श्याम श्रेष्ठ सरकारको दुई खतरनाक पक्ष ः मुर्दा शान्ति र सपनाको मृत्यु

[sharethis-inline-buttons]

सोहेव अनवर भाइ,
वडाध्यक्ष , गोलबजार नगरपालिका ११ ः

गत साता मैले गोलबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादवको फेसबुक स्टाटसलाई आधार बनाएर उनलाई एक खुला पत्र लेखेको थिएँ । आज बिहान तपाईँको फेसबुक स्टाटस पनि देखें । स्टाटसको गुह्य अर्थ, आशय र त्यसले प्रक्षेपण गरेको यथास्थिति प्रतिको कटाक्षले मेरो माथिलङ्ग हल्लायो । मलाई संवेदनशील बनायो । त्यसकारण तपाईँलाई पनि यो खुला पत्र संप्रेषण गर्दैछु ।
वडाध्यक्ष भाइ सोहेव , तपाईँले फेसबुक स्टाटसमा लेख्नु भएको छ , “ अब अझ कति धैर्यता ? वडा मात्र नभएर नगरपालिका भरिका दाजुभाई दिदी बहिनीहरुले धेरै अपेक्षा राखेका छन् । ती अपेक्षाहरु पूरा गर्न नसकेर आफैलाई लाज लाग्न थालिसक्यो । जीवन र राजनीतिको त्यो मोडमा आइपुगिएको छ जहाँ अगाडि बढ्न सिस्टमले दिइरहेको छैन । पछाडि हट्न स्वाभिमानले । ”
एउटा भनाइ छ “जसलाई मर्म पर्छ त्यसको सही मर्मस्पर्शी उही व्यक्ति हुन्छ । ” अरुले त अनुमान मात्र लगाउने हो । म एउटा पत्रकार, जो जन–जनको घर आँगन घुमेर देखे , सुनेको कुरा रिपोर्टिङ्ग गर्छु । मेरो लेखन सीप, वर्कत र ल्याकतले तपाईको स्टाटसको मर्म र अर्थ वयान गर्न सक्दैन । तपाईँले स्टाटसमार्फत गोलबजार नगरपालिका भित्रको विपुल र बिराट सत्यको रहस्योद्घाटन गर्नुभएको छ । यद्यपि ती सत्यहरु सुखद छैनन् अपितु महादुखदायी छन् ।
निर्वाचनमा वडाध्यक्ष पदमा मनोनयन गरिरहँदा तपाईँ भित्र युवावयको खहरे झैं उर्लदो उर्जा , जोस र जााँगर थियो । राजनीतिमा लागेर समाजमा सकारात्मक परिवर्तन ल्याउने उत्कठ अभिलाषा थियो । विकासमार्फत जनताको जीवनस्तर उकास्ने सपना थियो । सुशासनमार्फत जन–जनमा लोकतन्त्रको अनुभूति गराउने राणनीतिक योजना र त्यसको तानाबाना थियो । तर पद सम्हालेको दुई वर्ष बित्दानबित्दै तपाईँ भित्रको जाँगर मरेर आएको प्रतीत हुन्छ । जोस र उर्जा सेलाएर शिथिल भएको महसुस हुन्छ । तपाईका योजना र रणनीतिहरु भताभुङ्ग भएको स्वीकारोक्ती देखिन्छ ।
तपाईको स्टाटसको मर्म सरल भाषमा प्रष्टाउन म भारतीय महान कवि अवतार सिंह पासको कविताको चार पंक्ति यहाँ उद्धृत गर्न चहान्छु । कवि पासले लेख्नु भएको छ ः
मेहनतको लुट सबैभन्दा खतरनाक हुँदैन
पुलिसको मार पनि सबैभन्दा खतरनाक हुँदैन
गद्दारी र लोभको मुट्ठी पनि सबैभन्दा खतरनाक हुँदैन
सबैभन्दा खतरनाक हुन्छ मुर्दा शान्ति

सोहेव भाई , नगरपालिका भित्रको लुटतन्त्रले तपाईलाई पोलेको छ । त्यहाँ भित्रको व्युरोक्रेसी उल्झनले तपाईँलाई पेलेको छ । लोभी पापीहरुको जमातले तपाईँ जस्ता केही गरौं भन्ने भावना भएका जनप्रतिनिधिहरुको हात बाँधिदिएको छ । जनतासँग गद्दारी गर्नेहरुले पयरमा जंजीर बेरिदिएको छ । यी सबै पक्षहरु नराम्रा हुन् तर त्यति खतरनाक छैन । सबैभन्दा खतरनाक पक्ष के हो भने गोलबजार नगरपालिका भित्र प्रतिपक्षसहित जनतामा छाएको “मुर्दा शान्ति ” । “मुर्दा शान्ति ” समाज र राष्ट्रका लागि सबैभन्दा खतरनाक हुन्छ । जव अन्याय , अत्याचार , शोषण , दमन, भ्रष्टाचार , कुशासन , नातावाद, कृपावाद र जातिवाद विरुद्ध समाज मौन बस्छ अनि ज्यादै खतरनाक अवस्थाको सृजना हुन्छ । ब्राजिलका प्रशिद्ध शिक्षाविद् पाउलो फ्रेरीको शब्दमा यसलाई “मौनताको संस्कृति” भनिन्छ । यो सामाजिक मौनता नै मुर्दा शान्ति हो । अर्थात मरघटमा भएको सुनासानपन समाजमा व्याप्त छ । स्मशानघाटको “मुर्दा शान्ति” गोलबजार नगरपालिकामा छ । यो ज्यादै खतरनाक छ । ज्यादै पीडादायी छ । हामी “ मुर्दा शान्ति ” को पक्षधर होइनौं हामीलाई न्यायमा आधारित शान्ति चाहिन्छ । हामीलाई जीवित र जागृत शान्ति चाहिन्छ ।
कवि पासको थप चार पंक्तिहरु यस्ता छन् ः

घरबाट निस्केर काममा जानु
काम सकेर फेरि घर फर्किनु
छटपटी नहुनु ,सबै कुरा सहनु
त्यति विघ्न पीडादायी हुँदैन
सबैभन्दा पीडादायी हुन्छ सपनाहरुको मृत्यु हुनु ।

सोहेव भाई , निश्चय पनि पीडा धेरै प्रकारको हुन्छ तर कतिपय पीडा खप्नै नसक्ने मृत्युदायी हुन्छ । कुनै प्रियजनको मृत्युको पीडा पनि खप्न सकिन्छ । मुटुमा हुने पक्षघातको दुखाई पनि खप्न सकिन्छ तर सपनाहरुको मृत्युको पीडा अति नै विह्वल तथा आहत पार्ने र प्रलयंकारी हुन्छ । सपनाको मृत्यु एक सामुहिक मृत्युको द्योतक हो । यसमा समाज र राष्ट्रका आकंक्षाहरुको मृत्यु हुन्छ । परिवर्तन ल्याउने चेतनाको मृत्यु हुन्छ ।
गोलबजार नगरपालिकाको दोश्रो कटु सत्य र दुखद पक्ष हो “सपनाको मृत्यु ” । भविष्यको मृत्यु र अन्धकारमा प्रवेश । जंगली युगमा प्रवेश । नातावाद , कृपावाद र जातिवादको अन्ध्यारो सुरुङ्गमा जन भावना र चाहनाहरु कुहाएर मल बनाउने र त्यसमा भ्रष्टाचारको बाली सपार्ने कुत्सित कुशासनमा गोलबजार नगरपालिका रुमलिएको छ । त्यसकारण तपाईँ जस्ता युवाहरु “सपनाको मृत्युशोक ” मा डुब्नु भएको छ । “मुर्दा शान्ति र सपनाको मृत्यु ” ले गोलबजार नगरपालिका भित्रको समाज र सम्पूर्ण नेपाली राष्ट्र आहत छन् ।

एउटा सानो उदाहरणबाट हेरौं । मेयर श्याम श्रेष्ठको चुनावी घोषणा थियो –“कृषि सिंचाई मिटरको भुक्तानी नगरपालिकाले गर्नेछ ।” चुनाव जितेपछि पालिकाभरबाट कृषि मिटरको लगत र महसुल लागत संकलन गरियो । किसानहरुसँग निवेदन पनि मागियो । एक वर्ष समय त्यसै व्यथित भयो । लाइन धमाधम काटिन थालेपछि जरिवानासहित किसानले स्वयंले भुक्तानी गरे । आर्थिक वर्ष २०८०÷०८१ मा पुनः लगत संकलन गरियो । किसानले फोटोकपी गरेर सबै दस्तावेज बुझाए । तर ६ महिना व्यथित भयो गोलबजार नगरपालिकाले सिंचाई मिटरको महसुल भुक्तानी गर्ने कुनै छाँट देखाएको छैन ।
जनताको आशामा यो भन्दा ठूलो तुषारापात के हुन्छ ? यो भन्दा भद्दा मजाक , ठगी र निर्लज्जतापूर्ण कोरा आस्वासनको पुलिन्दा बाँड्ने कार्य अरु के हुन सक्छ ? स्वाती नक्षत्रमा परेको पानी स्वाती चराको मुखमा परेपछि गर्भाधान हुन्छ । त्यसका लागि स्वाती चरा आकाशतिर मुख फर्काएर आँ मुखबाएर बसेको हुन्छ । विद्युत महसुल नगरपालिकाले तिरिदेला भन्ने आशामा रहेका किसानको हालत स्वाती चरा जस्तै छ । तर नगरपालिकाको चरित्र “डाकुको लागि ताला तोड्नु र मेयरको लागि वादा तोड्नु बराबर हो ” जस्तै छ ।
मैले आजै मेयर श्याम श्रेष्ठसँग यस बारे सोधेको थिएँ । उहाँले भन्नुभयो लगत र लागत सबै संकलन भएको छ । विद्युत कार्यालयसँग सम्झौता पनि भइसकेको छ । अब आज हाकिम साहब आएपछि तुरुन्त भुक्तानी प्रकृया अघि बढ्छ ।
त्यसपछि नेपाल विद्युत प्राधिकरण मिर्चैयाका प्रमुखसँग सोधे , गोलबजार नगरपालिकासँग महसुल तिर्ने सम्झौता भएको हो ? उहाँले भन्नुभयो पटक पटक लगत माग्नुहुन्छ । फेरि एक पटक हरहिसाव दिएका छौं । तर सम्झौता भएको छैन । भुक्तानी पनि दिइएको छैन ।
मैले गुरुधामकै किसान तथा एमाले नेता राजकुमार सिंहलाई विद्युतको महसुल नगरपालिकाले तिर्ने कुरा छ । कत्तिको आशावादी हुनुहुन्छ ? सिंहले भन्नुभयो मेयरको ढाँटको निम्तो खाएपछि पत्याउँला । किसान सिंहको कुरा सुनेर मलाई महसुस भयो “मुर्दा शान्ति र सपनाको मृत्युको मूल्य ” ।
अन्त्यमा भाइ सोहेव , पछि हट्ने होइन मौनताको संस्कृति तोड्नुस् । मुर्दा शान्ति भंग गर्नुस् । धैर्यताको बाँध भत्काउनुस् । अगाडि बढ्नुस् । सिस्टमभन्दा पनि नेतृत्तको नालाकयीपनमा प्रश्नको हथौडा प्रहार गर्नुहोस् । जहाँ प्रश्न गर्न पाइँदैन त्यो तन्त्र झन् खतरनाक हुन्छ । प्रश्न गर्न थाल्नुस् र बिद्रोहको बीउ रोप्नुस् अनि मात्र सपना जीवित रहने छ ।


प्रकाशित : २०८० पुष १७ मंगलवार