वन कार्यालय लहानको कारवाहीको समर्थन गर्दै नारावाजी गरिएको थियो ।


प्रकाशित : २०८० पुष १८ बुधबार