सिरहाको बन्दीपुरमा मेयरद्वारा चक्का जाम ः स्थिति तनावग्रस्त बन्दै

[sharethis-inline-buttons]

कमला नदी स्थित चुरे संरक्षित क्षेत्र र वन क्षेत्रमा अवैध उत्खनन् गराएको आरोपमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणिन्द्र पोखरेलाई थुनामुक्त गर्नु पर्ने माग सहित सिरहाको बन्दीपुरमा चक्का जाम गरिएको छ । चक्का जाम गराउने अरु कोही नभएर कर्जनहा नगरपालिकाका मेयर भोला पोखरेल हुन् । मेयर पोखरेल कै नेतृत्वमा बिहान १० बजेदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । राजमार्ग अवरुद्ध भएको कारण यातायातका साधनहरु सैकडौको संख्यामा लामवद्ध भएर रोकिएका छन् । हजारौं यात्रुहरुले असुविधाको सामना गर्नु परेको छ ।

मेयर पोखरेलले नेतृत्व गरेको एक हुल मानिसहरुले कर्जन्हा नगरपालिका १ स्थित इलाका वन कार्यालय बन्दीपुर घेराउ गरी कार्यालय खाली गर्न र कर्मचारीहरुलाई बाहिर निस्किन दबाब दिइरहेका छन् । वन कार्यालयका कर्मचारी र हतियार समेत असुरक्षित भएपछि वन कार्यालयले जिल्ला प्रहरी कार्यालय सिरहासँग सुरक्षा माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले वन कार्यालयको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले केही बेरमै सहमतिमा सडक नखुले बल प्रयोग गरेर भए पनि राजमार्ग सञ्चालनमा ल्याइने बताएका छन् । लिम्बुले तनाव बढाउन खोज्नेलाई नियन्त्रण गरिने बताए ।

यस सम्बन्धमा डिभिजनल वन कार्यालय लहानका प्मुख सुजित कुमार झासँग सम्पर्क गर्दा उनले भने , “कानून बमोजिम अनुसनधान तथा तहकिकातका लागि थुनामा रहेका वडाध्यक्ष लाई थुनामुक्त गर्न मेयरले उत्तेजना बढाउने गलत बाटो अख्तियार गर्नुभएको छ । दबाब दिएर गैर कानूनी रुपमा वन कार्यालयलाई निस्तेज पार्ने प्रयास भइरहेको छ । झाले बन्दीपुर स्थित इलाका वन कार्यालयमा तोडफोड गर्ने , सरकारी कार्यालय खाली गराउने तथा कर्मचारीहरुलाई असुरक्षित बनाउने कार्य भएको बताए ।

यता सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने , डिएफओले अधिकार क्षेत्र नाघेर वडाध्यक्षलाई थुनेकोले स्थिति बिग्रेको हो । वनलाई वन क्षेत्रको मुद्दा हेर्ने अधिकार मात्र छ । निजी जग्गाको मुद्दा नगरपालिका आफैले हेर्छ । शान्ति सुरक्षाको व्यवस्था मिलाएका छौं । वन कार्यालयले वडाध्यक्ष फणिन्द्र पोखरेललाई तुरुन्त रिहा गर्नुपर्छ ।

यसबारे कर्जन्हा नगरपालिकाका मेयर पोखरेलसँग बुभm्न खोज्दा उनले भने डिभिजन वन कार्यालय लहानमा हिजो मेरो सरकारी गाडी कम्पाउण्डबाट बाहिर निकाल्न लगाइयो । मेयरको अपमान गरियो । हाम्रो वडाध्यक्षलाई गैर कानूनी थुनामा राखेको छ । त्यसकारण हाम्रो नगरपालिकाको जग्गामा हामी वनको कार्यालय राख्न दिन्नौ । हामीलाई वन कार्यालय लहानको कम्पाउण्डबाट निकालेकोले हामीले पनि आफ्नो पालिकामा बस्न नदिने भनेका छौं । सडक जाम गराउनु अराजकता भयो नि भन्ने प्रश्नमा मेयर पोखरेलले वडाध्यक्ष पोखरेल थुनामुक्त नभएसम्म राजमार्ग जाम रहने बताए ।

यसैबीच स्थानीय एक्टिभिष्ट भरत साहले अवैध उत्खनन्को आयस्ता खान पल्केका मेयरसहितका समूहहरुले वितण्डा मच्चाएर वन कार्यालयको अभियान असफल बनाउन खोजेका छन् । चुरे तथा वन क्षेत्रको अवैध दोहन रोक्ने डिभिजन वन कार्यालय लहानको समर्थनमा जनताले छिट्टै सडक अवरुद्ध बनाउने छन् ।


प्रकाशित : २०८० पुष १४ शनिबार